Khadya Bibhag

एक भारतीय परिवार जसले नेपाली आमालाई रक्षा गर्यो

यो अधुनिक समाजमा कतिपयले आफैले आफ्ना आफन्तलाई चिनेका हुँदैनन्, आफ्नै आमाबुवालाई वृद्धा आश्रममा छाडेर छुट्टै बसेका हुन्छन् । घरमै पनि आमा–बुवाबाट अलग बसेका हुन्छन् तर त्यही समाजमा अर्काको आमा–वुवालाई आफ्नो घरमा राखेर सेवा गरेका पनि कितपय उदाहरण पनि छन् ।

हालै यस्तै एउटा घटना बाहिर आएको छ । घरमा छोरा बुहारीबाट प्रताडित जकपुरकी ५५ वर्षीय तारादेवी यादव घरबाट त्यतिकै निस्केर बौलाएकी जस्तै हिड्दै भारतको मध्यप्रदेश पुग्नु भएको छ । जतिबेला उहाँ भारतको मध्यप्रदेश पुगिन त्यतिबेला कोरोनाका पहिलो कहर सुरु भइसकेको थियो । भारतमा लकडाउन सुरु भइसकेको थियो ।

मान्छे एक अर्काको नजिक जान चाहदैन्थे । आफन्तबाट समेत टाढा टाढा बस्न थालेका थिए । मान्छे कोसौ टाढा हिडेर गन्तव्यमा पुगिरहेका थिए । त्यही नेपालबाट करिब दुईहजार किलोमिटर हिडेर भारत मध्यप्रदेश उमरिया जिल्लाको विजुपुरी गाउँ पुगेकी तरादेवीलाई सोही गाउँका फुलचन्द वर्मन परिवारले आश्रय दिएर आफ्नो घरमा डेढ वर्षसम्म राखेको थियो ।

मिलन विछोडको आँसु
फुलचन्दले आफ्नो घरमा राख्नु भएको मात्र थिएनन्, उहाँले तारादेवीलाई उहाँको परिवारसँग मिलाउने प्रयास पनि गरिरहनु भएका थियो । फुलचन्दले त्यहाँको स्थानीय पुलिस थानामा जानकारी पनि गराउनु भएको थियो । तर तारादेवी मैथिली भाषाबाहेक अरु कुनै भाषा बोल्न नजाने तथा अरु कुनै ठोस प्रमाण दिन नसकेको कारण फुलचन्दको घरमा डेढ वर्षसम्म पाहुना भएर बस्नु भएको थियो । तर जब त्यहाँका स्थानीय संघ संस्थाको सहयोगमा सबै प्रमाण पुर्याएपछि नेपालबाट समाजिक अभियन्ता सरोज राय तारादेवीलाई लिन फुलचन्दकै घरमा पुगे तब विछोडको रुवावासी सुरु भएको थियो । तारादेवीमा मिलन र विछोडको दुवै आँसु थियो ।

तारादेवी फुलचन्द र इन्द्रकली वर्मनको परिवारमा एउटा परिवारको सदस्यको जस्तो बस्न थाल्नु भएको थियो । तारादवी फुलचन्दको मात्र होइन, पुरै विजुपुरी गाउँको ‘मातारानी’ हुनुभएको थियो । तारादेवीलाई गाउँभरीले मातारानीको नामबाट सम्बोधन गर्थे । सबैले तारादेवीलाई सम्मानको नजरले हेर्थे । तारादेवी लाग्दैन्थ्यो कि उहाँ बाहिरका हुनुहुन्छ । पुरै गाउँमा घुलमिल भइसक्नु भएको थियो । फुलचन्द र उहाँका श्रीमती इन्द्रकलीे कतै बाहिर जाँदा आफ्ना छोराछोरी र घर तारादेवीको जिम्मा दिएर हिड्नुहुन्थ्यो । तारादेवी फुलचन्दको मात्र होइन, पुरै गाउँको विश्वास जित्नु भएको थियो । त्यही भएर उहाँ त्यहाँबाट विदाई हुन थालेपछि पुरै गाउँको आँखामा विछोडको आँसु थियो ।

यस्तो विदाइ
तारादेवीलाई लिन भारत मध्यप्रदेशको उमरिया जिल्लाको विजुपुरी गाउँ पुगेका सरोज रायले भन्नुभयो, तारादेवी आफ्नो गाउँ नेपाल फर्किन लागेको थाह पाएपछि पुरै गाउँको मान्छे उहाँलाई विदाई गर्न आएका थिए । सबैको आँखामा विदाईको आँसु थियो, सबैले रोएर ममतामय भावले विदाई गरेका थिए । तारादेवी पनि त्यहाँबाट विदाई हुँदा रोइरहेकी थिइन्, यस्तो दृश्य विरलै हेर्न पाइन्छ सबै भावुक थिए, मेरो आँखामा पनि आँसु आयो ।’

घरबाट एउटा दुल्हीलाई विदाई गर्दा जुन अवस्था हुन्छ त्यही अवस्था थियो, त्यो परिवारको र गाउँको । दुल्हीलाई जस्तै उनलाई सिगांर पटार गरेको थियो । खुट्टा रंगनु, खोइछ राख्नु, मागमा सिन्दुर हाल्दिनु, रुदै विदाई गर्नु तराई मधेश र भारतको विहार, उत्तर प्रदेश, मध्य प्रदेशका गाउँका चलन नै हो । र त्यो माहोला त्यहाँ देखिन्थ्यो ।

जहाँ आफन्तले आफन्तलाई पहिचान गर्न हिचकिचाउँछ त्यहाँ अर्का देशकी एक बुढी आमालाई अर्को देशको एक परिवारले डेढ वर्षदेखि आफ्नै आमा जस्तै स्यहारसुसार गरेर राखेको थियो, यो जतिको मानवता अरु कही पाउन नसकिने सरोजले आफ्नो अनुभव सुनाउनुभयो ।
नेपालबाट हिडेरै गएको कारण तारादेवीलाई बौलाहा भनेर बाटा घाटामा केटाकेटीले इट्टा तथा ढुगांले हानेको घाउ उहाँको जीउ भरि थियो । फोहर मैला, झुत्रो, मैला लुगाएको तारादेवीलाई साँच्चै बौलाइकी आइमाइ भन्थे । तारादेवीलाई विदाई गर्दै फुलचन्दकी श्रीमती इन्द्रकलीले सरोज रायले खिचेको भिडियोमा भन्नुभएको छ, तारादेवी कहाँबाट यो गाउँमा आइपुग्नु भयो मलाई थाह छैन, उहाँ गाउँको स्कूलमा बस्नु हुन्थ्यो, उहाँको जीउभरी घाउ नै घाउ थियो, पागल जस्तो त्यहाँ बसिरहनु हुन्थ्यो । गाउँका मान्छेले पनि पागल नै हो भनि वास्त गर्दैन्थे । स्कूल नजिक मेरो एउटा छाप्रो छ त्यहाँ उहाँ बसिरहनु भएको थियो । उहाँलाई हेर्दै मलाई माया लाग्यो ।’

मलाई हेर्ने वित्तिकै तारादेवीले खाना माग्नुभयो, इन्द्रकलीले भन्नुभयो, मसँग खाना मागेपछि मैले त्यहीँ ल्याएर खान दिएको थिए, पछि घरमै लगेर खुवाए । उहाँ घरमा आउनु हुन्थ्यो खानु हुन्थ्यो र फेरि त्यहीँ स्कूलमा जानु हुन्थ्यो अनि मैले एक दिन अब तपाई कतै जानुपर्दैन, यही बस्नुस् सकैजति म तपाईलाई सहयोग गर्छु खान दिन्छु बस्न दिन्छु भने । अनि उहाँ यही बस्नु थाल्नुभयो ।’
तारादेवीलाई हेर्ने वित्तिकै आफूलाई माया जागेका र पागल होइन जस्तो लाग्यो, र घरमा लगेर राखेपछि घरकै सदस्य जस्तो बस्नु थालेको घरको काममा सघाउन थालेको, छोराछोरीलाई खेलाउन थालेको, गाउँका अन्य मान्छेसँग पनि हिमचिम बढाउन थालेपछि एक डेढ वर्ष कसरी बित्यो त्यो पत्तै नभएको इन्द्रकलीले भनेको सरोजले सुनाए ।

कसरी पत्ता लाग्यो तारादेवी ?
तारादेवी फुलचन्द परिवारको सम्पर्कमा गएदेखि नै उनको परिवारलाई खोजविन गर्न सुरु गरिसकेका थिए । तारादेवीको फोटो फेसबुकमा राखेर पनि खोज्ने काम भएको थियो तर कहीँबाट कुनै खबर आइरहेको थिएन । प्रहरीमा पनि उजुरी थियो । प्रहरीले पनि तारादेवीको परिवारलाई खोज्ने काम गरिरहेको थियो ।

तारादेवीले नेपाल र जनकपुर भनेकी थिइन् । तर त्यहाँ कतिपयलाई नेपाल र जनकपुर पनि थाह थिएन । त्यहाँ काम गर्ने समाजिक संस्था वन स्टप सेन्टरले नेपाल जनकपुर गुगलमा सर्च गरेपछि भारतको सितामढी आसपास देखाइरहेको थियो । अनि त्यो संस्थाले सितामढीमा रहेको चाइल्ड लाइन भने संस्थालाई खबर गरे । सम्पूर्ण विवरण सो संस्थालाई पठाइयो ।

चाइल्ड लाइनमा काम गर्ने मनिषले नेपालमा यस्तै बालबालिका उद्धार गर्ने समाजिक काममा रहेका सरोज रायलाई फोन सम्पर्क गर्नुभयो । मनिषले तारादेवीका फोटोलगायत अन्य विवरणहरु सरोजलाई पठाए । सरोजले तारादेवीको फोटो फेसबुकमा राखेर नेपालमा खोजी सुरु गर्नुभएको थियो । फेसबुकमा त्यो फोटो राख्ने वित्तिकै एकजनाले सरोजलाई फोन गरेर यो महिला त जनकपुर थुमुनाका हुन् आफूले चिनेको भनेका थिए । त्यसको केही मिनट लगतै तारादेवीका छोरा जो साउदीमा छन् उसले पनि सरोजलाई फोन गरेर तारादेवी मेरी आमा हुन् भनि जानकारी गराए ।

ठाउँ र परिवारलाई सरोजले फेला पार्नुभयो । त्यसपछि सरोजले परिवारको विवरण, छोराहरुको फोटो सबै मनिषमार्फत वन स्टप सेन्टरलाई पठाए । त्यहाँ ती विवरण र फोटोहरु तारादेवीलाई हेर्न लगाउनुभयो । तारादेवीले फोटो पहिचान गर्नुभयो । सबै कुरा पहिचान भएपछि सरोज राय तारादेवीलाई ल्याउनका लागि भारतको मध्यप्रदेशका लागि हिड्नुभयो । नेपालबाट अन्य पहिचान खुल्ने विवरणहरु लिएर उनी मध्यप्रदेश गएर उमरिया जिल्लाको कलेक्टरलाई भेट्नुभयो । त्यहाँ कानुनी प्रकृया पुरा गरेर, उहाँ त्यहाँबाट विजुपुरी गाउँका लागि हिड्नुभयो । करिब ७० किलोमिटरको यात्रापछि उनी त्यो गाउँमा पुगिन जहाँ तारादेवी आफ्नो परिवारसँग भेट्ने आशमा बस्नुभएको थियो ।

स्वागत सत्कार
सरोज विजुपुरी गाउँ पुगेपछि उहाँको त्यहाँ गाउँले स्वागत सत्कार गर्यो । वन स्टपका प्रतिनिधिहरु पनि त्यहाँ पुगेका थिए । स्थानीय पत्रकार तथा बुद्धिजिवीको रहोवरमा तारादेवीलाई बुझेर कलेक्टरको अफिसबाट सरकारी प्रकृया पुरा गरी सरोजले तारादेवीलाई लिएर नेपाल फर्किनुभयो ।

घरमा छैनन् खुस
सरोज राय भन्नुहुन्छ, नेपाल आउने वित्तिकै पहिला आफ्नो र तारादेवीको पिसीआर टेस्ट गराए । टेस्टमा निगेटीभ आयो । अनि सिडियोसँग अनुमती लिएर तारादेवीलाई लिएर उहाँको घरमा गए ।’ तर घरमा फुलचन्दको जस्तो खुशियाली नरहेको सरोज बताउँछन् । तारादेवीका तीनजना छोरा छन् । तीनटै छोरा विदेशमा छन् । दुईजना बुहारी घरमा बस्छिन् । सरोज राय तारादेवीलाई लिएर उसको घरमा जाँदा बुहारीहरुमा खुशी खुशीको भाव देखिएन ।

यत्रो दिनपछि हराएकी सासु घरमा आएकी छिन् हेर्नेवित्तिकै खुशीले कुद्नुपर्ने हो तर आफूले त्यस्तै कुनै भाव नपाएको सरोजले बताउनुभयो । ती बुहारीहरु तारादवीको नजिक आउन पनि चाहेकी थिइनन्, मैले बोलाएपछि बल्ल आइन्, सरोजले भने, अनि मैले ती बुहारीहरुलाई सोधे यत्रो दिनदेखि हराउनु भएको आमालाई मैले खोजेर ल्याइ दिएको छु अब राख्नु हुन्छ कि राख्नु हुन्न अनि उहाँहरुले यहाँ बस्नुहुन्छ भने राखि हाल्छु नि भनि ठाढो जवाफ दिएकी थिइन् ।’

जुन उत्साहका साथ उहाँ आफ्ना परिवारसँग भेट्न तारादेवी आउनु भएको थियो त्यो उत्साह र खुशी उहाँको अनुहारमा देखिएको थिएन । बुहारीहरुको व्यवहार हेर्दा तारादेवीको मन फेरि फाटेको जस्तो अनुभव सरोजले गर्नुभएको थियो । यद्यपी गाउँलेहरुलाई बोलाएर उहाँले तारादेवीलाई बुहारीको जिम्मा लगाएर सरोज हिड्नु भएको थियो । तर के तारादेवी फुलचन्दको घरमा पाएको माया आफ्नो घरमा पाइरहेकी होलिन् त भनि प्रश्न सरोजको मन अझै खेलिरहेको छ ।


बुहारीहरुका अनुसार तारादेवीको दिमाग खुसेकेको रे । उहाँ पहिला पनि यसरी घर छाडेर निस्किनुहुन्थयो र केही दिनमा आफै फर्केर आउनु हुन्थ्यो । त्यही भएर खोजविन नगरेको रे । घर छाडेर हिडेपछि धेरै दिन हुँदा पनि आमा घर नफर्केपछि उहाँका कान्छो छोरा रामप्रमोद यादवले यताउती आफन्तहरुमा खोजविन गर्नुभयो तर फेला नपरेपछि उहाँ खोज्न छाडेर वैदेशिक रोजगारमा जानु भएको थियो ।
आमा हराएको चिन्ता न तीनटै छोरामा देखिएको थियो न बुहारीहरुमा । नत्र विदेश कमाइ रहेका छोराहरु ज्यान लगाएर आमालाई खोज्थे । प्रहरीमा उजुरी गर्थे, पत्रपत्रिकामा सूचना निकाल्थे । तर त्यस्तो केही नगरेर छोरा र बुहारीहरु आफ्नो काम धन्दा र व्यवहारमा लागि सकेका थिए । त्यही छोरा बुहारीलाई वास्ता नगरेको आमालाई पारी देशका एक परिवारले सुरक्षितसँग राखेर घरसम्म पुर्याई दिने व्यवस्था मिलाई दिए ।

तपाईको प्रतिक्रिया