Khadya Bibhag

पटक पटक देशलाई संक्रमणबाट जोगाउने राष्ट्रपति रामचन्द्र पौडेल

नेपाली राजनीतिको इतिहासमा भदौं २३ र २४ गते जेनजी आन्दोलन एक ऐतिहासिक आन्दोलनको रुपमा दर्ज भएको छ । नेपालको इतिहासमा थुप्रै आन्दोलन भए तर यसरी छोटो अवधिमा उथलपुथल ल्याएर देशको सत्ता र राजनीतिको अनुहार नै परिवर्तन गर्ने एक मात्र आन्दोलन जेनजी आन्दोलन हो । युवा पुस्ताको आक्रोश, असन्तुष्टि र परिवर्तनको आकांक्षाले जन्माएको एउटा व्यापक सामाजिक उथल–पुथल थियो जेनजी आन्दोलन । तर त्यो आन्दोलनमा राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकालाई बिर्सन सकिदैन । उहाँको भूमिकालाई जसले पनि सरहाना गरिरहेका छन् । यदि उहाँ नभएको भए देशको सबै कुरा समाप्त हुन्थ्यो र देशको कोर्स अर्कैतिर मोडिनेथ्यो ।
उहाँकै अडानका कारण देशको संविधान जोगिएको र त्यही संविधानका आधारमा देश आफ्नो लयमा फर्केको हो । संविधान नभएको भए देशका कुनै पनि संवैधानिक अंग वा व्यवस्था बाँकी रहने थिएन । राष्ट्रपति रामचन्द्र पौडेलले लिनु भएको अडानको कारण देश जोगिएको भन्दा फरक पर्दैन । नेपाली सेनाले उहाँलाई राजिनामा दिनका लागि दिएको दबावमा उहाँले भनेको कुरा अहिले पनि मान्छेले आदर्शको रुपमा लिएको छ । उहाँले भन्नुभएको थियो, ‘संविधान खारेज र मलाई राजिनामा गराउनु भन्दा राम्रो मलाई मार्दिनुस् र यसको दोष जेनजी युवामाथि लगाइ दिनुस् कि राष्ट्रपतिलाई जेनजीले मार्दियो ।’ आफू मरेपनि संविधानलाई मर्न नदिने अडान लिएपछि संसद विघटन भए पनि संविधान जोगिएको मात्र यो देश जोगिएको धेरैके बुझाई रहेको छ ।
आन्दोलनकारीलाई अपिल
सबैभन्दा पहिला आन्दोलन तीव्र बन्दै जाँदा देश विभिन्न प्रकारका संवेदनशील अवस्थाबाट गुजार्न बाध्य भयो । सडकमा भिडन्त, प्रहरी–प्रदर्शनकारीबीच झडप, सम्पत्तिको क्षति र निरन्तर अस्थिरताले राष्ट्रिय वातावरण गम्भीर बन्दै गयो । यस्तो अवस्थामा राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको शान्ति र संवादको अपिल आन्दोलनको मनोविज्ञान बुझ्ने प्रयास थियो । उहाँले हिंसाबाट उत्पन्न पीडामा सहानुभूति व्यक्त गर्दै राष्ट्रिय समभाव कायम राख्न आग्रह मात्र गर्नुभएन । आन्दोलनकारी र राज्य दुबै पक्षलाई संयमित भएर समाधानका मार्ग खोज्न प्रेरित गर्नुभयो ।
आन्दोलनले राजनीतिक सत्ता चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि देश एक संवैधानिक रिक्ततामा प्रवेश गर्ने खतरा थियो । यहींबाट राष्ट्रपति पौडेलको भूमिकाको अर्को महत्वपूर्ण अध्याय सुरु भएको थियो । संवैधानिक प्रमुखको हैसियतले उहाँले दलहरूबीच छलफल, परामर्श र राजनीतिक सहकार्यलाई अघि बढाउनुभयो । राजनीतिक अविश्वास र तनावको वातावरणमा पनि उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि सार्नुभयो । यस क्रममा निष्पक्ष र विश्वसनीय व्यक्तित्वलाई प्रधानमन्त्रीमा नियुक्त गरेर देशलाई अन्तरिम शासनतर्फ अघि बढाउने निर्णयले जेनजी आन्दोलनपछि उत्पन्न व्यवस्थागत सही दिशा दिने काम उहाँले गर्नुभयो ।
