काठमाडौँ असार ४ गते । निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले असार ४ गते सो डेरीलाई लोगो प्रदान गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गर्दै जाने बताउनुभयो ।
पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने कमशः प्रक्रिया सहित निवेदन आएपछि थप नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको कुरा बोर्डका कार्यकारी निर्देशक यादवले बताउनुभयो । अब लोगो अंकित गाडी निषेधज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उहाँले बताउनुभयो ।
दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा बोर्डबाट आवश्यक परीक्षण पश्चात वोर्डको मिति जेठ ३० को निर्णय बमोजिम दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह (लोगो) उपलब्ध गराउने निर्णय भएको थियो ।
२०७७ चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गर्नुभएको थियो ।
हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेलाई लोगो वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मल, बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, उपमेयर रमा राई, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, सदस्य माधब पौडेल, नगरपालिका कृषि शाखाका प्रमुख काजी बहादुर श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल, केन्द्रीय सदस्य मनोज कुमार घिमिरे, एसोसिएसन काभ्रेका अध्यक्ष रविन्द्र हुमागाईं, बोर्डका प्रशासन अधिकृत बिदुर राई लगायत मन्त्रालय, बोर्ड तथा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका पदाधिकारीहरुको उपस्थिती थियो ।
कार्यक्रममा लोगोको उपयोगिता बारे प्रष्ट पार्दै विश्वमै यस्तो खालको लोगो बनाउने नेपाल पहिलो भएको र यस्तो महत्वपूर्ण कार्य गरेकोमा बोर्डलाई धन्यवाद दिदैं एसोशिएशनका निवर्तमान अध्यक्ष सुमित केडियाले दूध के हो र यसको महत्वको बारे प्रष्ट पार्नुभएको थियो ।
नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले बोर्डले सुरू गरेको लोगो वितरण कार्यको प्रशंसा गर्दै यसको प्रयोगमा एसोसिएसनको पूर्ण साथ रहने बताउँदै लोगो प्रयोगलाई देशव्यापी विस्तार गर्दै ढुवानी सहज बनाउनु पर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया