Khadya Bibhag

अन्नका भण्डार मधेशमा कुपोषण

अन्नभण्डारका रूपमा पहिचान बनाएको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान पुगेका छैन । नेपालको कूल जनसँख्यामध्ये ६१ लख १४ हजार ६०० जनसँख्या रहेको यस प्रदेशमा सात लाख ३८ हजार ३४० अर्थात् ६३.८ प्रतिशत परिवार कृषक रहेका छन् । त्यसमध्ये ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षभरि खान पुगेको छ ।
सात प्रदेशमध्ये मधेश प्रदेश देशको लागि अन्नभण्डार हो । तर अन्नभण्डारकै रुमपा मानिएको मधेश प्रदेशमा सबभन्दा बढी बालबालिका कुपोषणका शिकार भएका छन् । कतिपय खान नपाएर कुपोषित भएका छन् भने कतिपय खान नजानेर कुपोषित भएका छन् । कुपोषणका बच्चाहरुको अध्ययन गरेर निकालेको निष्कर्ष अनुसार ती बच्चाहरमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड जस्ता अति आवश्यक पोषणको कमी देखिएको छ । कतिपय बालबालिकाहरु दैनिक खाना खान्छन् तर खानाको ब्यालेन्स डाइट नमिलाउँदा पनि कुपोषणको शिकार भएका छन् ।
भन्ने गरिन्छ, मधेशमा गरिब खान नपाएर अस्वस्थ्य भएका छन् भने धनी खान नजाने अस्वस्थ्य भएका छन् । एक तथ्यांक अनुसार मधेश प्रदेशका पाँच वर्षमुनिका बालबालिकामध्ये ५१ प्रतिशतमा रक्तअल्पता छ । कुपोषणको समस्या बालबालिकासँगै महिलामा समेत देखिएको छ । महिलामध्ये कुपोषित आमाले बच्चा जन्माउँदा मृत्युको जोखिम निकै बढेको देखिन्छ । कुपोषण र रक्तअल्पताको समस्याले महिला र बालबालिका धेरै प्रभावित भएका छन् । कम उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, पोषणयुक्त खाना नखाने तथा खाने र खुवाउने तरिका नमिल्दा पनि धेरै महिला र बालबालिकामा कुपोषणका शिकार भएका छन् । मधेशका ५२ प्रतिशत महिला कुपोषणको शिकार भएको एक अध्यक्षले देखाएको छ ।
पोषणविज्ञका अनुसार धेरै बालबालिकालाई आमाको दुध नियमित नखुवाइँदा, बजारिया खाजाको भर पर्दा, खाना पकाउने र खुवाउने तरिका नमिल्दा पनि बालबालिका कुपोषणको शिकार भएको धेरै उदाहरण पाइन्छन् । फागुन १२ गते मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले महोत्तरीको बर्दीबासमा आयोजना गरेको दुईदिने ‘प्रदेशस्तरीय पोषण कार्यान्वयन समीक्षा तथा कार्यान्वयन गोष्ठी’ ले पनि मधेश प्रदेशको स्वास्थ्य स्थिति निकै दयनीय अवस्थामा रहेकोे निष्कर्ष निकालेको छ ।
सो कार्यक्रमका अनुसार मधेश प्रदेशमा पाँच वर्षमुनिका २९ प्रतिशत बालबालिकामा पुड्कोपन, २७ प्रतिशतमा कम तौल, १० प्रतिशतमा ख्याउटेपना, ५१ प्रतिशतमा रक्तअल्पता देखिएको छन् । मधेशको पोषण अवस्था चिन्ताजनक हुनुमा नीतिगतदेखि सामाजिक सांस्कृतिक कारण रहे पनि आफू चोखिने र एकले अर्कोलाई दोष थोपर्ने प्रवृत्ति बाधक बनेको छ । हुने खाने घर परिवारका बालबालिका पनि कुपोषणका शिकार हुनु भएको त्यहाँ पक्कै पनि शिक्षाको कमीले हो ।
जो गरिब छन्, खान पाएका छैनन् त्यसका बालबालिका कमजोर हुनु, अस्वस्थ्य हुनु, कुपोषणको शिकार हुनु भनेको नौलो कुरा होइन । त्यसका लागि सरकारले पोषिलो खानेकुराको व्यवस्था गर्नुपर्छ तर जसको घरमा खाने कुरा छन् तर पकाएर खान जानेका छैनन्, के कुरा कतिबेला खाने, कहिले खाने, कति खाने कुराको ज्ञान नहुनु भनेको शिक्षाको कमी हो । त्यस्तालाई खान कसरी, कति र के के खाने त्यो कुराको ज्ञान दिनु आवश्यक छ ।
खाना स्वाद र पेट भर्नका लागि मात्र होइन, स्वस्थ्य रहनका लागि पनि खानुपर्छ भन्ने ज्ञानको अभाव देखिएको छ । मधेशमा खान नै नपाएको परिवार धेरै कम छन् । कसो गरि आफ्नो र आफ्नो परिवारका सदस्यको पेट भर्ने काम गरेका हुन्छन् । कोही भोकै बस्ने अवस्था छैन । तर खाने तरिका नजानेर धेरैले दुख पाएका छन् । त्यसका लागि शिक्षा नै दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया