दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्नुहन्छ, “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।” एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।
त्यस्तै, पाँच÷छवटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताउनुभयो । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ । स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०÷१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । “विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलोचोटि नै हो”, वडाध्यक्षले भन्नुभयो । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताउनुभयो ।
दुई दिनदेखि अवरुद्ध
यसैबीच, सडक माथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।
लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको हो । उहाँले भन्नुभयो, “जेसिबी मङ्गलबारदेखि तयारी अवस्थामा रहेको छ, लगातारको वर्षाले पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन समस्या भएकोे छ ।”
राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रुहरू पहिराका कारण रोकिएका प्रहरीले जनाएको छ । पहिराका कारण उक्त राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।
सेतीवेणीका आठ घर डुबानमा
त्यसैगरि, अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ः०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेका हुन् ।
मानिसलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घर डुबानमा परे पनि मानवीय तथा चौपायाको क्षति हुन पाएको छैन । बाढीका कारण आठ घर पूर्णरूपमा क्षति भएका छन् भने स्थानीय बासिन्दा, प्रहरी, स्थानीय जनप्रतिनिधि, रेडक्रसको सहकार्यमा उद्धार कार्य जारी राखिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजार कालीगण्डकी र सेतीखोलाको किनारमा अवस्थित छ । कालीगण्डकीमा पानीको बहाव बढ्नासाथै सेतीखोलामा पानीको सतह बढ्ने भएकाले यो ठाउँ वर्षेनि डुबानमा पर्ने गरेको छ । स्याङ्जातर्फको गल्याङ–५ सेतीवेणी बजार डुबानमा पर्दा आठ घरमा पूर्णरूपमा क्षति पुगेको छभने २४ जना विस्थापित भएका छन् ।
त्यस्तै, डडेल्धुरामा पाँच दिनदेखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाले डुबानमा परेको हो ।
पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको अमरगढी नगरपालिका–३ डोटीखोलामा अवस्थित घटालथानमा वर्षाले सो क्षेत्रमा निर्माणाधीन संरचनासहित धरापमा परेको स्थानीयवासी राजेन्द्र जैसीले बताउनुभयो ।
खोलामा वर्षातको पानीको सतह बढेपछि रु एक करोड ४१ लाखमा निर्माण भएको प्यारापिट, मूल मूर्ति स्थान तथा मसानघाटको आरसिसी ढलानलगायत पर्यटक विश्रामस्थल डुबानमा परेपछि पर्यटकीय धार्मिक क्षेत्र सङ्कटमा परेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले जानकारी दिनुभयो ।
नदी आसपासका बस्ती उच्च जोखिममा
त्यस्तै, लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।
वर्षाले गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, रुपन्देहीको तिनाउ नदीमा जल सतह बढेकाले आसपासका बस्ती असुरक्षित भएका छन् । राप्ती नदीमा पानीको सहत बढेपछि बाँके र दाङका दर्जनाँै बस्ती जोखिममा छन् । बुटवलमा तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
नगरप्रमुख शिवराज सुवेदीले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गर्नुभएको छ । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना सङ्कलनका लागि खटाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