राष्ट्रपतिमाथि गुनासो
यसो भन्दैमा राष्ट्रपति पौडेलको भूमिकालाई पूर्ण रूपमा पक्षधर वा एकतर्फी मान्न पनि नसकिने भन्नेहरु पनि छन् । जेनजी आन्दोलन नेतृत्वविहीन र स्वतःस्फूर्त थियो । जसका मागहरू परम्परागत राजनीतिक संरचनाका लागि सरल थिएनन् । युवाले परिवर्तनको गति चाहेको बेला, सरकार र संवैधानिक अंगहरू आफ्नो सीमाभित्रै चल्न बाध्य थिए । यसकारण कतिपयले राष्ट्रपतिको भूमिका पर्याप्त साहसी नभएको, केहीले ढिलो प्रतिक्रिया आएको भने केहीले उहाँले राजनीतिक स्थायित्वका नाममा आन्दोलनको ऊर्जालाई दबाउन खोजेको पनि आरोप लगाए । तथापि राष्ट्रपति कार्यालयले कानुनी तथा संवैधानिक सीमाभित्र रहेर काम गर्नुपर्ने अनिवार्यतालाई पनि बुझ्न आवश्यक छ ।
यतिबेला जेनजी आन्दोलनले समाजलाई हल्लाए पनि राजनीतिक निकायलाई जनतासँग नजिक ल्यायो । राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई आन्दोलनको पक्ष वा विपक्षमा नराखी, संवैधानिक जिम्मेवारी पूरा गर्ने मार्ग रोज्नु भएको कुरा कसैबाट लुकेको छैन । उहाँले विद्यमान संकटलाई हिंसात्मक द्वन्द्वमा परिणत हुन नदिई, राजनीतिक संवाद र संस्थागत समाधानमार्फत देशलाई स्थिरतंत्रतर्फ डोर्याउने प्रयास गर्नुभयो । युवाको रोष, परिवर्तनको चाहना र राजनीतिक संक्रमण बिच उहाँको हस्तक्षेपले राष्ट्रलाई अस्थिरताबाट बचाउने भूमिका निभाएको देखिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनमा मात्र होइन, यसअघिका विभिन्न संक्रमणकालिन अवस्थामा उहाँले खेलेको सकारात्मक भूमिकाका कारण देशलाई धेरै फाइदा भएको छ । देशलाई पटक पटक द्वन्दमा जानबाट जोगाउनु भएको छ । त्यसैले नेपाली लोकतान्त्रिक आन्दोलनको लामो संघर्षयात्रामा रामचन्द्र पौडेलको नाम सम्मानपूर्वक लिने गरिन्छ । उहाँको नाम इतिहासले केवल एक राजनीतिज्ञका रूपमा मात्र होइन, सिद्धान्तका प्रति अविचलित नागरिक, सहमतिका प्रवक्ता तथा परिवर्तनका संयमी मार्गदर्शकका रूपमा स्मरण गर्ने गरेको छ ।
२००१ असोज २९ गते, तनहुँको मिर्लुङ–बाहुनपोखरामा मध्यमवर्गीय किसान परिवारमा जन्मिनु भएका पौडेलको बाल्यकाल श्रम र सङ्घर्षमै बित्यो ।
पिता दुर्गाप्रसाद र आमा ऋषिमाया पौडेलबाट उहाँले जीवनलाई कसरी मूल्य, सादगी, सत्यनिष्ठाको बाटोमा कसरी हिडाउने मार्गदर्शन पाउनुभयो । र आज त्यसैको परिणाम हो कि उहाँले देशका काम आइरहनु भएको छ । गाउँको खेतपाखा र माटोको सुगन्धबाट हुर्केको एक बालक पछि गएर नेपाली राजनीति र समाजवादी चिन्तनमा समर्पित जीवन बिताउने नेता बन्नु हुन्छ भनि अनुमान सायद कसैले गरेका थिएनन् ।
विद्यार्थी जीवन
