ओलीबाट पटक पटक अपमानित भएको मधेश

अहिले जनता समाजवादी पार्टी र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बीचको दोस्ती बालुवाटार हुँदै तराई मधेशको खेत खरिहानमा हुन थालेका छन् ।

खासगरि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा आनाजानाले तराई मधेशमा चर्चा पाएको छ । प्रधानमन्त्री अ‍ोलीले मधेश र मधेशी नेता तथा जनतालाई पटक पटक अपमान गर्दा पनि उनीहरु किन प्रधानमन्त्री अ‍ोलीसँग दोस्तीका हात बढाएका छन् । यस विषयमा हामी अरु कुनै चर्चा गरांैला । आज ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि मधेश, मधेशी नेता तथा जनतालाई पटक पटक कसरी कहाँ पटक पटक अपमानित गरेका छन् त्यसको बारेमा चर्चा गर्दैछौं ।

बालकोटमा मासुभात
२०७० एमाले र काँग्रेससहितको सरकार बन्दा सुशिल कोइराला प्रधानमन्त्री हुनुभएको थियो । प्रधानमन्त्री बनेको केही दिनमै ओलीलाई प्रधानमन्त्री बन्ने लालसा सुरु भयो । कोइरालालाई हटाएर कतिखेर प्रधानमन्त्री बनिहालौं भने सोच उहाँको थियो र त्यसको गतिविधि उहाँले सुरु गरिसक्नु भएको थियो ।

सुशिल कोइराला नेतृत्वको यस्तो पहिलो सरकार थियो, जुन सरकार मधेशी दल विहिन सरकार थियो । सो सरकारमा कुनै पनि मधेशी दल सहभागी थिएनन् । तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीलाई नेतृत्व गरेका विजयकुमार गच्छदार कोइराला नेतृत्वको सरकारमा जान चाहन्थे । त्यसका लागि उहाँले कोइरालासँग पटक पटक कुरा पनि गर्नुभएको थियो । तर कोइरालाले गच्छदारलाई सिधै इन्कार गर्नुभएको थियो । सत्ताविना राजनीति गर्न गाह्रो हुने गच्छदार निकै छट्पटिनु भयो । त्यसपछि उहाँ कोइरालालाई हटाउने खेलमा लाग्नुभयो ।

त्यसका लागि गच्छदारले ओलीलाई कन्भिन्स गर्नुभयो । अ‍ोलीको चाहना पनि त्यही थियो । अन्य मधेशवादी दलसँग कुरा गर्ने जिम्मा गच्छदारले लिनुभयो । संविधान निर्माणको प्रकृया सुरु भइसकेको थियो । संविधानमा आफ्नो अधिकार लेखाउनका लागि मधेशवादी दलहरु आन्दालनमै थिए । गच्छदारले संविधानमा आफ्ना कुरा रखाउनका लागि एमाले अध्यक्ष केपी अ‍ोलीसँग कुरा गर्न जाउँ भनि तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तत्कालिन तमलोपाका उपाध्यक्ष ह्रदेश त्रिपाठी, तराई मधेश सद्भावना पार्टीका नेतृ रानी तिवारीलाई लिएर अ‍ोलीको निवास जान थाल्नुभयो ।

उहाँहरु तीन चारदिनसम्म लगातार जानुभयो । घण्टौसम्म छलफल हुन्थ्यो । ओली ती नेताहरुका लागि विभिन्न परिकारहरु बनाएर खुवाउन थाल्नुभयो । कहिले मासु, कहिले माछा, कहिले मिठाई खुवाउन थाल्नुभयो । कुरा हुँदै गएपछि उपेन्द्र यादवले चाल पाउनुभयो कि ओली र गच्छदारको दाउ सरकारमा जाने हो । कोइराला नेतृत्वको सरकार ढालेर ओलीलाई प्रधानमन्त्री बनाउने र त्यसका लागि अन्य दलहरुलाई पनि कभिन्स गर्ने ।

उपेन्द्र यादव बालुवाटार जाने छाड्नु भयो । विस्तारै त्रिपाठी र रानी तिवारी पनि जाने छाड्नु भयो । गच्छदार पनि एक्लै किन जानु । वार्ता र छलफल त्यतिकै भंग भयो । प्रधानमन्त्री बन्ने लालसा पुरा नभएपछि उहाँले मधेशी नेताप्रति टिप्पणी गर्दै भन्नुभएको थियो, सिंगै खसी ढालेर खानेहरुमाथि विश्वास गर्न सकिदैन ।’ त्यही दिनदेखि अ‍ोली र मधेशवादी दलदेखि चिढिन थालेका थिए । त्यसपछि मधेशी नेतामाथि पटक पटक अपमानजनक शब्दहरु प्रयोग गर्न थाल्नुभयो ।

त्यसपछि ओलीले मधेशवादी दलको गठबन्धन भत्काउनु भएको थियो । गच्छदार, प्रचण्डसहितको उपेन्द्र यादव, महन्थ ठाकुर लगायत नेतृत्व पार्टीको ३३ दलीय गठबन्धन थियो । त्यसबाट गच्छदार र प्रचण्डलाई निकालेर १६ बुँदे सहमति गरेर फास्ट ट्रयाकमा संविधान बनाउने बाटो बनाउनुभयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि विभाजन भयो । उपेन्द्र, यादव, महन्थ ठाकुर, महेन्द्र राय यादवलगायत मधेशी नेताहरुलाई सकडमै छाडियो । अ‍ोलीले फास्ट ट्रयाक्बाट संविधान बनाउन सुरु भयो । अनि त्यसपछि मधेशवादी दलले पुनः आन्दोलन चर्कायो ।

आँप झर्नु
मधेशवादी दलले आन्दोलन चर्काएपछि सरकार पनि कडा रुपमा प्रस्तुत हुन थाल्यो । त्यतिबेला एमालेका तर्फबाट वामदेव गौतम गृहमन्त्री थिए । ओलीको निर्देशनमा मधेश आन्दोलनप्रति कडा हस्तक्षेप हुन थाल्यो । जताततै मधेशी युवा प्रहरीको गोलीको शिकार हुन थाले । त्यति नै बेला एउटा सार्वजनिक कार्यक्रममा एमालेका अध्यक्ष ओलीले भनेका थिए, एक दुईटा आँप झर्दैमा केही हुदैन ।’ यस्तो टिप्पणीले मधेशमा झन आन्दोलन चर्कियो । आन्दोलनका क्रममा मर्ने मधेशी युवालाई आँपको सज्ञा दिनु भएको थियो ।

युपी विहार पनि मिलाउ
संविधानमा आफ्नो कुरा समावेश गराउन मधेशी मोर्चा सरकारसँग लगातार छलफलमा थियो । २०७१ पुस २३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको उपस्थितिमा मधेशी मोर्चासँग छलफल भएको थियो । सो छलफलमा एमालेका अध्यक्ष ओलीको पनि उपस्थिति थियो । मधेशी मोर्चाका नेताले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पनि मधेश प्रदेशमा राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । त्यो कुरालाई एमाले अध्यक्ष अ‍ोलीले बेतुकको कुरा भन्दै ‘सबै समथर भूमी मधेशमै मिलाउने हो भने युपी र विहारलाई पनि मधेशमै मिलाउ’ भनि अपमानजनक शब्द प्रयोग गर्नुभएको थियो ।

यस्तो अपमानजनक कुरा सुनेर तत्कालिन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तत्कालै ओलीको भनाइप्रति आपत्ति जनाउँदै बैठकबाट बाहिरिनु भएको थियो । त्यसपछि राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका नेताहरु पनि ओलीको भनाईप्रति आपत्ति जनाउँदै बाहिरिएका थिए । उहाँहरु बालुवाटारमा अपमान भएको महसुस गरेको अभिव्यक्ति बाहिर मिडियालाई दिनु भएको थियो । यो कुरा देशैभरि फैलियो अनि मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले तराई मधेशलगायत काठडमाडौंमा समेत अ‍ोलीको पुतला जलाएका थिए ।
एमाले अध्यक्ष अ‍ोली सहभागी कुनै पनि छलफल वा वार्तामा आफूहरु नजाने मधेशी मोर्चाका नेताहरुले निर्णय नै गर्नुभएको थियो ।

माखे साङ्लो
२०७२ असोज ३ गते संविधान जारी भइसकेपछि मधेशवादी दलले त्यो संविधानलाई संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएको थियो । संविधान जारी भएकै दिन पर्सालगायत विभिन्न ठाउँमा तीनजनाले सहादत दिएका थिए । २०७२ असोज १४ गते पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म हुलाकी राजमार्गमा मानव साङ्लो बनाएको थियो । संविधान संशोधनको माग गर्दै सांकेतिक रुपमा विरुद्ध स्वरुप लाखौ मधेशी जनता हुलाकी सकडमा मानव साङ्लो बनाउँदा प्रधानमन्त्री अ‍ोलीले एउटा औपचारिक कार्यक्रममा आफ्नो मन्तव्य राख्दै त्यसलाई माखे साङ्लो भन्नुभएको थियो ।

त्यतिबेला मधेशी जनताले निकै अपमान महसुस गरेको थियो । केही महिना पहिले मात्र एक दुईटा आँप झर्दैमा केही हुदैन भन्नु भएका ओलीले अहिले माखे साङ्गलो भनेर अपमान गर्नुभएको भन्दै मधेशी जनता निकै आक्रोशित भएको थियो ।
संविधान निर्माण भइसकेको थियो । अ‍ोली प्रधानमन्त्री बन्ने तरखरमा हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री नबनोस् भने मधेशवादी दलको चाहना थियो । त्यस अनुसारको अभिव्यक्तिहरु पनि त्यो दलका नेताहरुले दिइरहनु भएको थियो । त्यसले गर्दा अ‍ोली मधेशी नेताप्रति झन चिढिनु भएको थियो । माओवादी, राप्रपालगायत अन्य साना दललाई मिलाएर अ‍ोली प्रधानमन्त्री बन्नुभयो ।

पाँचजनाको मृत्यु
मधेशमा संविधान संशोधनका साथ साथै अ‍ोली प्रवृतिको विरुद्ध पनि आन्दोलन भइरहेको थियो । मधेशमा ओलीलाई निषेध गरिएको थियो । ओली निषेधित क्षेत्र भनि ठाउँ ठाउँमा ब्यानर नै झुण्ड्याएको थियो । प्रधानमन्त्री भइसकेपनि अ‍ोली मधेश झर्न सकिरहनु भएको थिएन । मधेशका लागि उहाँले पटक पटक कार्यक्रम बनाए तर अन्त्यमा गएर सबै क्यान्सिल गर्नुहुन्थ्यो । मधेश झर्ने आँट कहिले गर्नुभएन । प्रधानमन्त्री बनेको ठिक एक वर्षपछि भदौंमा उहाँ प्रदेशसभामा सम्बोधन गर्ने बहानामा जनकपुर पुग्नुभएको थियो । त्यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउनु भएको बेला पनि उहाँ त्यहाँ पुग्नुभएको थियो । तर जानकी मन्दिरभन्दा बाहिर कतै जानु भएन, किनभने उहाँ जनकपुर छिर्दा मधेशी युवाहरुले कालो झण्डा देखाउनु भएको थियो ।

उहाँलाई मधेशमा छिर्न नदिँदा उहाँले जानी जानी पार्टीको तर्फबाट मेची महाकाली अभियान सुरु गर्नुभयो । झापाबाट उहाँले सो कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । यद्यपी त्यो कार्यक्रम नगर्न सुरक्षा निकायदेखि लिएर अन्य संगठनहरुले पनि ओलीसलाई सुझाव दिएका थिए । यहाँसम्म कि मधेशवादी दलका केही नेताहरुले समेत सार्वजनिक रुपमा मेची महाकाली कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको थियो ।
तर ओलीले आफूले कुनै पनि हालतमा कार्यक्रम स्थगित नगर्ने अडानमा हुनुहुन्यो ।

ओलीको अभियान अगाडी बढ्यो । झापा र मोरगंसम्म ठिकै थियो । सुनसरीमा आएर मधेशवादी दलले अवरोध गर्न सुरु गर्यो । त्यहाँ झडप भयो । त्यहाँ पनि कार्यक्रमलाई अगाडी नबढाउन सुरक्षा निकायबाट आग्रह भइरहेको थियो । प्रधानमन्त्री अ‍ोलीले तैपनि कुरा मान्नु भएन । सप्तरीका लागि राजविराजमा नै कार्यक्रमको आयोजना गरेको थियो । सुरक्षा निकायको धेरै आग्रहपछि राजविराजबाट सप्तरीको औद्योगीक क्षेत्र मलेठमा २०७३ फागुन २३ का लागि कार्यक्रमलाई सार्यो ।

मधेशी मोर्चाका नेताहरुले त्यहाँ पनि कार्यक्रम नगर्न एमालेका नेताहरुलाई पटक पटक आग्रह गर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले मधेशी नेताहरुले भन्दैमा आफूले कार्यक्रम नरोक्ने प्रतिकृया दिनुभएको थियो । राजनीतिक गतिविधि पनि गर्न नपाउने ‘के मधेश भनेको मधेशी नेताहरुको विर्ता हो र’ भनि अभिव्यक्ति दिनु भएको थियो । कार्यक्रममा सुरक्षा अवस्था निकै कडा बनाइएको थियो ।

१२ सय सुरक्षाकर्मी खटाइएको थियो । प्रधानमन्त्री अ‍ोलीले सम्बोधन गर्न थालेपछि मधेशी युवाहरुले बाहिर नारावाजी गर्न थाले । बाहिर नारावाजीलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्यो । सो क्रममा गोली पनि चल्यो । सो गोलीबाट पाँचजना युवाको ज्यान गएको थियो । ओलीले मधेशी नेतालाई चुनौती दिनका लागि मेची काली अभियानको नामबाट मधेश छिर्नुभएको थियो तैपनि मधेशी नेताले त्यसलाई स्वीकार गर्नुभएको थिएन । ओलीले जवर्जस्ती गरेको कारण मलेठमा पाँचजनाको ज्यान गएको विभिन्न प्रतिवेदनहरुले देखाएको छ ।
त्यो घटनापछि एमालेको त्यो मेचीकाली अभियान नै स्थगित भएको थियो ।

रौ बाराबर सहयोग
माओवादीले ओली नेतृत्वको सरकार ढालेर काँग्रेससँग सरकार बनाएको थियो । प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रचण्ड प्रधानमन्त्री बनेपछि मधेशवादी दलको माग संवोधनका लागि संविधान संशोधनको प्रस्ताव तयार गरेका थिए । तर एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले मधेशवादी दलको माग राष्ट्र विखण्डन खालको हो त्यसमा आफ्नो दलले कुनै पनि हालतमा सहयोग गर्दैन । त्यसका लागि मधेशवादी दलसहित तत्कालिन प्रधानमन्त्री प्रचण्डले अ‍ोलीसँग धेरै पटक छलफल गरेका थिए तर अ‍ोलीले कुनै पनि हालतमा सहयोग नगर्ने स्पष्ट पार्नुभएको थियो ।

त्यसपछि आलोपालो सहमति भए अनुसार काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले पनि मधेशवादी दलको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव तयार गर्नुभयो । प्रस्ताव १२ बुँदामा तयार भएको थियो । कतिपय बुँदामा एमालेको असहमति थियो । त्यसलाई हटाएपछि समर्थन गर्ने एमालेले भनेको थियो । पछि नौवटा बुँदामा झार्यो । तैपनि एमालेका अध्यक्ष ओली सहमत हुनुभएन । उहाँले अन्तिममा भन्नुभयो, मधेशवादी दलका लागि संविधान संशोधनमा हाम्रोतर्फबाट रौं बराबरको पनि सहयोग हुँदैन ।’ त्यसपछि सो संशोधन प्रस्ताव संसदबाट फिर्ता भएको थियो ।

मन्त्री र राज्यमन्त्री बर्खास्त
२०७४ को चुनावपछि माओवादी र एमाले गठबन्धनको सरकार बन्यो, दुई तिहाई बहुमतको सरकारको प्रधानमन्त्री हुनुभयो ओली । त्यो सरकारलाई तत्कालिन राजपा र समाजवादी पार्टीले पनि सघाएको थियो । संविधान संशोधन गर्न प्रधानमन्त्री तयार भएपछि दुई बुँदे सम्झौता गरेर उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारमा गएको थियो भने राजपा नेपालले मौखिक सहमति गरेर बाहिरबाट समर्थन मात्र गरेको थियो ।

टीकापुर घटनामा मुछिएर थुनामा रहेका रेशम चौधरीलाई जन्म कैदको फैसला भएपछि राजपा नेपाल सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो । उता उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी सरकारमै थियो । सरकारमा रहेर पनि संविधान संशोधनका लागि पटक पटक प्रधानमन्त्री ओलीलाई दवाव दिइरहेका थिए । सरकारमा उपेन्द्र यादव र ओलीबीच राम्रो सम्बन्ध थिएन । सम्बन्ध विग्रेको कारण अ‍ोलीको चाहना थियो कि उपेन्द्र यादव सरकारबाट बाहिर जाओस् । तर उपेन्द्र यादव निस्कि रहनु भएको थिएन ।

२०७५ मंसिरमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनरर्गठन गरे । उपेन्द्र यादव मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुनका लागि दिल्लीमा हुनुहुन्थ्यो । उहाँलाई कुनै जानकारी नदिइकन स्वास्थ्य मन्त्रीबाट कानुन मन्त्रीमा सार्नुभएको थियो । यो कुराको जानकारी उहाँ दिल्लीमा रहेको बेला समाचारबाट थाह पाउनु भएको थियो । त्यति मात्र होइन, उपेन्द्र यादव नेतृत्वकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बन्नु भएका का डा.सुरेन्द्र यादव वीर अस्पतालमा उपचार गराइरहेका थिए । उहाँलाई कुनै जानकारी नै नदिइकन राज्यमन्त्रीबाट बर्खास्थ गरिएको थियो । उपेन्द्र यादव र सुरेन्द्र यादवका लागि यो निकै ठूलो अपमानजनक अवस्था थियो ।

गेटलस्ट
तत्कालिन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्रीबाट कानुन मन्त्रीमा सारेपछि उहाँ कानुन हैसियतमा काम गर्न थाल्नुभयो । उहाँले आफू कानुन मन्त्री भएर संविधान संशोधन गराउने त्यही भएर प्रधानमन्त्री ओलीले आफूलाई माया गरेर कानुन मन्त्री दिएको अभिव्यक्ति दिनु भएको थियो । । उहाँले २०७६ पुस ७ गते बसेको मन्त्रीपरिषद्को बैठकमा संविधान संशोधनका लागि अध्ययन गर्न विज्ञ समूह गठन गर्ने भनि प्रस्ताव लग्नु भएको थियो । सो प्रस्ताव हेर्दै नहेरी, पढदै नपढी ओलीले संविधान संशोधनको नाम सुन्ने वित्तिकै उपेन्द्र यादवलाई बैठकमै भन्नुभयो, ‘गेटलस्ट ।’

यति भनेपछि त्यसको भोलीपल्ट संसदीय दलको बैठकबाट सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट पनि राजिनामा दिनुभएको थियो ।

संसद अपहरण
गेटलस्ट भनेर पनि नपुगेपछि प्रधानमन्त्री अ‍ोलीले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई विभाजन गराउनका लागि उनले दल गठन सम्बन्धि अध्यादेश नै ल्याउनु भएको थियो । रेनु यादव, प्रदीप यादव, इस्तियाक राइनलगायतका सांसदहरुलाई ठिक पारेर काठमाडौंमा राख्नु भएको थियो । एकजना सांसद कम भइरहेको थियो । त्यसका लागि पूर्व आजीपी सर्वेन्द्रनाथ खनालसँग मिलेर एमालेका नेता महेश बस्ने, किसान श्रेष्ठले समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौको एक होटलमा राख्नु भएको थियो । यद्यपी डा.यादव सो होटलबाट भाग्न सफल हुनुभएको थियो ।

यता, अध्यादेशको आलोचना भएपछि ओलीले त्यसलाई फिर्ता पनि लिए उता, पार्टी विभाजन हुने डरले राजपा र समाजवादी पार्टीको बीचमा बैशाख १० गते मध्यराती एकीकरण पनि भयो ।

यसरी २०७० सालदेखि पटक पटक अ‍ोलीबाट अपमानित हुँदै आउनु भएका मधेशवादी दलका नेताहरुले पुनः उहाँसँगै जान चाहिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया