काठमाडौँ असार ३ गते । कृषि बिभाग र नेपाल कृषि महासंघको संयुक्त आयोजनामा असार ४ र ५ गतेको दिन समृद्ध नेपालको लागि कृषिको आधुनिकीकरण विषयक २ दिने गोष्ठी संचालन हुने भएको छ ।
सो गोष्ठिमा विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरुबाट पाँचवटा विषयमा कार्यपत्र र १० वटा सहायक कार्यपत्रहरु प्रस्तुत हुने विभागका महानिर्देशक डा.गोविन्द्र शर्माले जानकारी दिनुभयो । यस्तै गरी सातै प्रदेशबाट एकएक जना कृषक–कृषि उद्यमीहरुले सरकार र विभिन्न तहको कृषि नीति तथा कृषि बिकास कार्यक्रमहरुको विषयमा समीक्षा गर्नको साथै कृषि विकास र किसान कल्याणका लागि आआफ्नो धारणा प्रस्तुत गर्ने बताइएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह हुनुहुन्छ भने विशेष अतिथिमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्ण प्रसाद ओली, राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. पुण्य प्रसाद रेग्मी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्की र डा बिमल कुमार निर्मल रहने बताइएको छ ।
कार्यक्रममा वित्त पहुँच र कृषि उत्पादनः विषयमा डा. विश्व पौडेल , कृषिमा वैदेशिक लगानी सम्भावना र चुनौतीहरु विषयमा डा. गणेशराज जोशी, बदलिंदो परिवेशमा कृषि प्रसारका मुख्य चुनौतीहरु विषयमा डा. रामहरी तिमिल्सिना, कृषि आधुनिकीकरणको लागि भुमिको चक्लाबन्दीमा डा चन्द्र रिसाल, कृषिमा जोखिम न्युनिकरणः चुनौति र सम्भावनाहरु विषयमा डा गोविन्द प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गर्नुहुन्छ ।
कार्यक्रममा सातैवटै प्रदेशबाट आआफ्नो क्षेत्रमा सफल एकएक जना कृषि उद्यमीहरुले विभिन्न तहको कृषि सम्बन्धि नीति तथा कार्यक्रमहरु तिनको प्रभावकारिता तथा कृषक र कृषि उद्यमीहरुको अपेक्षा बारे प्रस्तुति गर्नेछन् ।
यस्तै गरी कृषिको विभिन्न क्षेत्रमा संलग्न वरिष्ठ वैज्ञानिक कृषि विज्ञ तथा युवा कृषि अनुसन्धानकर्ताहरुबाट १० वटा कार्यपत्रहरु प्रस्तुति गरिने जनाइएको छ ।
यस कार्यशालामा राष्ट्रिय योजना आयोग राष्ट्रिय किसान आयोग कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय बिश्वबिद्यालयहरु कृषि अनुसन्धान परिषदथा पशु सेवा बिभाग र मातहत निकायहरु कृषि तप्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहत निकायहरु प्रदेशबाट प्रतिनिधित्व गर्ने कृषि उद्यमीहरु समेत गरी १७० भन्दा बढी सहभागिहरु हुने अपेक्षा गरिएको छ ।
विज्ञहरुको कार्यपत्रमाथि टिप्पणीकर्ताहरुले आ आफ्नो टिप्पणी प्रस्तुत हुनेछ भने समुहगत छलफलमा सहभागिहरुले आफ्नो जिज्ञासा तथा सुझावहरु समेत राख्न सकिने बताइएको छ । यसरी बिज्ञहरुको कार्यपत्र टिप्पणीकर्ता तथा सहभागिहरुको सुझाव गोष्ठीमा संलग्न कृषि उद्यमीहरुको सुझाव समेत समेटेर गोष्ठीको प्रतिवेदन तयार गरिनेछ ।
गोष्ठीबाट प्राप्त सुझावहरु आगामी दिनमा कृषि क्षेत्रको नीति तथा कार्यक्रम तर्जुमाको साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया