Khadya Bibhag

शिक्षक पनि, कृषक पनि

कलम र कोदालो दुवै सम्हाल्दै अघि बढिरहनुभएका शिक्षक सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषि कर्मलाई सम्मानजनक र सम्भावनायुक्त पेसाका रूपमा परिभाषित गर्नुभएको छ । उहाँ कक्षकोठा बाहेक बिहान–साँझ खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई पनि आत्मसात् गर्नुभएको छ । कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र फुर्सदको समय खेतबारीमा बिताउने उहाँको दैनिकी भएको छ ।
सार्वजनिक बिदाका दिन तथा बिहान बेलुकाको समय समय सदुपयोग गर्दै कृषिबाट राम्रो आम्दानी गरिरहेको उहाँले जानकारी दिनुभयो । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ बोगडी बस्ने यादव युवा उमेरमा नै जिम्मेवार शिक्षक मात्र होइन, नयाँ सोच भएका मिहिनेती कृषकका रूपमा समेत चिनिन थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “विदेश गएर अर्काको भूमिमा काम गर्नुभन्दा आफ्नै देशकै माटोमा पसिना बगाएर उत्पादनमा लाग्नु नै उपयुक्त लाग्छ । आफ्नै खेतमा फलफूल र तरकारी उत्पादन गरी स्वदेशमै मात्र होइन, विदेशसम्म पठाउन सकिन्छ । लाखौँ रकम खर्चेर विदेशिनुभन्दा त्यो रकम नेपालमै लगानी गरी कृषि पेसामा लागेर आफ्नै परिवारसँगै बस्न पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।”
कृषि कार्यलाई सहज बनाउन उहाँले प्रयोग गर्नुभएको मिनी (हाते) ट्याक्टर उहाँका लागि प्रविधि र श्रमको मिलन बनेको छ । केराखेती गोडमेल गर्न करिब १० हजार रुपियाँ ज्याला खर्चिनुपर्नेमा मिनी ट्याक्टर प्रयोग गर्दा करिब ३०० रुपियाँ बराबरको इन्धन खर्चमै काम सम्पन्न भएको उहाँ बताउनुहुन्छ । यसले समय र पैसाको दुवै बचत गरिदिएको यादवको भनाइ छ । हाल यादवले करिब पाँच कट्ठामा काउली, आठ कट्ठामा टमाटर र करिब दुई बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । धनियाँ, साग, खुर्सानीजस्ता तरकारी पनि नियमित रुपमा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । कृषिबाट वार्षिक दुई लाख ५० हजार बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सरकारले कृषि क्षेत्रलाई विद्युतीकरण गर्न सके ‘अन्नभण्डार’ का रुपमा चिनिने मर्चवार क्षेत्रमा उत्पादन हुने सागसब्जी नेपालभरि मात्र नभई विदेशसम्म पनि निर्यात गर्न सकिने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया