Khadya Bibhag

निषेधज्ञाको क्रममा प्रहरीद्वारा २४४२ गाडी नियन्त्रणमा, १३६०० रुपियाँ जरिवाना

काठमाडौं, असार १० गते । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ७५४ वटा गाडी र १ हजार ६८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २७२ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५८ हजार ६५१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १११ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १३ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ३०५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५९ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १३६ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

तपाईको प्रतिक्रिया