काठमाडौँ जेठ १५ गते । नेकपा एमाले (माधव पक्ष) का नेता घनश्याम भुसालले एउटा सांसदको हिसाबले हेर्दा आफू्बाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्नुभएको छ ।
तर उहाँले भन्नुभयो, ‘हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’
आफू दिनदिनै सूचनाको खोजीमा खासै चासो नराखे पनि दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरि रहने छ भन्ने अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।’
घटनाहरु जस्ताको त्यस्तै अगाडि बढि रहेको बताउँदै उहाँले अहिले नेकपा एमालेका केही सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको बताउनु भएको छ ।


तपाईको प्रतिक्रिया