गुल्मीको बढीगाड नदीमा बाढी आउने सम्भावना रहेको भन्दै जन तथा मौसम विज्ञान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पाल्पास्थित रुद्रबेनी जलमापन केन्द्रले बढीगाडमा पानीले जलसतहले सतर्कता तह पार गरेकाले बाढी आउने सम्भावना बढेको महाखाले जनाएको छ ।
वर्षासँगै हिजोदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्ग अझैसम्म खुल्न सकेको छैन । रुपन्देहीको देवदह–बुटवल सडक खण्डअन्तर्गत चरङ्गे नजीकै डाइभर्शन गरेको सडक भाँसिएपछि बुटवल– नारायणगढ सडक बन्द भएको हो ।
यस्तै अविरल वर्षासँगै खसेको पहिराका कारण पाल्पा–बुटवल सडकखण्ड पनि अवरुद्ध छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा पानीको बहाव बढेको र माथिबाट खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको थियो ।
मङ्गलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान शुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । मङ्गलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।
यसैगरी लगातार परेको वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको सङ्गमस्थल दुई मुहानदेखि तीन किलोमिटर तल रहेको उक्त गाउँमा मङ्गलबार राति बाढी पसेको हो ।
घरहरूमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल दुईमोहानको टोलीले डुबान क्षेत्रमा परेकालाई उद्वार गरेको छ । अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकाले इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा खटेको छ । सो टोलीले दुईदिने सुत्केरीसहित सात जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरको कुमार मल्लाह, भुलई धुनियाँ, बिपत धुनियाँ, चिनक धुनियाँ, अजित धुनियाँ, बिहरी मल्लाह, बगेद मल्लाह, लक्ष्मण मल्लाह र जगतपाल मल्लाहको घरमा पानी पसेको वडाध्यक्ष रमेशप्रसाद निसादले जानकारी दिनुभयो । डुबानमा परेकामध्ये केहीले छिमेकीको घरमा र केहीले सामुदायिक बीउ भण्डार लगायतका स्थानमा आश्रय लिएका छन् ।
राप्ती नदीमा पानीको सतह बढ्दा दर्जनौँ गाउँ जोखिममा
तीन दिनदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि बाँकेका दर्जनाँै गाउँ डुबानको उच्च जोखिममा परेका छन् । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु पाँच मिटर पार गरिसकेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षा नरोकिएकाले राप्ती नदीमा जलसतह बढ्दै जाँदा बाढी गाउँ पस्न सक्ने जोखिम बढेको छ । “वर्षा भइरहेको हुँदा राप्ती नदीमा पानीको सतह बढिरहेको छ”, उहाँले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र खटिनका लागि तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ ।”
दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । राप्तीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा मानिन्छ । बिहानबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।
राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपत्कालीन तटबन्धका लागि कार्य गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने गरेको उहाँको भनाइ छ ।
बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मनसुनबाट करीब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।
राप्ती नदीको बाढीमा फसेका चारको उद्धार
अविरल वर्षातका कारण दाङको राप्ती नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा भैँसी चराउन गएका चार फसेकाको उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेला घाटको टापुमा राजपुर गाउँपालिकाका तीन र लमही नगरपालिकाका एकजना फसेका थिए ।
लमही–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर–२ का ४५ वर्षीय सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादव नदीको टापुमा भँैसी चराउँदै गरेको अवस्थामा नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा फसेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
मङ्गलबार बेलुका टापुमा फसेको जानकारी भए पनि लगातारको वर्षाका कारण उनीहरूको उद्धारमा कठिनाइ भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले बताउनुभयो । उद्धारका लागि २५ सशस्त्र प्रहरी खटिएको उहाँले जानकारी दिनुभयो ।
बाढीपहिराले ५० घरपरिवार विस्थापित
त्यस्तै, यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पु¥याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।
बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिराका कारण १८ घरपरिवारलाई मङ्गलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । यसैगरी वडा नं ७ धाइरिङमा दुई घर विस्थापित बनेको गाउँपालिकाले जनाएको छ ।
यस्तै महाशिला गाउँपालिका–८ घरपरिवार विस्थापित बनेका छन् । गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ आठ घर विस्थापित भएका छन् । उहाँका अनुसार वडा नं १ होश्राङदीको अर्गाउदीका पहलसिङ गुरुङको परिवार विस्थापित भएको छ । पाँच सदस्य रहेको उक्त परिवारलाई स्थानीयवासी लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ ।
वडा नं ३ बालाकोटको हिरूखर्कमा तीन सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं ५ लुङ्खु देउरालीको ढाडाखर्कमा पाँचजना परिवार सदस्य रहेको आसबहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ ।
यस्तै वडा नं २ भोक्सिङमा दुई घर, वडा नं ५ लङ्खुका तीन घर र वडा नं ४ पाखापानीका दुई घर गरी कूल आठ घर विस्थापित बनेका हुन् । वर्षा नरोकिएकाले अझै ठूलो क्षति हुनसक्ने उहाँले बताउनुभयो ।
यसैगरी फलेवास नगरपालिका–३ शङ्करपोखरीको रुग्दीमा पनि स्थानीयवासी बुद्धिसागर रेग्मीको घर उच्च जोखिममा परेको छ । घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिराका कारण घर बग्ने खतरामा परेको हो । वर्षा भएका बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकामा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताउनुभयो ।
वर्षाकै कारण विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन् ।
त्यसैगरी कुश्मा नगरपालिका–११ पकुवामा पनि ठूलो भागमा पहिरो गएकाले केही घर जोखिममा रहेको स्थानीयवासी दया सुवेदीले जानकारी दिनुभयो ।
मोदी गाउँपालिका–२ देउपुरमा आठ र वडा नं १ भुकताङ्लेमा एक घर जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिनुभयो । वडा नं ४ क्याङको ज्यामिरेमा एक घरमा पूर्ण क्षति पुगेको छ । परिवारलाई छिमेकीकामा आश्रय दिएर सारिएको छ । त्यसैगरी वडा नं ८ चित्रेमा दुई घर विस्थापित बनेका छन् ।
पहिराका कारण जिल्लाभरका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध बनेका छन् । त्यसैगरी खेतीयोग्य जमीनहरू समेत पहिराले पुरिएको स्थानीय तहहरूले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरि बाढी पहिराले क्षति भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
रेडियो मेलम्ची डुबानमा
त्यसैगरि, केही दिनदेखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।
रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करीब रु ५० लाख हाराहारी क्षति भएको छ । रेडियोको सम्पूर्ण कागजात, उपकरण, ल्यापटपलगायत सामग्री बाढीले बगाएको रेडियोका अध्यक्ष डम्बररसिक भारतीले बताउनुभयो ।
दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा अन्य संघसंस्था राहत एवं सहयोगका लागि सिन्धुपाल्चोक जाने क्रम जारी छ ।
पहिरामा च्यापिएर एकको मृत्यु, दुई घाइते
त्यस्तै, विगत केही दिनदेखि लगातार परेको वर्षातका कारण पहिरो खस्दा डोटीमा आज बिहान एक वृद्धको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् ।
मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।
गाउँको खानेपानी अवरुद्ध भएपछि मुहानमा पानी लिन गएकाबेला खिरणा खोलाको पहिरामा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासी खगेन्द्र बडैलाले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहान सफा गर्न गएका सो गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पुजा कुँवर पहिरामा च्यापिएर घाइते भएका छन् । पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइते दुवै जनालाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको छ ।
त्यसैगरि, कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण कैलालीको टीकापुर बजार क्षेत्रमा विकास निर्माणको काम ठप्प बनेको छ ।
विकास निर्माणको काम ठप्प हुँदा बजार क्षेत्रमा डुवानको जोखिम बढेको छ । बजार क्षेत्रमा अहिले तीन ठूला आयोजनाको काम चलिरहेको छ । तीमध्ये कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण ब्लक नं. ‘ए’ अन्तर्गत सडक निर्माण र ढल निकासको काम पूर्ण रूपमा बन्द भएको छ भने जमरा पुलदेखि टीकापुर बसपार्कसम्मको काम थोरै कामदार लगाएर भइरहेको छ । वर्षातको समयमा सडक निर्माण र ढल निकासको काम अलपत्र हुँदा बजारक्षेत्रमा डुवानको जोखिम बढेको भन्दै स्थानीय व्यापारी त्रसित बनेका छन् ।
सडकको उचाइ बढ्दा एकातिर पुराना घर तथा भवन सडकभन्दा तल झरेका छन् भने अर्कोतिर भएका नाली पनि अलपत्र छन् । पानीको निकास कतै छैन । व्यवसायी हेमन्त रावलका अनुसार उचित ढल निकासको व्यवस्थापन नहुँदा वर्सेनि डुवानमा पर्ने टीकापुर बजार क्षेत्र यसवर्ष झनै जोखिममा रहेका छन् । “वर्षातको पानीको निकास कतै छैन । अलिअलि निकास भएका क्षेत्रहरू पनि अहिले भइरहेको विकासका कामले अवरुद्ध बनाइसकेको छ”, उहाँले भन्नुभयो, “हामी एकदमै त्रासमा छौं । एकदुई दिनको झरीमा त डुवान हुन थालिसक्यो । वर्षातको बाँकी समय कसरी बिताउने होला भन्ने चिन्तामा छौं ।”
लामो समयदेखि कपडाको व्यापार गर्दै आउनुभएका वासुदेव पौडेलले सबैतिरबाट नाला बन्द हुँदा पसलको अगाडिबाट आवतजावत गर्ने समस्या हुन थालेको बताउँदै निर्माण कम्पनीको कमजोरीका कारण व्यापारीले सास्ती खेप्नुपर्ने भएको छ भन्नुभयो । “बजार क्षेत्रको समस्या अहिलेको मात्रै होइन । पहिला पनि कैयौंपटक यहाँका व्यापारीले लाखौंको क्षति व्यहोरिसकेको छ”, उहाँले भन्नुभयो, ‘निर्माण कम्पनी र नगरपालिकाले पानीको निकासका लागि समयमै सोच्नुपर्ने देखिन्छ । यस्तै अवस्था रहे यहाँका व्यापारीलाई निकै समस्या हुनसक्छ ।”
मुख्य बजार क्षेत्रमा निर्माणको काम गर्दै आउनुभएका महालक्ष्मी एमके जेभीका निर्देशक चक्रबहादुर शाहले आयोजनाको डिजाइन नै परिवर्तन भएका कारण काम रोकिएको बताउँदै तत्काल काम आगाडि बढ्न सक्ने कुनै सम्भावना नभएको जानकारी दिनुभयो । “हामीले काम गर्दै जादा आयोजनाको डिजाइन परिवर्तन भयो । त्यसपछि काम रोक्नु परेको हो”, उहाँले भन्नुभयो, “आयोजनाको नयाँ डिजाइन विभागबाट पास भएर आएपछि तुरुन्तै काम शुरु हुन्छ ।”
त्यस्तै छ लेन सडकको कामको जिम्मा पाएका रेखा निर्माण सेवाका इञ्जिनीयर गगन शाहीले कोरोनाका कारण भएको निषेधाज्ञाले काममा प्रभाव पारेको बताउँदै वर्षातको पानी निकासका लागि भए पनि काम भइरहेको जानकारी दिनुभयो । “जेठ मसान्तसम्म सडकको बीचको भाग कालोपत्र गरिसक्ने हाम्रो लक्ष्य थियो । तर बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण जारी निषेधाज्ञाले लक्ष्य अनुसारको काम हुन सकेन”, उहाँले भन्नुभयो, “सकेजति काम गर्दै आएका छौं । बिद्युत् पोल हाम्रा लागि ठूलो बाधक बन्दै आएको छ ।”
त्यस्तै बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाको काम पनि प्रभावित भएको छ । टुँडी कन्ट्रक्शनले जिम्मा पाएको सो काम शुरु भएको केही महिनामै भएको निषेधाज्ञाका कारण नाली निर्माणको काम अगाडि बढ्न नसक्दा बजार क्षेत्र डुवानको उच्च जोखिममा परेको छ । निर्माण कम्पनीले केही भागमा मात्र नाली खनेको छ । नाली निर्माण हुन नसक्दा पानीको निकास बन्द भएपछि डुवान हुन सक्ने भन्दै स्थानीयवासी त्रसित भएका छन् ।
नहरमा आएको बाढीले घर डुवानमा
यसैबीच, दुई दिनदेखि लगातारको वर्षासँगै नहरमा अव्यवस्थित रूपमा आएको पानीले पोखरा महानगरपालिका—३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् ।
पोखरा महानगरपालिका—३२ टाँडी र कालिका चोकका झण्डै २० घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धानलगायत खाद्यान्न सामग्री पनि भिजेको छ । कालिका चोकमा पानी जमेर तालजस्तै बनेको र खुदी खोलाको किनारा भत्काउन थालेको बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा –३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिनुभयो ।
समितिको सक्रियतामा वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बद्ध निकायमा पत्राचारसहित ध्यानाकर्षण गराइए पनि त्यसको कार्यान्वयनमा चासो नदिँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विगतमा अनियन्त्रित रूपमा आउने पानीलाई डाँडाको नाक प्रहरीचौकी, बाँधाको रह तथा घोतघोतेबाट कटाउने गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट आवश्यक इस्टिमेट गरिए पनि त्यसलाई कार्यान्वयनमा नल्याउँदा समस्या भएको हो ।
नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीय युवा नवराज घिमिरेले बताउनुभयो । टाँडी र आसपासका क्षेत्रमा वर्षेनि अव्यवस्थित नहरका कारण समस्या बढीरहेको बताउँदै उहाँले यसको दीर्घकालिन व्यवस्थापनका लागि सम्बन्धीत निकायले तत्काल चासो दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । समितिकै पहलमा पोखरा–३२ स्थित बाह्रसय चौताराबाट पानी कटाएर खहरे खोलामा लैजानका लागि काम थालिए पनि अहिलेलाई बजेट अभावले उक्त काम पूरा नहुने देखिएको लामिछानेको भनाइ छ ।
गत वर्षको बाढीले गगनगौंडा र लामेआहालबीचमा पर्ने राधाकृष्ण मन्दिर नजिकै पारेको प्रभावलाई दृष्टिगत गर्दै त्यस क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागबाट नाला गहिरो बनाएर कोत्रेसम्म पु¥याउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
तनहुँमा सतर्कता
त्यस्तै, मनसुन सक्रिय भएर देशभर वर्षा हुन शुरु भएको छ । तनहुँमा पनि सोमबारदेखि असारे वर्षा शुरु भएको छ । केही दिन अझै वर्षा हुने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले नदी तथा खोला छेउछाउ नजान आग्रह गर्दै सर्वसाधारणमा सतर्क हुन आग्रह गरेको छ ।
प्रत्येक वर्षको वर्षाले तनहुँमा जनधनको क्षति भइरहेको छ । गत वर्षको बाढीपहिरामा परी तनहँुमा १४ जनाले ज्यान गुमाएका थिए । असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिरोका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाएका थिए । बाढीपहिरोका कारण जिल्लाका दशवटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुगेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति तनहुँका अनुसार जिल्ला बाढीपहिराको उच्च जोखिममा छ । मनसुनको आपतकालीन कार्ययोजना २०७८ अनुुसार दशवटै स्थानीय तह बाढीपहिराको जोखिममा छ । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्य वर्षात्को समयमा जिल्लामा हुनसक्ने बाढीपहिरो लगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीको लागि कार्ययोजना बनाएर अगाडि बढेको बताउनुहुन्छ ।
योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समिति तनहुँको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आचार्यले बताउनुभयो ।
पहिराको आधारमा घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका उच्च जोखिममा छ भने शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, भानु नगरपालिका बाढी पहिराको जोखिममा छ ।
समितिले तयार गरेको कार्ययोजनाअनुुसार शुक्लागण्डकी नगरपालिकाका–१–१०, भिमाद नगरपालिकाका–१, ५, ६, ७, ८, भानु नगरपालिकाका–१, २, ३, ४, ५, ६, १०, ११, व्यास नगरपालिकाका–७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिकाका–४, ६, ऋषिङ गाउँपालिकाका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिकाका–३, ४, ५, बन्दिपुर गाउँपालिकाका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिकाका–१, २, ३ र देवघाट गाउँपालिकाका–४ र ५ वडाहरू पहिराको जोखिममा छन् ।
त्यसैगरी व्यास नगरपालिकाका–१, २, ३, ४, ५, ७, ८, ९, १०, ११, १३, आँबुखैरेनी गाउँपालिकाका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिकाका–२, ३, ४, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिकाका–११, १३, भिमाद नगरपालिकाका–१, देवघाट गाउँपालिकाका–४ र ५ वडाहरू पनि बाढीको जोखिममा छन् ।
“मनसुनको समयमा हुनसक्ने विभिन्न प्रकोपका घटनाहरू र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छाँै,” प्रजिअ आचार्यले भन्नुभयो, “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ ।”
यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरूको अधिकतम परिचालन हुने, मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरू तयारी अवस्थामा रहनेछन् ।
यस्तो छ तयारी
विपद्को समयमा खोज तथा उद्धार एवं आपतकालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयारी अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट सेना, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ जना प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त १५ जना, विपद् उद्धारमा परिचालन हुन सक्ने एक सय ६० सुरक्षाकर्मी तयार गरिएको छ ।
यसका साथै नेपाल रेडक्रस सोसाइटीबाट प्राथमिक उपचार स्वयंसेवक ६ जना, पूर्व तयारी स्वयंसेवक १० जना, खोज तथा उद्धार स्वयसेवक ६ जना तयारी अवस्थामा राखिएको छ ।
विपद्को समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपतकालीन राहत सहयोगका लागि विभिन्न सङ्घसंस्थाहरूबाट भौतिक स्रोत साधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सेफ्टी हेलमेट, रेस्क्यु भेष्ट, लाइफ ज्याकेट, सावेल, मेटल बकेटलगायतका सामग्री व्यवस्थापन गरिएको छ भने नेपाली सेना कालीभञ्जन गण (इ) बाट ट्युब, लाइफज्याकेट, कोदालो, गैची, बन्चरो लगायतका आवश्यक सामग्री व्यवस्थापन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट स्टेचर, लाइफ ज्याकेट, बन्चरो, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणबाट फलामको गल, सावेल, स्टेचर, नेपाल रेडक्रस सोसाइटीबाट गैर खाद्य सामग्री व्यवस्थापन गरिएको छ ।
जिम्मेवारी बाँडफाँड
विपद् व्यवस्थापन समितिले मनसुनको समयमा गर्नुपर्ने पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित निकायहरूको भूमिका र जिम्मेवारी बाँडफाँड गरेको छ । प्रमुख जिल्ला अधिकारीले समन्वयात्मक र नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार प्रदेश तथा केन्द्रीय स्तरमा सहयोग, सुरक्षा निकाय प्रमुखले खोज तथा उद्धारमा सक्रिय, जोखिमको समयमा सुरक्षा व्यवस्था, जिल्ला समन्वय समिति प्रमुखले स्थानीय तहहरूसँग समन्वय, विपद् सम्बन्धित सूचना सङ्कलनमा सहजीकरण गर्नेछन् ।
गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूले जोखिमबाट प्रभावित हुन सक्ने जनसङ्ख्याको पहिचान, जोखिमयुक्त ठाउँ, वस्ती तथा समुदायको पहिचान, गाउँपालिका तथा नगरपालिकास्तरको मनसुन पूर्व तयारी कार्ययोजना निर्माण गर्नेछन् । राजनीतिक दलका प्रमुखहरूले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई सल्लाह र सहयोग, स्रोत सङ्कलनका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछन् भने नेपाल रेडक्रस सोसाइटीका सभापतिले खाद्य, गैरखाद्य सामग्री तथा अस्थायी आवासको व्यवस्थापन, सूचना सङ्कलन तथा सम्प्रेषणका लागि स्वयंसेक परिचालन, प्रकोपको समयमा आपतकालीन आवास तथा बन्दोबस्ती व्यवस्थापनमा सहयोग पु¥याउनेछन् । यसैगरी यातायात व्यवसायी, पत्रकार, पेशागत व्यवसायी, गैरसरकारी संस्था महासङ्घलाई पनि सम्बन्धित क्षेत्रको कामको जिम्मेवारी दिइएको प्रजिअ आचार्यले बताउनुभयो ।
स्थानीय तहको तयारी
विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तहले पनि तयारी शुरु गरिसकेका छन् । स्थानीय तहका वडास्तरसम्मै जोखिमको क्षेत्र पहिचान गरी जोखिम न्यूनीकरणका लागि स्थानीय तह जुटेका हुन् । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरिएको र जोखिम न्यूनीकरणका लागि सोही समितिलाई परिचालन गरिएको जानकारी दिनुभयो ।
“पालिकामा अध्यक्षको अध्यक्षतामा र वडामा वडाध्यक्षको अध्यक्षतामा विपद् व्यवस्थापन समिति छ, सोही समिति विपद्को जोखिम न्यूनीकरणका लागि क्रियाशील छ,” गुरुङले भन्नुभयो । उहाँका अनुसार बाढीपहिराको बढी जोखिममा रहेका क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विपद् व्यवस्थापनका लागि पालिकामा कोष समेत खडा गरिएको छ ।
म्याग्दे गाउँपालिकाले भने विपद् जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सचेतना अपनाउन आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । “प्राकृतिक विपत्ति कतिबेला आउँछ भन्ने एकिन हुँदैन, यसलाई रोक्न सक्ने कुरा भएन, क्षति कम गर्नेतर्फ तयारी गरेका छौ,” उहाँले भन्नुभयो, “प्रत्येक वडामा गठन भएका विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाएका छौँ ।”
गाउँपालिकाले पनि पालिकास्तरमा अध्यक्षको संयोजकत्वमा र वडास्तरमा वडाध्यक्षको अध्यक्षमा विपद् व्यवस्थापन समिति गठन गरेको छ । विपद् पीडितलाई राहत वितरणका लागि विपद् व्यवस्थापन कोष समेत खडा गरिएको छ । “वर्षा निरन्तर भइरहेको खण्डमा म्याग्दे पनि बाढीपहिराको जोखिममा रहन्छ, क्षति कसरी कम गर्न सकिन्छ त्यसतर्फ क्रियाशील हुन वडास्तरसम्मै गठन भएका समितिलाई परिचालन गरेका छौँ,” अधिकारीले भन्नुभयो ।
गत वर्षको क्षति
बाढीपहिरोका कारण गत वर्ष जिल्लामा १३ जनाको मृत्यु भयो भने आंशिक र पूर्ण गरी तीन सय ४५ घरमा क्षति पुग्यो । बाढीपहिरोबाट व्यास नगरपालिकामा पाँच, भानु नगरपालिकामा दुई, ऋषिङ गाउँपालिकामा सात र म्याग्दे गाउँपालिकामा १३ जनाको मृत्यु भयो भने व्यासका एक जना बेपत्ता भएका थिए ।
यसैगरी व्यास नगरपालिकामा ७७ घर पूर्ण, ३५ आंशिक, भानु नगरपालिकामा ३२ घर पूर्ण, सात आंशिक, शुक्लागण्डकी नगरपालिकामा २१ घर पूर्ण, दुई आंशिक, भिमाद नगरपालिकामा २९ घर पूर्ण, एक आंशिक, आँबुखैरेनी गाउँपालिकामा छ घर पूर्ण, एक आंशिक, बन्दीपुर गाउँपालिकामा १३ घर पूर्ण, तीन आंशिक, ऋषिङ गाउँपालिकामा दुई घर पूर्ण, एक आंशिक, घिरिङ गाउँपालिकामा आठ घर पूर्ण, देवघाट गाउँपालिकामा १८ घर पूर्ण र म्याग्दे गाउँपालिकामा २१ घर पूर्ण र ४८ घर आंशिक क्षति भएको थियो ।


तपाईको प्रतिक्रिया