काठमाडौँ असार ९ गते । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समावादी पार्टी र जनमोर्चासम्मलित गठबन्धनले प्रतिगमनको विरुद्धमा संघर्षमा जाने निर्णय गरेको छ । त्यसका लागि पहिलो चरणमा जनपरिचालनका कार्यक्रम गर्ने निर्णय गरेको छ । आज साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।
संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रमअन्तर्गत भोली विहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्न लागेको हो । जनप्रदर्शनमा स्वास्थ्य मापदण्डलाई मान्यता दिइने निर्णय पनि भएको बताइएको छ ।
कोरोना महामारी कम हुँदै गइरहेको हुनाले प्रधानमन्त्री केपी शर्मा अोलीको कदम विरुद्ध आन्दोलनका कार्यक्रम तय गरिएको र यी कार्यक्रमहरुमा स्वास्थ्य मपदण्ड अपनाइने बताइएको छ । त्यसका साथै बाढी पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने निर्णय पनि गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा अन्तिम सुनुवाइ चलिरहेको बेला गठबन्धनले आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले दवाव दिनका लािग यो आन्दोलनका कार्यक्रम तय गरेको हो । प्रधानमन्त्री ओलीले बहुमतको सरकार चलाउन नसक्ने परिस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले दिएको २१ घण्टाको समय सीमाभित्र विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर दावी गरेको गरेको थियो । साथै ओलीले पनि दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले दुबै दाबीमा सरकार बहुमत पुग्ने आधार नदेखिएको भन्दै खारेज गरिदिनु भएको थियो ।
त्यसपछि विपक्षी गठबन्धनका १४६ सांसदले संसद पुनस्र्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । त्यसको बहस अदालतमा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया