काठमाडौँ जेठ २५ गते । युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफू चीन नीति प्रति स्पष्टता साथ प्रतिवद्ध रहेको बताउनु भएको छ । २ वर्षअघि लातभियाको एउटा कार्यक्रममा भाग लिन गएको विषयलाई लिएर आफू मन्त्री भएपछि केही सार्वजनिक सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनु भएको छ ।
एउटा गैरसरकारी सस्थाको निमन्त्रणमा लातभिया गएको तर एउटा कार्यक्रम भनि अर्को कार्यक्रममा झुक्याएर लगिएको कुरा आफू लातभिया पुगेपछि मात्र जानकारी पाएको उहाँले बताउनु भएको छ । मन्त्री मियाँले एउटा विज्ञप्ति जारी गरी स्वदेश फर्केपछि आफूप्रति उठाइएको विषयका बारेमा आफूले त्यहीबेला स्पष्ट पारिसकेको अहिले आएर फेरि त्यही कुरा उठाउनु अनावश्यक रहेको आफूले ठानेको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, तिब्बत स्वशासित क्षेत्र चीनको अभिन्न अंगको भन्नेमा स्पष्ट छु, हामी हाम्रा दुई छिमेकी मित्र, राष्ट्र बीचको संवेदनशीलतालाई बुझ्छौं । हाम्रो छिमेकी सम्बन्ध, परराष्ट्र नीति र अन्तराष्ट्रिय सन्दर्भ तथा राष्ट्रिय नीतिसँग मेरो पूर्णत सहमति रहेको छ ।’
लातभियाको राजधानी रिगामा २ वर्ष अघि भएको सम्मेलनमा तत्कालीन राजपा सांसद मियाँ, तत्कालिन समाजवादी पार्टी नेपालका तत्कालीन सांसद प्रदीप यादवलगायत पुग्नु भएको थियो । त्यसमध्ये तत्कालिन समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई कारवाही पनि गरेको थियो । तत्कालिन राजपाले त्यतिबेला यसको बारेमा मौना थियो तर अहिले सोही पार्टी (अहिले जसपा) का नेता मियाँ मन्त्री भएपछि विज्ञप्ति जारी गरेर नै स्पष्ट पार्नुभएको छ ।
सो सम्मेलनमा तिब्बती निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गे पनि सहभागी थिए । तिब्बतको निर्वासित सांसदहरुको सहभागितामा सो सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, न्युजिल्यान्ड, फ्रान्स, रोमानिया, क्यानडा, चेक रिपब्लिक, लिथुवानिया, भारत, चिली, लातभिया, बेलायत र स्कटल्यान्डका २५ सांसदसहित एकसय जना सम्मेलनमा सहभागी थिए ।



तपाईको प्रतिक्रिया