तातो हावा बग्नाले तराई मधेशका जनजीवन प्रभावित भएको छ । तराई मधेशमा अहिले ४०–४३ डिग्री तामक्रम छ । त्यो अझै बढ्ने अनुमान गरिएको छ । जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले यस वर्षमा नेपालमा औसतभन्दा बढी गर्मी हुने भन्नुभएको छ । यो तापक्रम नेपालमा मात्र होइन, अनुपातमा विश्वमै बढेको छ ।
गत वर्ष यति बेला विश्वको तापमान वृद्धि १.१ डिग्री थियो भने अहिले १.२ डिग्री पुगेको छ । जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औसत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत रहेको विज्ञ उप्रेतीको भनाई छ । अर्थात नेपालमा गर्मी अझै बढ्ने कुरा यो तथ्यले पुष्टि गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मध्य वैशाखसम्म दक्षिण तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहने अनुमान गरेको छ । विगत केही दिनदेखि देशभरिकै अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तल्लो भूभागको कतिपय ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको विभागले जनाएको छ ।
तल्लो तराईका धेरैजसो भूभागहरूमा अत्याधिक गर्मीको सम्भावना रहने हुँदा आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । नेपालको तराई मधेशको भुभागमा सबभन्दा गर्मी सुरु भएको छ । विज्ञहरु भन्छन्, यो ‘लु’ नै हो । समग्रमा ४० डिग्रीभन्दा बढी तापक्रम गयो भने त्यसलाई ‘लु’ मानिन्छ ।
विश्वमा परिवर्तन भइरहेको जलवायु परिवर्तनका कारण यो अवस्था आएको हो । यसबाट जोगिनका लागि सतर्कता अपनाउन जरुरी छ । यसबाट बच्नका लागि मुख्य कुरा घामको समयमा घरबाट बाहिर ननिस्किने नै हो ।
१२ वजेदेखि ४ बजेसम्म चर्को घाम हुने भएकाले सकभर त्यो समयमा बाहिर ननिस्किने, निस्किनै पर्ने भए पातलो सुती कपडाले टाउको र अनुहार छोप्ने, घाममा निस्किदा छाता तथा कालो चस्मा प्रयोग गर्ने, पानी पर्याप्त खाने, सागपात, सलाद, झोल पदार्थ पर्याप्त खाने, कागती पानी, नरिवल पानी खाने, भन्सामा धेरै बेर नबस्ने, चिसो पानीले नुहाउने, पातलो लुगा लगाउने, खेतबारीको काम बेलुका मात्र गर्ने जस्ता उपाय अपनाउन सकिन्छ । यसका लागि स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्छ ।
धनी मानिसले घरमा एसी तथा पंखा लगाएर गर्मीबाट बच्न सक्छन् तर जो गरिब छन्, खानपिनको पनि समस्या छ भने त्यस्तो व्यक्तिलाई सरकारले तत्कालै व्यवस्था गर्नुपर्छ । लु लाग्ने सबभन्दा बढी सम्भावना गरिब जो श्रमिक हुन्छन्, किसान हुन्छन् उसलाई हुन्छ ।
खेतमा काम गर्न जान बाध्यता हुन्छ, श्रम गर्न जाने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा सरकारले उनीहरुका लागि चाहिने आवश्यकता पुरा गरि दिनुपर्छ । उनीहरुका लागि गर्मीबाट कसरी बच्ने भनि सचेतना जगाउनका लागि प्रचार प्रसार गर्नुपर्छ । जसरी चिसोबाट बच्नका लागि कम्बल र दाउरा वितरण गरेका हुन्छन् त्यसरी नै गर्मीमा पानी, पंखाको व्यवस्था गरि दिनुपर्छ ।
शितल प्रदान गर्नका लागि सुकेका इनार तथा पोखरीमा पानीको व्यवस्था गरि दिनुपर्छ । जीवन जल, गुलकोज, कागतीको पनि व्यवस्था गर्नुपर्छ । यो सुख्खा मौसममा खानेपानीको अभाव हुने भएका कारण जनताका लागि पर्याप्त पानीको व्यवस्था पनि स्थानीय सरकारले गर्नुपर्छ ।
लु लागेपछि थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता, हृदयको गति तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, शरीरबाट पसिना ननिस्कने, रक्तचाप कम हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने आदि जस्ता समस्या देखिन्छन् । यी सबै समस्याबाट बच्नका लागि चर्को घाम र गर्मीबाट बच्नुपर्छ ।
तपाईको प्रतिक्रिया