जनकपुर असार ९ गते । कोदोको महत्व उच्च रहेपनि त्यसको प्रयोग र उत्पादन दुवै कम हुँदै गइरहेको छ । अहिले पनि समाजमा कोदोप्रति हेर्ने दृष्टिकोण सकारात्मक नरहेको कारण कोदो खेतीप्रति आकर्षण कम हुँदै गएको छ । कोदोलाई औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ, यो एकखालको आौषधी नै रहेको कुरा थाह नभएर किसानको आकर्षण त्यसप्रति घटेको हो ।
तीन दशकअघिसम्म धनुषाको ग्रामीण क्षेत्र विशेषगरी ढल्केवर, वटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायत दर्जनौं गाउँका अधिकांश कृषकले कोदो खेती गर्दथें । तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको छ । कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको राससको समाचारमा उल्लेख छ । कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ ।
पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका हुन् । अन्य बालीभन्दा स्वास्थ्यका लागि लाभदायक भए पनि अहिले धनुषाको सीमित गाउँमा मात्र यसको खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् ।
तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको कृषकको भनाइ छ । “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदो खेती विस्थापित भएको छ”, मिथिला नगरपालिका–६ ढल्केवरका कृषक दानबहादुर खड्काले भन्नुभयोे, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन बढ्नै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ ।” वटेश्वरका कृषक रामप्रसाद भण्डारीले गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहरबजारतिर खोजी खोजी खान थालिएको बताउनुभयो । “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ”, उहाँले भन्नुभयो, “अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको छ ।”
धान, गहुँ र मकैजस्तै कोदोलाई कृषकले महत्व नदिएका कारण लोप हुँदै गएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाको भनाइ छ । उहाँका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भए पनि सफल हुन सकेको छैन । कोदोको माग धेरै भएपनि खेती गर्ने कृषक नभएपछि माग अनुसार आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।
औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हँुदै गएको मिथिला नगरपालिका पुष्पवलपुरका कृषक गङ्गा महतोले बताउनुभयो । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भए पनि पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको क्षीरेश्वरनाथ नगरपालिका— ८ दिगम्बरपुरका किसान राजेश महतोको भनाइ छ ।
स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको जेटिए ममता बलम्पाकीले बताउनुभयो । उहाँले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताउनुभयो । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।
दुई दशक अघिसम्म गाउँका सबै खेतबारीमा कोदो हुन्थ्यो तर, आजभोलि सबै हराए पुष्पवलपुरका कृषक श्याम गोलेले खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोदो खेतीभन्दा पनि कृषकले हिजोआज बाख्रापालन, तरकारीलगायत नगदेबाली, फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।” पुष्पवलपुर, भरतपुर, दिगम्बरपुरलगायतका गाउँमा धेरै कृषकले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागत रूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २० भन्दा बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो ।
वटेश्वर गाउँपालिका ५ शान्तिपुरका कृषक अमर बहादुर थिङ्गले पहिलेपहिले ५ मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउनुभयो । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुई चार पैसा पनि हुन्थ्यो । अहिले त कोदो लगाउने जमीन बाँझिन थालेको छ”, उहाँले भन्नुभयो । “कोदोको मूल्य अति न्यून हुने र यो अन्नलाई पहिलेदेखि गरिब खानाको रुपमा लिइने हुँदा यसलाई कुअन्न भन्ने चलन थियो”, क्षीरेश्वरनाथ नगपालिका— ३ पकडियाका कृषक रामनारायण सिंहले भन्नुभयोे, “बजारमा पनि यसको मूल्य अन्य अन्नको तुलनामा न्यून छ । त्यसैले आजभोलि यो बाली लगाउने किसानको सङ्ख्या न्यून हुँदै गएको छ ।” कोदोमा अन्य धेरै विषेशता होलान् तर मानिसहरु यो खाना दुःखी र गरिबले खाने भन्ने भनाइ छ । त्यसैले यसलाई उपभोग गर्नेलाई अपमानित गरिन्छ । उच्च खानदानीमा पाहुनालाई कोदोको परिकार दिइँदैन्थ्यो र अझै पनि दिइँदैन ।
परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । शहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाका लागि सबैभन्दा उत्तम मानिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका वरिष्ठ अहेव अशोक साहले कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो बाली भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।’
कोदोमा ट्रिस्टोफेन नामक एमिनो एसिडले गर्दा यसको पाचनप्रणाली ढिलो हुनेहुँदा लामो समय नखाँदा पनि हुन्छ । यसबाट हाम्रो शरीरको तौल यथावत राख्न मद्दत गर्छ । कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्रकृतिक क्याल्सियमले गर्दा हाड मजबूत बन्न मद्दत पुग्छ । कोदोलाई क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रुपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि यो राम्रो खानाको रुपमा लिइन्छ ।
कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।
Q 1. धर्के तथा गुलावी गबारो कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
गवारो लाग्ने क्षेत्रमा बीउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने । साथै डेल्टामेथ्रीन २ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ ।
Q 2. खुम्रे कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
मालाथियन धुलो २० किलो प्रति हेक्टरका दरले बीउ रोप्नु अगावै माटोमा मिसाउने जसले गर्दा खुम्रे कीराको प्रकोपलाई व्यवस्थापन गर्नु पर्दछ ।
Q 3. रिठ्ठे कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
मलाथियन धुलो २० किलो प्रति हेक्टरका दरले बीउ रोप्नु अगावै माटोमा मिसाउनाले रिठ्ठे कीराको ब्यवस्थापन गर्न सकिन्छ ।
Q 4. बेर्नाको डढुवा रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
म्यान्कोजेब वा जिनेब २.५ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्दछ । वा २.५ ग्राम थिरामले प्रति किलो गा्रम बीउ उपचार गर्ने ।
Q 5. कोदोमा पातको थोप्ले रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
बाला निस्कने बेलामा म्यान्कोजेब ३ ग्राम प्रति लिटर पानीमा मिसाइ १० दिनको फरकमा २ पटक पुरै बोट भिज्ने गरी छर्कनुपर्दछ ।
Q 6. कोदोको उत्पादन सरदर कति होला ?
कोदो दानामा कीराले आक्रामण गर्न नसक्ने भएकोले, ३˗४ घाम सुकाइ चिस्यान प्रतिशतमा ल्याई, सुख्खा ठाउँमा थन्क्याउनु पर्दछ ।
Q 8. कोदो बाली कहिले सम्मा पाक्दछ ?
जात र लगाएको ठाउँ अनुसार बीउ राखेको १२०˗२०० दिन सम्ममा पाक्दछ । पहाडमा धेरैजसो कार्तिक १५ देखि मंसिर १५ सम्ममा पाक्दछ ।
Q 9. कोदो बालीमा सिंचाई कहिले कहिले गर्नु पर्दछ ?
वर्षे पानीको भरमा खेती गर्ने भएकोले यसलाई सिंचाई दिने चलन छैन तर, पानी जमेमा बोट पहेलो भई बृद्धि नहुने हुनाले पानीको निकासको ब्यवस्था राम्रो हुनुपर्दछ।
Q 10. कोदो खेतीको लागि मलखादको मात्रा कति प्रयोग गर्नुपर्दछ ?
के.जी. प्रति रोपनीः
|
डि.ए.पी. |
यूरिया |
पोटास |
गोबर मल |
|
1.08 |
1.74 |
0.8 |
500 |
Q 11. कोदोको बेर्ना सार्दा कति उमेरको हुनुपर्छ ?
उच्च पहाडी क्षेत्रमा सात हप्ता, मध्य पहाडी क्षेत्रमा ४˗५ हप्ताको र तराई तथा भित्री मधेशमा ३˗४ हप्ताको बेर्ना सार्नु पर्दछ ।
Q 12. कोदो लगाउने उपयुक्त समय कहिले हो ?
तराई, बेसी र टारमा मकै भाचेपछि श्रावणको मध्य देखि भाद्र मध्यसम्म र ३२२५˗५००० फिटसम्म आषाढ मध्यदेखि श्रावण मध्यसम्म र ५००० फिटभन्दा माथि आषाढ महिनाभित्रमा लगाउनु राम्रो हुन्छ ।
Q 13. कोदोको बीउ दर कति हो ?
साधारणतया एक हेक्टरको लागि ८ देखि १० किलो ग्राम बीउ चाहिन्छ । बेर्ना सारेर गर्दा ४ किलो ग्राम बीउ एक हेक्टरको लागि पुग्ने गरी बेर्ना उमार्न पुग्छ ।
Q 14. कोदोको बीउलाई उपचार के ले गर्ने ?
२.५ ग्राम थिरामले प्रति किलो ग्राम बीउ उपचार गर्ने ।
Q 15. कोदोको ब्याड कहिले राख्ने ?
ब्याड राख्दा मध्य पहाडको लागि बेर्ना सार्नु भन्दा १.५ महिना र बेसी तथा टारको लागि १ महिना अगाडि राख्नु उपयुक्त हुन्छ ।
Q 16. भित्री मधेश, तराई र मध्य पहाडको लागि उपयुक्त कोदोको जात कुन हो ?
डल्ले १ भित्री मधेश, तराई र मध्य पहाडका लागि सिफारिश गरिएको जात हो ।
Q 17. मध्य पहाडको लागि उपयुक्त सिफारिश कोदोका जातहरु कुन कुन हुन् ?
डल्ले १, काब्रे कोदो १ मध्य पहाडको लागि सिफारिश गरिएको जात हो ।
Q 18. मध्य तथा उच्च पहाडको लागि उपयुक्त सिफारिश कोदोका जातहरु कुन कुन हुन् ?
ओख्ले १ कोदोको जात मध्य तथा उच्च पहाडको लागि सिफारिश गरिएको जात हो ।
Q 19. कोदो कस्तो माटोमा उपयुक्त हुन्छ ?
पानी नजम्ने र बलौटे दोमट माटो राम्रो हुन्छ । साथै अम्लिय माटो देखि धेरै नुनिलो माटोमा पनि खेती गर्न सकिन्छ ।
Q 20. कोदो कस्तो हावापानीमा हुन्छ ?
कोदो समशितोष्ण हावा पानीमा हुने बाली हो । यसले सुख्खा सहन सक्दछ । यसको लागि औषत अधिकतम तापक्रम २७ र न्यूनतम १८ डि.से. उपयुक्त मानिन्छ। वार्षिक वर्षा ३५० देखि १००० मि.मि. सम्म हुने ठाउँमा यसको वृद्धि राम्रो हुन्छ।
Q 21. कोदोमा पौष्टिक तत्व के कति हुन्छ ?
कार्बोहाइड्रेट : ७६.३२ प्रतिशत, चिल्लो पदार्थ : १.३ प्रतिशत, प्रोटिन : ९.२ प्रतिशत, खनिज पदार्थ : ६.१ प्रतिशत ।
Q 22. कोदोको नल के कसरी प्रयोग गर्न सकिन्छ ?
जनावरहरुलाइ पौष्टिक आहाराको रुपमा कोदोको नल प्रयोग गर्न सकिन्छ।
Q 23. कोदोको दानाको प्रयोग के कसरी गर्न सकिन्छ ?
रोटी, ढिडो साथै जाँड तथा रक्सी जस्ता खाद्य पदार्थ बनाउन कोदोको प्रयोग गरिन्छ।


तपाईको प्रतिक्रिया