काठमाडौँ असार ९ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज वकिलहरुसँग छलफल गर्नुभएको छ । पार्टीको विवादलाई लिएर निर्वाचन आयोगमा कानुनी लडाई लडिरहनु भएका अध्यक्ष ठाकुरले आज केही वकिललाई बबरमहलमा बोलाएर छलफल गर्नुभएको छ ।
जसपाका अर्का अध्यक्ष पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष ठाकुरले त्यसको जवाफ दिनका लागि परामर्श थाल्नु भएको छ ।
निर्वाचन आयोगले पनि पत्र पठाएर १५ दिनभित्र आफ्नो सम्पूर्ण प्रमाणसहित निर्वाचन आयोगलाई जवाफ पठाउन भनेको छ । त्यही भएर परामर्शमा उहाँ लाग्नु भएको महन्थ ठाकुर पक्षका एक कार्यकारिणी सदस्यले बताउनुभयो ।
कुरा पुस ७ गतेमा अड्किएको छ । निर्वाचन आयोगले पुस ७ गते बसेको बैठकलाई मान्यता दियो भने कार्यकारिणी समितिमा महन्थ ठाकुरको बहुमत पुग्छ । जुन कार्यकारिणी समितिमा अध्यक्ष ठाकुरले आफ्ना २० जना राखेर उपेन्द्र यादव पक्षका २० जनालाई हटाउनु भएको छ । पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समितिलाई हेरफेर गर्ने तथा विस्तार गर्ने अधिकार आफूलाई दिएको आधारमा हेरफेर गरिएको दावी महन्थ ठाकुरले गर्नुभएको छ ।
त्यसलाई निर्वाचन आयोगले मन्यता दियो भने महन्थ ठाकुरको जित निश्चित हुने वकिलहरुको सुझाव रहेको बताइएको छ । यदि पुस ७ गतेको बैठकलाई मान्यता दिएन भने उपेन्द्र यादवको जित हुने वकिलहरुका धारणा थियो । त्यसको लागि महन्थ ठाकुरले भोली कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ ।


तपाईको प्रतिक्रिया