सहिद दुर्गानन्द झालाई राज्यबाट नै अपमान

–राजेश्वर नेपाली

वि.सं. १९९७ सालमा तानाशाहीको विरोध गर्दा शुक्रराज, धर्मभक्त, गंंगालाललाई मृत्यू दण्ड दिएपछि वि.सं. २०१८ माघ ९ गते तानाशाह राजा महेन्द्रमाथि वम प्रहार गर्दा पक्राउ नपरेपनि आफ्नो गिरफ्तारी स्वयं दिएर २०२० माघ १५ मा दुर्गानन्द झालाई गोली हानी जेलमै मृत्यु दण्ड दिएको थियो तर शहीद सप्ताहमा सत्ता पक्षबाट दुर्गानन्द झाको वलिदानलाई नसम्झनु कतै मधेशप्रतिको भेद्भाव त छैन । 

राणाहरूका निरंकुशताबाट मुक्तिका लागि काठमाण्डांैमा भएको पर्चा काण्डको अभियोगमा वि.सं. १९९७ साल माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त माथेमा र १५ गते गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई मृत्युदण्ड दिइएकाले २००७  सालमा प्रजातन्त्र स्थापनापछि २००८ सालदेखि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउन थालिएको थियो र आज पनि माघ १६ लाई शहीद दिवस मनाइन्छ । २०१७ पुस १ गते राजा महेन्द्रले संसद र संसदीय सरकार विघटन गरेकोले शहीदहरूका रगतले प्राप्त लोकतन्त्रको पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले संघर्ष आरम्भ गरेको थियो । 

त्यसैक्रममा शहीदहरूका बलिदानलाई साकार पार्न यूवा विद्यार्थी दुर्गानन्द झाले २०१८ साल माघ ९ गते जनकपुरधामका जानकी मन्दिरको अगाडि राजा महेन्द्रमाथि बम प्रहार गरेर विश्वलाई एउटा नयाँ सन्देश दिनु भएको थियो । जानकी माताको दर्शन गर्न पुगेका राजा बाँचेका थिए भने कडा सुरक्षाबीच बम प्रहार गर्दा दुर्गानन्द झा पक्राउ पर्न नसकी सकुशल भाग्न सफल भएका थिए । 

नेपालकै इतिहासमा प्रथम बम काण्डको अनुसन्धानको नाममा ५९ जनालाई समातेर अनेक यातना दिइएको थियो भने त्यसदिन जनकपुुर विमानस्थलमा काँग्रेसका अर्का क्रान्तकारी योद्धा अरविन्दकुमार ठाकुरलाई त्यसअघि नै बमको साथमा पक्राउ गरिसकेको थियो । 

बम काण्डमा निर्दोष मानिसहरूलाई भयंकर कुटपिट गरी अनेक यातना दिदै गरेको खबरले वीर युवक दुर्गानन्द झा तीन महिनापछि एक दिन स्वयं जयनगरबाट रेल्वे समातेर गिरफ्तारी दिन जनकपुरधाम फर्कदा उहाँलाई परवाहा रेल्वे स्टेशनमा प्रहरीले हिराशतमा लिएर जलेश्वर जेल पुर्याइएको थियो । अर्को दिन परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकप्टरबाट काठमाण्डौं पुरयाई नेपाल विशेष अदालतद्वारा २०१९ भाद्र २४ गते कुनै सुनवाई नै नगरीकन मृत्युदण्ड दिने फैसला गरिएको थियो ।

 जो पछि सर्वोच्च अदालतद्वारा सदर गरी २०२० माघ १५ गतेको राती सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी हत्या गरिएको थियो । त्यसअघि २०२० भाद्र १ गते दुर्गानन्द झाकै कारण मुलुकी ऐनलाई संशोधन गरिएको थियो कारण थियो, त्यसअघि कुनैपनि ब्राम्हण, महिला, सन्यासीलाई मृत्युदण्ड नदिइने नीति ऐनमै उल्लेख थियो तर दुर्गानन्द झा ब्राहमण भएको कारण ऐनलाई नै सशोधन गरी मृत्यूदण्ड दिएको थियो । बाहुन भएकै कारणले वि.सं. १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्यु दण्ड नदिएर आजीवन कारावासको सजाय सुनाएको थियो । 

