Khadya Bibhag

जसपाको अन्तरिक विवाद छिर्यो प्रेस मञ्चमा

काठमाडौँ जेठ २४ गते । जनता समाजवादी पार्टी नेपालभित्रको आन्तरिक विवाद प्रेस मञ्चमा पनि छिरेको छ ।

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई सरकारले नियुक्त गरेपछि प्रेस मञ्चका केशव आर्यालले पत्रकारका विभिन्न पाँचवटा संगठनसँग मिलेर सो नियुक्तिको विरोध गर्नुभएको छ । त्यसरी प्रेस मञ्चको अध्यक्षको नामै राखेर विरोध भएपछि मञ्चका महासचिव निमेष कर्णले त्यसको खण्डन गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गरी केही समय अघि पाँचवटा संगठनका प्रतिनिधिले हस्ताक्षर गरेको भनिएको प्रेस विज्ञप्तिमाथी प्रेस मञ्च नेपालको ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘विज्ञप्तिमा संगठनका अध्यक्ष केशब अर्यालको हस्ताक्षर देख्दा हामी आश्चार्य चकित बनेका छौ । त्यसैले देशभरीका संगठनमा आवद्ध सदस्यहरुका प्रतिनिधिहरुको अनुमतिमा त्यो हस्ताक्षर प्रेस मञ्च नेपालको आधिकारी नभएको स्पष्ट पार्न चाहन्छु । संगठनमा कुनै छलफल नै नगरी भएको उक्त हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गर्दछु ।’

प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले संयुक्त हस्ताक्षर गरेर आज जारी गरेको विज्ञप्तिमा प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा हुँदै अर्को अध्यक्ष नियुक्तिको प्रकृया हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री ओली लागेको स्पष्ट भएको जनाइएको छ ।

मञ्चका अध्यक्ष केशव आर्याल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका हुनुहुन्छ भने महासचिव निमेष कर्ण अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया