राजनीतिमा व्यपारी (सम्पादकीय)

चैत ६ गते प्रधानमन्त्रीको निवास बालुवाटारमा अर्कै रौनक देखिएको थियो । बालुवाटारमा देशकै होनहार व्यपारीहरुको जमघट थियो । बालुवाटारभरि नै व्यपारीहरुको चहलपहल थियो । मानौ त्यहाँ व्यपारीहरुको सम्मेलन जस्तै नै रहेको छ भनि लागि रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भनेर देशकै प्रतिष्ठित व्यपारीहरुलाई बालुवाटारमा बोलाउनु भएको थियो ।

देशकै प्रधामन्त्रीले छलफलका लागि बोलाएपछि नजाने कुरा नै हुँदैन । देशका प्रायः सबै प्रतिष्ठित व्यपारीहरुको बालुवाटारमा जमघट भयो । व्यपारीहरुलाई खुलेर आआफ्नो कुरा राख्न भनिएको थियो । व्यपारीहरु खुशी थिए कि आज पहिलो पटक प्रधानमन्त्री समक्ष खुलेर कुरा राख्ने मौका पाएका छौं ।’ कार्यक्रमको सञ्चालन प्रधानमन्त्रीका सल्लाहकार मोती दुगडले गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री ओली र व्यपारी बीचमो सम्बन्ध र संवादलाई जोड्न पुलको काम गरिरहनु भएको थियो । उहाँले बीच बीचमा प्रधानमन्त्री ओलीको प्रसंशा, कहिले आफ्नै प्रसंशा त कहिले व्यपारीहरुको प्रसंशा गरिरहनु भएको थियो । त्यसले एक प्रकारको रमाइलो नै भइरहेको थियो । कार्यक्रममा देशको व्यपार र व्यपारीप्रति चिन्तन मनन भइरहेको थियो ।

तर जब सैयौं व्यपारी एमालेमा प्रवेश गर्न लागेको उद्घोष भयो अनि थुपै्र व्यपारीलाई उकुस मुकुस भयो, अप्ठ्यारो भयो । जसलाई पार्टी प्रवेशका लागि नै बोलाइएको थियो । उनीहरु शान्त भएर बसेका थिए । जसलाई प्रवेशको बारेमा जानकारी थिएन उहाँहरुमा उकुस मुकुस सुरु भएको थियो । उठेर गईहालौं भने प्रधानमन्त्रीको नजरले के भन्ला, नजाऔं भने पार्टी प्रवेशको साक्षी बन्नु पर्ने स्थिति हुन्छ । यसै असमन्जसमा कतिपय उद्योगीहरु त्यहाँ बसेका थिए । तर के देशको अर्थतन्त्रलाई धानेका व्यपारीहरु यसरी खुलम खुल्ला कुनै पार्टीमा प्रवेश गर्नु, कुनै पार्टीको झण्डा बोक्नु उचित हो त भनि प्रश्न खडा भएको छ ।

एउटा कुनै पार्टीमा प्रवेश गरेपछि उसको सिद्धान्त र विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । उसको झण्डामुनी बस्नुपर्ने हुन्छ । उसले भनेको मान्नुपर्छ । तर के देशको एउटा व्यपारीका लागि यो सब सम्भव छ त । देशको चाहना र उसको माग बमोजिम उसले व्यपार, व्यावसायी गर्नुपर्छ । उसले सबैलाई समान नजरले हेर्नुपर्छ । उसको लागि सबै बराबर हो । ल अहिले एमाले नेतृत्वको सरकार छ । अहिले त्यही पार्टीको हालीमुहाली छ, उसले जे भन्छ त्यही हुन्छ । त्यसबाट कतिपय व्यपारीले फाइदा लिनसक्छ । तर के भोली काँग्रेसको सरकार आएपछि के अवस्था हुन्छ । त्यो व्यपारीलाई काँग्रेस नेतृत्वको सरकारले एमाले पार्टीको जस्तो व्यवहार गर्यो भने के हुन्छ ?

त्यसपछि त्यो व्यपारीले भन्न पाउने छैन कि काँग्रेस पार्टीले राम्रो व्यवहार गरेन । दुरव्यवहार गर्यो, पूर्वाग्रहरु रुपमा प्रस्तुत भयो भने जस्ता कुरा भन्न पाउने छैन किनभने उ एमालेका कार्यकर्ता भइसकेका हुन्छन् । उसको निधारमा एमाले नामको टिका हुन्छ र उसलाई एमालेको झण्डाले छहारी दिएको हुन्छ त्यसले काँग्रेसले गर्ने व्यवहार पार्टी जस्तै हो । अर्थात जुनसुकै पार्टीमा प्रवेश गर्दा अर्को पार्टीले गर्ने व्यवहार त्यस्तै हुन्छ । कतिपय व्यपारी राजनीतिमा आएर त्यसको गलत ढंगबाट प्रयोग गरेको पनि पाइएको छ । कोही करोडौं रकम दिएर समानुपातिक सांसद भएका हुन्छन् । र, सांसदको त्यो बिल्लालाई गलत ढंगले प्रयोग गरिरहेका हुन्छन् ।

प्रश्न यो पनि उठेको छ कि कुनै पनि व्यपारी सम्मान र प्रतिष्ठाका लागि राजनीतिमा आएका हुँदैन । उसलाई सम्मान र प्रतिष्ठा लिनका लागि त्यति फुर्सद हुँदैन । व्यपारमा यति व्यस्त हुन्छ कि बाहिरका सानातिना कुरालाई याद नै गरेका हुँदैन । तर आफ्नो स्वार्थ पुरा गर्नका लागि राजनीतिकको फेरो समातेका हुन्छन् । देशकै प्रतिष्ठित व्यपारी विनो चौधरी कहिले एमालेबाट त कहिले काँग्रेसबाट सांसद बन्नु हुन्छ । उहाँलाई सांसद बन्ने आवश्यकता किन पर्यो ।

उहाँ सांसद भएर उद्योग र व्यपारी क्षेत्रका लागि के योगदान दिनुभयो त्यसको बारेमा उहाँले जवाफ दिनुपर्ने हो । उद्योग, व्यपारको क्षेत्रमा थुप्रै विकृति, विसंगतिहरु छन्, त्यसको बारेमा उहाँले कहिले बोल्नु भएको छ भनि सुनिएको छैन । अनि उहाँ किन सांसद बन्नुभयो त भनि प्रश्नको एउटै जवाफ त्यसबाट उहाँलाई फाइदा भइरहेको छ । उहाँले सांसदको त्यो बिल्लालाई विजनेश व्यपारमा प्रयोग गरिरहनु भएको गुनासो भइरहेको हुन्छ बेलाबेलामा ।

त्यसैले व्यपारी स्वतन्त्र हुनुपर्छ । देखिने गरि कुनै पार्टी वा संगठनमा आवद्ध हुनुहुँदैन । आन्तरिक रुपमा कुनै पार्टीको विचारसँग नजिक रहनु, चुनावमा मत खसाल्नु छुट्टै कुरा हो तर टिका लगाएर पार्टीमै प्रवेश गर्नु अर्थतन्त्रका लागि कलङ्कको कुरा हो । व्यपारीहरुसँग पैसा हुन्छ, उसले पार्टी पनि चलाउन सक्छ । त्यसका लागि एकदुईजना व्यपारीले प्रयास पनि नगरेको होइन, तर त्यो सफल भएन । त्यसले पनि पुष्टि हुन्छ कि व्यपारीहरुको लागि व्यपार ठिक हो राजनीति होइन

तपाईको प्रतिक्रिया