२०२० माघ १५ गते मृत्युदण्ड दिनुअघि दुर्गानन्द झाकी आमा सुकुमारी देवी र अर्धांङ्गनी काशीदेवी झालाई जनकपुुरधामबाटै लगिएर जेल गेटमा दुर्गानन्द झासित भेंट गराइएको थियो र उहाँले बडो धैर्यतापूर्वक चिन्ता नलिन भन्दै आफू गएपनि लोकतन्त्र अवश्य आउने कुरा गर्नु भएको थियो । 

त्यो कुरा अबेर राती दुर्गानन्द झालाई जेलबाट मृत्युदण्डको लागि निकाल्न कसाईहरू पुग्दा उहाँ गेटमा उभी राख्नु भएको थियो र निकाल्दा आफ्ना साथी अरविन्दकुमार ठाकुर र दलसिंह थापालाई भेट्दै अब म लामो यात्रामा गएपनि लोकतन्त्र अवश्य फर्किनेछ भन्नु भएको थियो र सत्य सावित भयो । अमर शहीद दुर्गानन्द झासमेतका हजारौं वीर शहीदहरूका बलिदानले आज देशमा गणतन्त्र आई सकेपनि संस्थागत गर्न बाँकी नै छ ।

धनुषा जिल्लामा जटही निवासी पं. भोलानाथ झाका तीन छोराहरूमध्ये जेठो देवनारायण झाको एक मात्र सन्तान दुर्गानन्द झाको जन्म वि.सं. १९९९ साल वैशाख शुक्ल एकादशी १४ गते भएको थियो । त्यसबेला नेपालमा विद्यालय नरहेकाले नेपाल भारत सीमानामा रहेको उमगांवस्थित माध्यमिक विद्यालयमा अध्ययनरत रहँदै २०१५ सालको प्रथम आम निर्वाचनको प्रचार प्रसारमा सकृय रहनु भएको यूवा छात्र दुर्गानन्द झामाथि प्रजातन्त्रको हत्याको निकै दुष्प्रभाव परेको थियो । 

भारतीय स्वतन्त्रता संग्रामका वीर भगत सिंह र चन्द्रशेखर आजादको जीवनीबाट प्रभावित भएर उहाँले लोकतन्त्रका हत्यारा तानाशाहको हत्या गर्न आफ्ना घर परिवार र नवविवाहिता श्रीमतिलाई छाडेर २० वर्ष नपुग्दै जनकपुुर बम काण्ड गरेर इतिहासमा स्वर्णाक्षरले अंकित भएका थिए । 

आफ्ना पिताका तीन दाजु भाईका एक मात्र उत्तराधिकारी तथा २०१७ सालको विवाह पंचमीको दिन काशीदेवीको साथ प्रणय सूत्रमा बाँधिनु भएका दुर्गानन्द तानाशाहीसित माफी नमागेर २१ वर्ष ९ महिनाकै कलिलो उमेरमा लोकतन्त्रको लागि बलिदान हुनु भएका थिए । देशमा लोकतन्त्र स्थापनासाथ २०६५ अषाढ ९ गते जनकपुर बौद्धिक समाजद्वारा बम काण्डस्थलमा अमर शहीद दुर्गानन्द झाको स्मारक निर्माण गर्न एक सात सदस्यीय निर्माण समिति गठन गरी प्राप्त जनसहयोगबाट स्मारक  निर्माण गर्न २०६६ श्रावण २१ गते अमर शहीदकी धर्मपत्नी काशीदेवी झाद्वारा शिलान्यास गराइसकिएको छ ।

 तर जानकी मन्दिर महन्थले २०६६ श्रावण ९ मा लिखित रूपमा स्मारक निर्माण गर्न जग्गा उपलब्ध गराइसकेको पत्र हुँदा हुंदै पनि २०६७ चैत्र ३ गते एक जनाको रिट निवेदनमा जनकपुर पुनरावेदन अदालतले चैत्र ८ गते निर्माण माथि रोक लगाएर कार्य ठप्प पारिएको थियो । जो अहिलेसम्म खुल्ला भएको छैन । दुर्गानन्द झाको सालिक तयार भएर काठमाडौंमा राखिएको छ तर जानकी मन्दिरका महन्थले त्यसलाई स्थापना गर्न दिइरहेका छैनन् । यद्यपी अझै हाम्रो प्रयास जारी रहेको छ । 

दुर्गानन्द झाको गृहनगर जटहीमा अस्पताल बनाउने सरकारले निर्णय गरिसकेको छ । तर अझै त्यो निर्माण भएको छैन । मधेशी नेताहरु पनि स्वास्थ्य मन्त्री बन्नुभएको थियो । काँग्रेस, कम्युनिस्टले पनि स्वास्थ्य मन्त्रालय सम्हालेका थिए तर सबैले आश्वासन मात्र दिनुभएको थियो । दुर्गानन्द झालाई सहिद घोषणा गरेपनि सहिदको सम्मान दिएको छैन । माघ १६ गते सहिद दिवस मनाउने गरेको छ तर राज्यले त्यो दिन दुर्गानन्द झालाई सम्झन पनि उचित ठान्दैन ,। 

यसै प्रसंगमा काठमाण्डांैको शहीद गेटमा रहेको शहीद स्मारकमाथि शहीदहरूका मृत्युदण्ड सदर गर्नु भएका राजा त्रिभुवनको प्रतिमा त्यहाँ राखेर शहीदहरूलाई अपमान गरी राखिएकोले त्यसलाई हटाउने २०६९ पुस १८ को सरकारी निर्णय अविलम्ब कार्यान्वित गरी त्यसठाउँमा अमर शहीद दुर्गानन्द झा लगायत शुक्रराज, धर्मभक्त, गंजालाल र दशरथ चन्दको प्रतिमा लगाउनु पर्दछ र त्यो नै सच्चा राष्ट्रवाद हुनेछ । 

अमर शहीद दुर्गानन्द झाका बलिदानले जनक र जानकीको पुण्यभूमि जनकपुुरधामलाई क्रान्तिस्थलीमा परिणत गरिसकेकाले नै सरोज कोइराला, शिवचन्द्र मिश्र, कामेश्वर मण्डल, कुशेश्वर यादव, मुंगालाल महतो, मोहन महतो, मिथिलेश दुवे, रामबाबु चौधरी, इगल थापा, शहिद भए ।

 त्यस्तै डा.लक्ष्मीनारायण झा, सत्यनारायण साह, इश्वर लामा, पदम लामा, सूर्यनाथ रान यादव, साकेतचन्द्र मिश्र, दिलिप चौधरीसहित सातै जनालाई प्रहरी हिरासतबाट २०४२ आश्विनमा बेपत्ता पारिएको थियो । त्यस्तै सत्यनारायण पाठक, जानकी देवी, मुनेश्वरी देवी, सोनावती देवी, उदयशंकर मण्डल, रामनारायण यादव, रामविलास ठाकुरका साथै मधेश आन्दोलनका राकेश ठाकुर, कारी ठाकुर, शिवशंकर यादव समेतका दर्जनौ प्रेरणाप्रद शहीदहरू भएका छन् ।

 अतः हामी अमर शहीद दुर्गानन्द झासमेतका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूलाई नमन गर्दै हरेक भाषा, धर्म र संस्कृतिको सम्मान र विकास हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गराउने राष्ट्रिय सहमति बनाई पूर्व प्रतिवद्धता अनुसार दोश्रो संविधान सभाले एक वर्षभित्र संविधान जारी गर्ने दिशामा सबैले अठोट अनुसार बढ्नु परेको छ ।

