सबै भन्दा अनैतिक त जनता नै हुन् !

–सत्यनारायण शाह
राजनीति मूल नीति हो, यसैबाट प्राप्त दिशानिर्देशबाट देश र समाजले सर्वमुखी मार्ग प्राप्त गर्दछ,्र नेपालको राजनीतिले कस्ता कस्ता परिणाम दिएका छन् त्यो कसैबाट लुकेको छैन । देशमा चलिरहेको वर्तमान अवस्थाले त कानुनी राज्यको अवधारणाको अस्तित्वलाई नै स्वाहा पारेको भान हुन थालेको छ । देशको कुनै अवयवको गति र दिशा सहि छ जस्तो लाग्दैन ।

संक्षेपमा भन्ने हो भन्ने राजनीतिक लगायत यहाँका करिब करिब सबै क्षेत्र, गलत व्यक्तिहरुको हातमा गएकोले दिगभ्रमित भएका छन् । जसको परिणामस्वरुप नेपालका जनताको जीवन नै अस्तव्यस्त भएको छ । चारैतिर नकारात्मकता छाएको छ, मान्छेको शक्तिलाई नकारात्मक वातावरणले शोषित गरिरहेको छ ।

फलस्वरुप समुचित र सकारात्मक विकासमा निकै नै बाधा अवरोध उत्पन्न भइरहेको महशुस हुन्छ । मुख्य कहलाउने करिब सबै राजनैतिक दलका नेताहरूको क्रियाकलाप, दृष्टिकोण, इमान्दारिता, प्रतिबद्धता र दुरदर्शिताबाट देश त तहसनहस भइराखेकै छ यहाँसम्म कि ती दलहरुका अधिकाँश इमानदार र कर्मठ कार्यकर्ताहरु समेत परेशान र किकर्तब्यविमुढ भइ केही गर्न सकिरहेका छैनन् । जनता त बिचरा टुलुटुलु हेर्ने बाहेक उसको हाथमा केही छैन ।

बरु ठगिएर अचेत अवस्थामा छन् भने पनि हुन्छ । समग्रमा भन्ने हो भने नेपालको अवस्था बहुतै गम्भीर र चिन्ताजनक छ । तर यस्तोमा पनि रमाउने त थुप्रै छन् । प्रश्न उठ्छ हामी कुन वर्गमा पर्छौ ? यस्तै अवस्थामा रमाउने कि देशको स्वभिमान उच्च पार्दै समृद्धिको बाटोमा हिडेको देख्दै एउटा स्वभिमानी, स्वस्थ्य नागरिकको रुपमा आआफ्नो रोजगारमा ब्यस्त हुने ।

पहिलो समूहका व्यक्तिहरुले सिर्फ आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति गर्न रमाउने गर्छन् र जसको कर्मवाट आफ्नो परिवार र सन्ततिलाई समेत पाप बोकाउछ्न भने दोश्रो समुहका ब्यक्तिहरुले आफ्नो लागि आत्मसन्तुष्टि, समाजिक मान आर्जन गर्नुको साथै देश र समाजलाइ असल मार्गमा डोर्याउने क्षमता राख्दछन् । यस्ता असल व्यक्तिहरुको उपस्थिति प्रायः सबै क्षेत्रमा छन् तर त्यस्ता व्यक्तिहरु अपमानित भइ एकातिर कुनामा धकेलिएका छन् ।

स्मरणीय रहोस् असल व्यक्तिमा एक किसिमको अहम् हुन्छ नै र उनीहरु कसैको दरबार लगाउन बिल्कुलै मन पराउदैन । त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार मर्यादित किसिमले राज्यले नै खोज्नुपर्ने हुन्छ, यदि राज्य असल व्यक्तिहरुद्वारा सञ्चालित छन् भने तर दुर्भाग्य जे भइरहेको छ त्यो सबैको सामुनै छ ।

यस्तो अवस्थामा बुद्धिजीवी, समाजसेवी, र समाजका अगुवा चिन्तकहरुको भूमिका महत्वपूर्ण र अपरिहार्य हुन् जान्छ । यस्तो बेलामा यस वर्गका व्यक्ति चुप लागेर बस्दा हाम्रो सन्ततिमाथि निकै नै ठूलो नकारात्मक असर पर्ने प्रायः निश्चित छ । हाम्रो संस्कार अनुसार हामीले आफ्ना सन्ततिलाई कस्ता वातावरण निर्माण गरेर जादैछौ भन्ने कुरा एकपटक अवश्य नै चिन्तन गर्नुपर्छ । यसतर्फ हाम्रो ध्यानाकर्षण भएन भने हाम्रो अन्तरात्माले अवश्य नै धिक्कार्ने छ । एउटा विडम्बनापूर्ण अवस्था के पनि देखिन्छ भने वर्तमान राजनीतिबाट असन्तुष्ट व्यक्तिहरुले अर्को राजनैतिक दल स्थापना गर्नेतर्फ झट्टै मन बनाइ हाल्दा रहेछन् ।

राजनैतिक दल स्थापना गर्नु बेठिक भनेर मैले बिल्कुलै भन्न खोजेको होइन तर दल मात्र खोलेर गर्ने के यदि मतदाताहरुमा विचार परिवर्तन ल्याउन सकिएन भने । विकल्पको कुरा त धेरैले गरेका छन् तर के भयो त ? विगतमा कतिपय नयाँ दलहरु स्थापित भए तर निर्वाचनको परिणाम हेर्दा त्यति उत्साहबर्धक भएन ।

वर्तमान दलहरुको विकल्पको कुरा गर्नेहरुको कमी देखिदैन तर निर्वाचनको परिणाम अनपेक्षित किन हुन्छ भन्ने कुराको विश्लेषण अवश्य हुनुपर्छ । मूल कुरा के हो भने भ्रष्ट दलहरुले केही मतदाताहरुलाई खास भन्ने हो भने दलालहरु उत्पन्न गरेर समाजलाई नै अर्कै हिसाबले रुपान्तरित गरिसकेका छन्, जसले गर्दा नयाँ राम्रा व्यक्तिहरुले भरिएका दलहरुले पनि खासै परिणाम ल्याउन सकिरहेका छैनन् । यस्तै अवस्था रहि रहयो भने साक्षात पशुपतिनाथाले पनि राम्रो परिणाम ल्याउन सक्दैन ।

गत निर्वाचनमा कतिपय स्थापित नेताहरुले चुनावमा भाग लिन मानेनन् । हार्नु जित्नु त अर्कै कुरा हो तर निर्वाचनमा भाग नै न लिनु वास्तवमा चिन्ताको विषय अवश्य पनि हो । त्यसको मुख्य कारणतर्फ गहिरिएर हेर्ने हो भने निर्वाचन प्रणाली र यसमा व्याप्त विकृति नै मुख्य कारण हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

विकृति यहासम्म छ कि यदि दारु र मासुको भोज गर्न सकिएन भन्ने निर्वाचनमा भाग लिने कुरा न सोचे हुन्छ । त्यसमा पनि मतदातालाई लोभ्याउन टोलटोलमा अकल्पनीय हिसाबले रकम खर्च गर्नु पर्ने त हुन्छन् नै ।

मतदातालाई लोभ्याउन त कसैकसैले व्यक्तिगत प्रयोजनका उपकरणहरु जस्तै मोटरसाइकल, साइकल आदि पनि बाड्ने गरेका उदाहरणहरु पाइन्छ । यस्ता विकृति पहाडी क्षेत्र भन्दा तराइ क्षेत्रमा बढी देखिएको कतिपयले भन्ने गरेका छन् । जबकी पहाड भन्दा तराइ क्षेत्र राजनैतिक दृष्टिले केही हदसम्म बन्चित भएको भनिन्छ ।

जसको लागि देशभित्र निरन्तर द्वन्द चलिरहेको छ । यस्तो अवस्थामा तराईबाट झन असल व्यक्तिहरुले प्रतिनिधित्व गर्नुपर्ने थियो । एउटा कुरा अवश्य नै उल्लेख गर्नु सान्दार्भिक हुन्छ कि नेपालमा मधेश आन्दोलनले महत्वपूर्ण राजनैतिक परिवर्तन ल्याउन सफल त भयो तर नेताहरुको अकर्मण्यता, अदुरदर्शिता र समाजमुखी ब्यबहार न भएको कारण ती आन्दोलनका प्रतिफललाई मधेशका नागरिकहरुमा स्वामित्व बोध गराउन सकिएन जसको फलस्वरूप अपेक्षित सामाजिक रुपान्तरण हुन सकेन ।

अर्को दृष्य पनि उल्लेख गर्नु यहा अति आवश्यक छ जुन दैनिकी अभ्यासको रुपमा देखिन्छ । यदि कुनै व्यक्तिको घरमा कोही विरामी भयो र कसैलाई अस्पतालमा भर्ना गर्नुपर्ने देखियो भने त्यसको लागि नेताकै दरबारमा धाउनु पर्ने हुन्छ । कसैको घरमा चोरी भयो वा डाका लाग्यो भने त्यसको लागि कारबाही चलाउन नेताकै निगाह चाहिदो रहेछ भने बलात्कार वा हत्या जस्तो मुद्दामा त नेताहरुले फुर्सत पाउने कुरै छैन । यस्तो स्थिति वास्तवमा जनताले चाहेको हो कि नेताहरुले कानुनी राज्यको अवाधारणालाई स्थापित हुन न दिएको परिणाम हो ? यति हुँदाहुँदै पनि जनताले किन बुझ्न न खोजेको हो कि चुनावमा व्याप्त विकृतिबाट क्षणिक लाभ त होला तर बाँकी समय दुखै दुखले भरिएको हुन्छ । स्मरणीय रहोस् कि ती क्षणिक लाभ समस्त जनताले पाएको हुँदैन केही दलाल प्रवृतिका व्यक्तिहरुले मात्र अधिकांश फाइदा उठाएका हुन्छन् ।

नैतिकताको प्रश्न कहाँ कहाँ उठाउने ? केपी ओलीमा नैतिकता भएन भनि कराउनेहरुमा कति नैतिकता, त्यो प्रश्न उठाउने कि न उठाउने ? संसद विघटन भएपछि करिब करिब सबै राजनैतिक दल र नागरिक समाज समेत अनैतिक, असंवैधानिक कार्य भयो भनि देशभरी आन्दोलन गर्ने र लाखौ रकम, समय र शक्ति बर्बाद गर्नेहरूले संसद पुनस्र्थापना भएपछि, जसले अनैतिक र असंवैधानिक कार्य गरेको हो, त्यसको विरोधमा संसदीय कारवाहीमा किन ढिलो ? जनतालाई कहिलेसम्म ठग्दै जाने ?

यहाँनेर जनतालाई पनि मूर्ख भन्न गार्हो देख्दिन । यिनै जनताले पापीहरुलाई पठाएको होइन र आफूलाई दारु, मासु र पैसाले बेचेर ? वास्तवमा भन्ने हो भने सबै भन्दा अनैतिक त जनता नै हुन् । त्यस्तालाई पठाउने र उनीहरुले जतिखेर भन्यो त्यतिबेला गोरु जस्तै आन्दोलनको उद्देश्य नै न बुझी जोतिने । जनताले यो कुरा न बुझेसम्म चलिरहने हो यस्ता नौटङ्की । जागृत होऔ र आफ्ना सन्ततीको लागि असल काम गरौ ! त्यसको लागि असल प्रतिनिधि छानौ !! –(मेरो फेसबुक पेजबाट,  Fcebook –March 18, 2021_]

नेपालका मतदाताहरुलाई निर्वाचनको महत्व, असल व्यक्तिलाई आफ्नो प्रतिनिधि बनाउनुको फाइदा, क्षणिक लाभले आफ्नो र परिवारलाई निम्त्याउने सम्भावीत हानि, निर्वाचन दौरान गरिने पैसाको चलखेलले समाजमा ल्याउन सक्ने दुस्परिणामहरु आदिको बारेमा जनचेतना जगाउन कार्यक्रमको अति नै आवश्यकता देखिन्छ । विद्यमान चुनावी विकृतिलाई न्यूनीकरण गर्न जागरण अभियान चलाउनु पर्छ भनि चाहना दर्शाउने त थुप्रै पाइन्छ तर यस्ता निवको पत्थर (Foundation Stone) बन्न हाम्रो समाजमा व्यक्ति पाउन कठिन कार्य पक्कै हो ।

अधिकांशले चाहना राख्दो रहेछ देखिने श्रैंगारिक पदार्थ बन्न, किनकी त्यसैमा रोमाञ्चकारिता छ र त्यसैमा लाभ छ । यस्तो बेलामा निवको पत्थर बन्ने कार्य बुद्धिजीवीहरुकै काँधमा हुनुपर्छ । दोश्रो सम्भावना ज–जसले राजनैतिक दलको विकल्पको रुपमा नयाँ दल स्थापना गर्ने सोचाइ राखेका छन् र त्यस्ता इमान्दार कार्यकर्ता जो आफ्नो दलमा भएका विकृतिले दुखित भइ अपहेलित भएका छन्, उनी सबैले पहिला यस्तो विकृति हटाउन सामाजिक अभियानमा लाग्नु पर्छ, जसबाट असल मान्छेले कुनै दलको मोहताज न बनि निर्वाचनमा सहभागी हुने आँट गर्न सकोस् । र दलहरुले पनि सामाजिक प्रतिष्ठा पाएका व्यक्तिहरुलाई प्रतिनिधि बनाओस् । अपराधि छवी भएका व्यक्तिहरुले के नै दिन सक्छन् र समाजलाई ? सुनौलो दिनको चाहना गर्दै सबै मिलेर अभियानमा संलग्न होऔँ नेपालको मुहार फेर्नमा सहयोगी बनांै । जय होस् !
सन्दर्भ सामाग्रीः

  1. [1] Nepal Engineering Council, Nepal: Former Chairperson
    II.            Procurement Management Association – Life Member

III.            Nepal Engineers Association, Nepal: Life Member

IV.            Nepal Council for Arbitration, Nepal- Life Member

V.            Society of Mechanical Engineers, Nepal: Former President

VI.          Management Association of Nepal –  Life Member

VII.            Nepal Red Cross Society: Life Member

VIII.            Rajarshi Janak University, Janakpurdham, Nepal: Initiator and Former Member of the Management Committee.

IX.            International Association of Lions Clubs: Past President of Janakpur Lions Club and Past Cabinet Member of District 325.

X.            Basic Health Services Centre, Janakpur: Founder General Secretary.

तपाईको प्रतिक्रिया