विभाजित मधेशी शक्ति

‘एकता नै बल हो’ यो भनाई अकाट्य छ । पाँच वटा औला छुटा छुट्टै हुन्छन्, जब ती एक ठाउँमा आएर मुठी बन्छ अनि एउटा शक्ति बन्छ । त्यो कुरा हरेक चिजमा लागु हुन्छ । चाहे त्यो परिवार होस् या समाज वा राजनीतिक किन नहोस् । एकता हरेक ठाउँमा चाहिन्छ । परिवार होस् या समाज वा राजनीतिक किन नहोस् हरेक ठाउँमा एकतालाई फुटाउने एउटा शक्ति वा गिरोह हुन्छन् ।
परिवारमा पनि भाइ भाइलाई फुटाएर एउटाले फाइदा लिइरहेको हुन्छ भने समाजमा पनि एउटा एउटालाई फुटाएर अर्कोले फाइदा लिइरहेका हुन्छन् र झन राजनीतिमा एउटा शक्ति कमजोर भएपछि मात्र अर्को शक्ति बलियो हुन्छ । ‘फुट डालो और राज करो’ नीति अनुसार एकतालाई तोड्ने प्रयास हरहमेशा भइरहेका हुन्छन् । अहिले मधेश केन्द्रित दलमा ठ्याक्कै मिलेको छ । आआफ्नो अभिष्ठ पुरा गर्नका लागि ठूला दलहरु आपसमा मिलेर गठबन्धन बनाएका छन् तर जुन शक्ति यो राज्यबाट उपेक्षित छन्, विभेदमा परेका छन्, शोषण र दमनमा परेका छन् त्यही शक्ति अलग अलग बसेका छन् ।
संसदमा रहेका मधेश केन्द्रीत दलहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी अहिले अलग अलग छन् । मधेश तथा थरुहटको माग पुरा भएन भनि छुट्टा छुट्टै संघर्ष गरिरहेका छन् । छुट्टा छुट्टै संघर्ष गरेर केही प्राप्त गर्न सकिदैन भन्ने कुरा यी दलहरु पनि थाह छ तर एक अर्कासँग मिल्न चाहेका छैनन् । २०६४ मा मधेश आन्दोलन हुँदा मधेशी जनअधिकार फोरम एक्लै थियो ।
आन्दोलन अगाडि बढी रहेको थिएन, सरकारले टेरिरहेको थिएन, त्यसपछि तत्कालिन तमलोपा, तमलोपा र फोरम बिच मोर्चा बन्यो । र त्यसपछि मात्र मधेश आन्दोलन सफल भएको थियो । देशमा लामो समयसम्म मधेशी मोर्चा रह्यो । जबसम्म मधेशी मोर्चा थियो, तबसम्म देशमा एउटा तागतको रुपमा मधेश थियो । २०७० को दोस्रो संविधान सभाको चुनाव आउँदा आउँदै मोर्चा भंग भएको थियो ।
चुनावमा मधेशका कुनै पनि दलको रिजल्ट राम्रो आएन । संविधानसभाबाट संविधान निर्माण हुन लाग्दा मधेश केन्द्रीत दलहरु पुनः मोर्चा बनाए । संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्न दबाव बढायो । आन्दोलन चर्कियो । आन्दोलन चलिरहेकै बेला मोर्चाका एउटा दल विजय कुमार गच्छदार नेतृत्व गरेको फोरम लोकतान्त्रिक ठूला दलसँग मिलेर १६ बुँदे सम्झौतामा हस्ताक्षर गरी फास्ट ट्रयाक बाट संविधान निर्माण गर्नमा सामेल भएको थियो । आन्दोलनको बाबजुद पनि तीन ठूला दलले संविधान निर्माण गरे ।
संविधान संशोधनकै लागि आन्दोलनलाई निरन्तरता दियो । सत्ताको दाउपेचमा मधेशी मोर्चा कतिखेर भंग भयो कसैले थाह पनि पाएन । मधेशवादी दलहरु कोही माओवादी कित्तामा गए भने कोही काँग्रेस र एमालेको कित्तामा । अर्थात ती ठूला दलहरुले मधेशवादी दललाई फुटाउन सफल भए । त्यो बेलादेखि हालसम्म ती दलहरुलाई मिल्न दिएको छैन । सरकार काँग्रेसको होस् वा एमालेको वा माओवादीको किन न होस् । एउटा एउटा मधेशी दललाई काँखी च्याप्ने काम गरे । ती दलहरु बिच बिचमा मिल्ने प्रयास पनि गरे । तर विभिन्न जोगाड लगाएर त्यसलाई विभाजन गराए ।
अहिले पनि त्यही हालत छ । चार वटा मधेश केन्द्रीत दल संसदमा छन् तर चार वटै दल चारतिर फर्केका छन् । ठूला दल आपसमा मिलेका छन् तर मधेशी दललाई मिल्न दिएका छैनन् । त्यसले गर्दा मधेशको माग पुरा गराउन तागत पुगिरहेको छैन । मधेशको माग पुरा नहुँदा मधेशको शक्ति दिन दिनै कमजोर भइरहेका छन् । मधेशी दलको आकार दिनदिनै कम हुँदै गइरहेका छन् । त्यसले गर्दा मधेशी जनता अधिकारबाट बन्चित छन् । मधेशलाई मुलधारबाट विस्तारै अलग गर्दैछ । मधेशलाई कमजोर बनाइरहेको छ । यसैलाई भनिन्छ, ‘घर फुटे गवार लुटे’

तपाईको प्रतिक्रिया