दुर्गानन्दलाई हत्या गरेको हो, मृत्युदण्ड होइन

केन्द्रीय कारागारमा रहेको कमलको रुखमा २०२० माघ १५ गतेको राति दुर्गानन्द झालाई डोरीको पासो लगाएर झुन्ड्याइएको थियो । पहिलोपटक एकछिन छट्पटिएपछि तल झारियो र दोश्रोपटक 

पनि पुनः त्यसै गरियो । र, तेश्रो पटकमा सोही रुखमा बाँधेर गोली हानी मृत्युदण्डको सजाय 

दिइएको थियो ।

कांग्रेसको भारतमा रहेको छतौनी क्याम्पमा केही साथीले गद्दारी गरेपछि दुर्गानन्द झाले पीडा सहन 

नसकी यसरी दुःख र आफ्नै साथी भाइको उपद्रो सहेर बस्नुभन्दा स्वाभिमानपूर्वक स्वदेश फर्केर गिरफ्तारी दिनु उपयुक्त ठानी स्वदेश फर्केर गिरफ्तारी दिनुभएको थियो ।

राती दुर्गानन्द झाले मुसाका लागि धराप थाप्थे र फँसेका मुसाको टाउको, पुच्छर र छाला मिल्काई टुक्राटुक्रा पारेर तयार पारेको मासु ज्यादै स्वादिलो हुन्थ्यो ।

दुर्गानन्दको सवालमा करीब छ महिनाअघि मुलुकी ऐनमै संशोधन गरी मृत्युदण्डको तारतम्य मिलाइएको थियो ।

जेलका एक ब्राह्मण सुब्बाले आफ्नै आँखाअगाडि दुर्गानन्द झालाई फाँसी दिएको देखेर विक्षिप्त बनेका थिए । दुर्भाग्य ! यस घटनाको केही समयपछि उनको हृदयघात भएर जेलभित्रै मृत्यु भयो । दुर्गानन्द झालाई झुन्ड्याइएको कमलको रूख पनि म¥यो ।

बद्रीराम भण्डारीले दुर्गानन्दलाई गीताको पुस्तक र उनैकी श्रीमती काशीदेवीले सम्झनास्वरूप दिएको पुतलीछाप घरबुना चारपाटे रुमाल थियो । 

कारागारको भाइनाइकेले दुर्गानन्दलाई हेरेर भन्थे, ‘तिमीहरू त दसैंका राँगाजस्ता न हौ, बलि दिन तयार गरिराखिएका, ‘मीठो मीठो खाओ है ! अब कति दिन छ र !’

जेलमा उहाँले गुनगुनाउने विरहको हिन्दी गीत थियो, ‘दो हंसोका जोडा विछोड गयो रे ! गजब भयो रामा जुलुम भयो रे !’ र  ‘कैद माँगी थी, रिहाइ तो नही माँगी थी ! तेरी जुल्फों से जुदाइ तो नही माँगी थी !’

श्रीमती र आमालाई भेटेर आएपछि गम्भीर भावमा भन्नुभयो, ‘मलाई आजै फाँसी दिने रे ! त्यही भएर मेरी आमा र श्रीमतीलाई अन्तिम भेटका निम्ति बोलाइएको रहेछ ।’

फाँसीमा जानुअघि उहाँले भुइँमै बसेर धूप बाल्नुभयो र मिश्री चढाउनुभयो । अनि, बद्रीराम भण्डारीले दिनुभएको गीताको पुस्तक पाठ गर्नुभयो ।

फाँसीको दिन बद्रीरामजीहरूले दिनुभएको खादीको धोती र कुर्ता लगाएर माथिबाट इस्टकोट र रुद्राक्षको माला पहिरी कम्मरदेखि माथिको भाग खाटमा र तलको भाग भुइँमा रहेको अवस्थामा उहाँ मस्त निद्रामा हुनुहुन्थ्यो ।

 दुर्गानन्द झाले श्रीमती र आमालाई भन्नुभएको थियो, ‘तपाईंहरू दुःख नमान्नुस् । मेरो बलिदान व्यर्थ जाने छैन ।’

तपाईको प्रतिक्रिया