विद्यालय जीवनदेखि नै नेतृत्व क्षमताले उहाँ अरुभन्दा फरक देखिनु हुन्थ्यो । नन्दीरात्रि मावि विद्यार्थी संघका अध्यक्ष हुँदै संस्कृत मावि रानीपोखरी विद्यार्थी संघको नेतृत्व गर्न पुग्नु भएका उहाँ धेरै विद्यालयका विद्यार्थीलाई एकताबद्ध गर्दै स्वतन्त्र विद्यार्थी यूनियनको माग राख्ने आन्दोलनमा सक्रिय हुनुभयो । यही सक्रियताले उहाँलाई प्रजातान्त्रिक चेतनातर्फ झुकायो । १५ वर्षको उमेरमै बीपी कोइरालालगायत जननिर्वाचित नेताहरूलाई २०१७ पुस १ गते सरकारले जेलमा हालेको घटनाले उहाँको मनमा गहिरो छाप छाड्यो । यही क्षणले उहाँलाई लोकतन्त्रप्रतिको प्रतिबद्धतामा बाँधिदियो ।
बीपीको सुझाव
२०२५ सालमा सुन्दरी जेलबाट मुक्त भएपछि बीपी कोइरालाले विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेटेर दिनभएको सुझाव यस्तो थियो, ‘‘अविचलित नहुनू ।” उहाँका लागि त्यो वाक्य जीवनभरीका लागि आधारवाक्य बनेर बस्यो । बीपीसँगै उहाँले त्यही जेलमा रहेका मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालाजस्ता नेतासँग पनि भेट्नु भएको थियो । जसले उहाँको राजनीतिक दृष्टिकोणलाई बहुआयामिक बनाएको थियो ।
राजनीतिक सक्रियता बढ्दै जाँदा उहाँको जीवन जेल र हिरासतका दीर्घ अध्यायहरूले भरियो । २०१८ सालको पहिलो गिरफ्तारीदेखि २०६२÷०६३ को दोस्रो जनआन्दोलनसम्म उहाँको लगभग १५ वर्ष जेल जीवनमा बित्यो । यो अवधि उहाँको लागि केवल बन्दी जीवन थिएन, विचार निर्माण र आत्मप्रशिक्षणको समय थियो । जेलका पर्खालभित्रै उहाँले कविता, निबन्ध लेख्नुभयो । राजनीति र समाजका प्रश्नमा चिन्तन गर्नुभयो । ‘‘रामचन्द्रका १४ वर्ष वनवास’’ भन्ने चर्चित भनाइ नेपाली राजनीति र प्रतिरोधको इतिहासमा आज पनि प्रतिध्वनित हुन्छ ।
राजनीतिक यात्रामा उहाँले संगठनात्मक र वैचारिक नेतृत्व दुबै स्तरमा उल्लेखनीय भूमिका खेल्नुभयो । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना हुँदा मुख्य भूमिकामा रहनु भएका उहाँले पछि नेपाली कांग्रेसको जिल्ला नेतृत्वदेखि लिएर केन्द्रीय महामन्त्री, उपसभापति, संसदीय दलका नेता हुँदै २०७२ सालमा काँग्रेस पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीजस्ता महत्वपूर्ण भुमिकाहरू वहन गर्नुभयो । पार्टी आन्तरिक विवादका कठिन मोडहरूमा उहाँ प्रायः समन्वयकारी र मध्यमार्गी नेताका रूपमा पहिचान बनाउनुभयो । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताहरूबीच अनौपचारिक संवादका लागि पुलको काम उाहँले गर्नुभएको थियो । त्यो कुरा अझै पनि नेताहरु सम्झि रहनु भएको छ ।
संक्रमणकालमा योगदान
संक्रमणकालीन समयमा उहाँका योगदान झन् निर्णायक भएको थियो । माओवादी विद्रोहलाई मूलधारको राजनीतिमा ल्याउन गरिएको १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकारमध्येकै रूपमा उहाँ अग्रपंक्तिमा रहनु भयो । सरकारको तर्फबाट बनेको वार्ता समितिको संयोजक भएर तराई मधेशमा सशस्त्र आन्दोलन गरिरहेका संगठन तथा शान्तिपूर्ण आन्दोलन गरिरहेका तत्कालिन मधेशी जनअधिकार फोरम नेपालसँग वार्ता गरी मूलधारको राजनीतिमा ल्याउनमा उहाँको ठुलो भूमिका रहेको छ । शान्ति प्रक्रियामा उहाँको संयमित, संवादप्रधान र दूरदर्शी भूमिकाले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत बनाउने एउटा महत्वपूर्ण ढोका खोलेको स्मरण गर्ने गरिन्छ ।
जनताले पनि उहाँको निरन्तरता र समर्पणलाई कदर गरे । २०४८, २०५१, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७९ मा पुनः प्रतिनिधि सभा सदस्य निर्वाचित गर्दै उहाँले जनमतको स्थिर विश्वास पाउँदै आउनुभयो । सरकारमा स्थानीय विकास, कृषि, गृह, सूचना–सञ्चारदेखि उपप्रधानमन्त्रीसम्मका संवैधानिक जिम्मेवारी निर्वाह गर्दा उहाँले ‘सादगी र जिम्मेवारी’लाई आफ्नो कार्यदिशाको केन्द्रमा राख्नुभयो । २०५१ देखि २०५६ सम्म प्रतिनिधिसभाको सभामुखका रूपमा उहाँले संसदको गरिमा र मर्यादालाई नयाँ ऊर्जा दिनुभयो ।
बौद्धिक व्यक्तित्व
राजनीतिक मात्र होइन, बौद्धिक क्षेत्रमा पनि उहाँको योगदान महत्वपूर्ण छ । ‘‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’’ देखि ‘‘राजनीतिको राजमार्ग’’ र ‘‘प्रजातान्त्रिक समाजवाद’’ का विभिन्न कृतिहरूले उहाँको वैचारिक परिपक्वता र समाजवादी मूल्यप्रतिको प्रतिबद्धता झल्काउँछन् । उहाँले नेपालका सबै जिल्ला भ्रमण गर्नुएको छ । दर्जनौं मुलुकको भ्रमण गर्नुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय मंचमा नेपालको प्रतिनिधित्व गरेर उाहँ जानुभएको छ । जापान सरकारद्वारा प्रदान ‘‘अर्डर अफ द राइजिङ सन’’ (२०२०) जस्तो सम्मानले उहाँको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि प्रस्ट पार्छ ।
अन्ततः ‘‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’’ भन्ने ध्येय लिएर उहाँले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी नेपाल तथा राष्ट्रिय जनमोर्चाबीच चुनावी सहकार्यको सूत्र बुन्दै राष्ट्रिय सहमतिको आधार निर्माण पनि गर्नुभयो । र सोही सहमतिको आधारर्मा नेपालको राष्ट्रपति पनि बन्नुभयो ।
आजको राजनीतिक परिदृश्यमा रामचन्द्र पौडेल केवल एक व्यक्तिको नाम होइन, संघर्ष, संयम, सहमति र समाजवादी मूल्यहरूको प्रतीक बन्नुभएको छ । साधारण किसान परिवारमा जन्मिनु भएका उहाँले सिद्धान्त र त्यागको बाटो समात्नुभाये । साहस र सादगीको राजनीति मात्र गर्नुभयो । अन्ततः सम्पूर्ण जीवन जनताको पक्षमा अर्पण उहाँले गर्नुभएको छ । उहाँको जीवन यात्रालाई स्मरण गर्दा राजनीतिमा चरित्र, मूल्य, नैतिकता र अविचल आस्था हुँदा साधारण मानिस पनि असाधारण उचाइमा पुग्न सक्छ । राष्ट्रपति पौडेलको सम्पूर्ण जीवन यही सत्यको जीवित इतिहास हो ।

तपाईको प्रतिक्रिया