काठमाडौँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालबाट मन्त्री बन्ने चर्चामा जोजो थिए सबैजना मन्त्री भए तर त्यसमध्ये एकजनाको नाम हटाइएको छ ।
जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादव पनि मन्त्री बन्ने चर्चामा थिए । मन्त्रीको नामावली तयार हुँदा उहाँको नाम पनि त्यसमा थियो तर बालुवाटारसम्म जाँदा जाँदै उहाँको नाम काटिएको जसपा नेपालका एक नेताले बताउनुभयो । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर बाहेक पूर्व राजपा पक्षका सबै शीर्ष नेता मन्त्री बन्ने तय थियो ।
पूर्व राजपाका अध्यक्षमण्डका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव हुनुहुन्छ । त्यसमध्ये महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा लाग्नु भएको छ । बाँकी रहे पाँच जना । पाँचजनामध्ये महन्थ ठाकुर नजाने भएपछि चारजना शीर्ष नेता र अन्य चारजनालाई लिएर सरकारमा जाने सहमति बनेको थियो । आजसम्म राजकिशोर यादवको नाम मन्त्रीको लिस्टमा थियो । तर प्रधानमन्त्री केपी शर्मा अोलीलाई आज एक वजे भेट्न जाँदा त्यहाँबाट राजकिशोर यादवको नाम गायव भयो ।
भनिन्छ, जसपा नेपाल गठन भएदेखि नै राजकिशोर यादव अलग थलग रहनु हुन्थ्यो । महेन्द्र राय यादव उपेन्द्रतिर लागेपछि महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा र शरतसिंह भण्डारीको एउटा मोर्चा बन्यो त्यो मोर्चामा राजकिशोर यादवलाई राखिएन । उहाँहरु जुनसकै निर्णय गर्दा राजकिशोर यादवसँग कहिले सल्लाह गरिएन । र, राजकिशोर यादवले पनि त्यति मतलब राख्नु हुन्थेन । पछिल्लो समय अध्यक्ष महन्थ ठाकुरले चलाउनु भएको हस्ताक्षर अभियानमा पनि राजकिशोर यादवले त्यति रुचि देखाउनु भएको थिएनन् । हुन त शरतसिंह भण्डारी र राजेन्द्र महतोले पनि रुची देखाउनु भएको थिएन तर उहाँहरुको बार्गेनिङ्ग थियो । शरतसिंह भण्डारीलाई मन्त्री चाहिएको थियो र राजेन्द्र महतोलाई संसदीय दलको नेतासहित उपप्रधानमन्त्री सहित सरकारमा जानुपर्ने थियो ।
महन्थ ठाकुरले त्यो स्वीकार गरेपछि उहाँहरुले पनि पछि हस्ताक्षर गर्नुभयो । राजकिशोर यादवले पछि गर्छु भनि टार्दै जानु भयो । पछि उहाँको बुवाको निधन भयो, उहाँ त्यसमा लाग्नुभयो । यता जसपामा राजनीतिक चलखेल तीब्र भयो । यति राजनीतिक चलखेल भएपछि पनि उहाँको नाम लिस्टमा आइरहेको थियो तर अन्तिममा गएर राजेन्द्र महतोले त्यो नाम काट्न लगाउनु भएको हो ।
राजकिशोर यादव निकट एक नेताले भन्नुभयो, राजकिशोर यादव ठाकुरको हस्ताक्षर अभियानमा हस्ताक्षर नगरेपछि त्यसमा सबभन्दा बढी चित्त राजेन्द्र महतोलाई दुखेको छ । उहाँलाई लाग्छ आफू संसदीय दलको नेता बन्दा राजकिशोर यादवले त्यसलाई रुचाउनु भएन र त्यही कारणले उहाँ हस्ताक्षर गर्नुभएन ।’
वरिष्ठ नेता महतोले राजेकिशोर यादव उपेन्द्र यादवलाई सघाइ रहेको आरोप पनि लगाउनु भएको छ । राजकिशोर यादव यादव महन्थ ठाकुर पक्षमा भएपनि लाइन उपेन्द्र यादवतिर रहेको आरोप राजेन्द्र महतोले लगाउँदै आउनु भएको एक नेताले बताउनुभयो ।
सत्तासमिकरणको विवाद पार्टीमा चलिरहँदा नेता राजकिशोर यादवले जसपाकै नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा अवाज उठाई रहनु भएको थियो । उहाँले यो कुरा पार्टीमा पनि पटक पटक राख्नुभएको थियो । पार्टीमा छलफल हुँदा यो विषय उहाँले जवर्जस्त रुपमा राख्नुहुन्थ्यो । त्यति मात्र होइन, जसपा नेतृत्वमा सरकार निर्माण गर्नका लागि उहाँले एमालेका दोस्रो तहका नेताहरुसँग छलफल पनि चलाउनु भएको थियो । जुन कुरा राजेन्द्र महतोलाई मन परेको थिएन । राजेन्द्र महतोले जसपा नेपालको नेतृत्वमा सरकार बन्छ भने कुरा कहिले विश्वास गर्नुभएको थिएन ।
यस विषयमा प्रतिकृया लिन राजकिशोर यादव र महन्थ ठाकुरलाई पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनु भएन ।


तपाईको प्रतिक्रिया