जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) का कार्यकारिणी सदस्य अनिलकुमार झाले पार्टीको अधिकार नभएको पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेको टिप्पणी गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बहुमत सदस्यको हस्ताक्षरसहित दलको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि नेता झाको यस्तो प्रतिकृया दिनु भएको हो ।
‘अधिकार माग्ने भनेको पीडितले हो । उपेन्द्र यादव पीडित हुनुहुन्छ त्यही भएर अधिकारका लागि निर्वाचन आयोग जानु भएको हो,’ उहाँले भन्नुभयो, ‘हामीले त पार्टीलाई सिस्टममा चलाउन खोजेका हौँ । तर कोही बलजफ्ति पार्टी चलाउन चाहन्छ र त्यसैका लागि आधिकारिकता लिन निर्वाचन आयोग जान्छ भने त्यसमा हामीलाई केही भन्नु छैन ।’
आधिकारिकताका लागि निवेदन परेकाले पार्टीको बारेमा के गर्ने हो, त्यो जिम्मेवारी निर्वाचन आयोगको रहेको पनि उहाँले बताउनुभयो । खानेपानी मन्त्री समेत रहेका नेता झाले आफूहरुले पनि पार्टीका हरेक गतिविधिको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउँदै आएको बताउँदै पार्टीको विवाद निर्वाचन आयोगमा पुगेका कारण निर्णयका लागि पर्खिनै पर्ने बताउनुभयो ।
आधिकारिकताको बारेमा निर्णय गर्न अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाउँदा अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीको कुनै पनि बैठक नरहेको बताएको र जबर्जस्ती बैठक बसेर गरिएको कुनै पनि निर्णय मान्य नहुने जानकारी निर्वाचन आयोगलाई गराइसकेको पनि उनले जानकारी दिनुभयो । त्यसअघि कार्यकारिणी समितिमा २० जना थपेको बारेमा पनि निर्वाचन आयोगलाई ठाकुर पक्षले जानकारी गराइसकेको छ ।


तपाईको प्रतिक्रिया