Khadya Bibhag

छोराको विदेश कमाइभन्दा बुवाको टमाटर खेती उत्तम

बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउका दुई जना छोरा सात लाख रुपियाँ ऋण लिएर विदेश जानुभयो । त्यो ऋण तिर्न उहाँका छोराहरुलाई सात वर्ष लाग्यो । तर वीरेन्द्रले सात लाख ऋण लिएर टमाटार खेती गरेर त्यो ऋण आफैले दुई महिनामै तिर्नुभयो । उहाँले भन्नुभयो, ‘दुई महिनामै टमाटर बिक्री गरेर म आफ्नो सबै ऋण तिरीसकेँ, तर मेरा छोराहरुले ऋण अझै तिर्दैछन् ।”
वैदेशिक रोजगारीको कमाइ र स्वदेशमै गरिएको कृषि व्यवसायी बिच कति अन्तर रहेको छ भने वीरेन्द्र मराउको कुराले पुष्टि हुन्छ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आउनु भएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ । वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गर्नुभएको छ । उहाँका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उहाँले भन्नुभयो, “तर बजार राम्रो भयो भने दुई–तीन महिनामै लगानी उठ्छ ।”
मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न सुरु गर्नुभएका वीरेन्द्रले हालसम्म करिब एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपियाँभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । “अझै हजार क्विन्टलभन्दा बढी टमाटर टिप्न बाँकी छ,” उहाँले भन्नुभयो, “सबै बिक्री भयो भने यो वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुन्छ ।” यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपियाँसम्म पुगेकाले किसानलाई ठूलो राहत पुगेको छ । “भाउ राम्रो हुँदा किसानको मेहनतको मूल्य पाइएको महसुस हुन्छ,” वीरेन्द्रले भन्नुभयो । उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ । वीरेन्द्रका अनुसार टमाटरखेती कुनै नयाँ पेसा होइन । “२०३६ सालदेखि बुबाले टमाटरखेती गर्दै आउनुभएको थियो । बुबाले परम्परागत तरिकाले टमाटरखेती गरेर नै तीन पुस्ताको परिवार चलाउनुभयो,” उहाँले भन्नुभयो, “अब समय परम्परा खेती गर्ने समय रहेन । त्यसैले मेले यो खेती गर्न सुरु गरेदेखि नै आधुनिक प्रविधिबाट गर्दै आइरहेको छु ।”
गत वर्ष पनि वीरेन्द्रले पाँच लाख १० हजार रुपियाँ ऋण लिएर टमाटरखेती गर्नुभएको थियो । भदौमा लिएको ऋण दुई महिनामै तिर्नुभयो । टमाटरखेतीबाट भएको नाफाले उहाँले टमाटर ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गर्नुभएको छ । उहाँले दैनिक ज्यालामा काम पाउँदा गाउँकै मानिसलाई रोजगारी पनि दिनुभएको छ । सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको छ । सरकारले मल्चिङ सामग्री र खेत जोत्नका लागि रोटाभेटर उपलब्ध भए लागत अझै घट्ने उहाँको बुझाइ छ । वीरेन्द्रले सरकारको अनुदान सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने बताउनुहुन्छ । आफ्ना छोराहरु विदेश गएको सन्दर्भमा उहाँ भावुक हुँदै भन्नुहुन्छ, “नेपालमा केही गर्न सकिँदैन भनेर उनीहरु गए । तर किन सकिँदैन ? गरे आफ्नै नेपालमा, आफ्नै खेतबारीमा सुन फलाउन सकिन्छ ।”

तपाईको प्रतिक्रिया