काठमाडौँ असार २४–अन्ततः प्रधानमन्त्री केपी शर्मा अोलीले मधेशमा जे चाहनु भएको थियो त्यही भयो । उहाँले सुरुदेखि मधेशको शक्ति कमजोर गर्न चाहनु भएको थियो र उहाँ त्यस मिसनमा सफल हुनुभयो । मधेश कमजोर भएपछि त्यहाँको मुद्दा पनि कमजोर हुन्छ भने कुरा प्रधानमन्त्री ओलीलाई राम्रोसँग थाह थियो ।
र, सुरुदेखि उहाँ त्यही मिसनमा लाग्नु भएको थियो । मधेशवादी दल शक्तिशाली होस् भने चाहना कहिले थिएन । उहाँले पटक पटक मधेशलाई फुटाउन चाहनु भएको थियो र आज त्यो मिसनमा सफल भएको मधेशमा चर्चा भइरहेको छ । उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्दा उपेन्द्र यादवलाई काँखी च्याप्नु भएको थियो, महन्थ ठाकुरहरुलाई महत्व दिइरहनु भएको थिएन ।
उपेन्द्र यादवलाई महत्व दिएर सरकारमा पनि लग्नुभयो । तर जब उहाँले सरकारमा मधेशको माग पुरा हुनुपर्छ भनि पटक पटक कुरा राख्नुभएको थियो । त्यसबाट दिक्क भएर ओलीले उपेन्द्र यादवसँग खटपटक सुरु गर्नुभयो र सरकारबाट बाहिर निकाल्नुभयो । उहाँलाई सरकारबाट बाहिर निकाल्ने वित्तिकै महन्थ ठाकुरहरुसँग सम्बन्ध बनाउनुभयो । उहाँले महन्थ ठाकुर र राजेन्द्र महतोलाई दिनहुँ जस्तो बालुवाटारमा बोलाएर छलफल गर्न थाल्नुभयो ।
यतिसम्म कि महन्थ ठाकुर र राजेन्द्र महतोसँग बालुवाटारमा छलफल गरिरहँदा अोलीले भित्रभित्रै उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन गर्न षड्यन्त्र गरिरहनु भएको थियो जुन कुराबाट राजेन्द्र महतो र महन्थ ठाकुर अनभिज्ञ हुनुहुन्थ्यो । राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याएर उहाँले तत्कालिन समाजवादी पार्टी विभाजन गर्न थाल्नुभयो । त्यसका लागि पुरै तयारी गर्नुभएको थियो, यहाँसम्म कि समाजवादी पार्टी विभाजनका लागि उहाँले पुरै शक्ति लगाउनु भएको थियो ।
पार्टी फुट्नै लागेको थियो अनि उपेन्द्र यादवले हतार हतार महन्थ ठाकुरसँग मिलेर रातारात पार्टी एकीकरण गरेर जसपा नेपाल बनाउनुभयो । जसपा बनाउनका लागि महन्थ ठाकुरहरुको जुनसुकै सर्त मान्न तयार हुनुभएको थियो उपेन्द्र यादव । एक हिसाबले भन्ने हो भने महन्थ ठाकुरहरुले नै ओलीको प्रहारबाट उपेन्द्र यादवलाई बचाउनु भएको थियो ।
जसपा बनेपछि मधेशमा एउटा शक्ति निर्माण भएको थियो । त्यो शक्ति निर्माण भएपछि ओली पुनः झस्किनु भयो । त्यसपछि यो शक्तिलाई कमजोर गर्नका लागि उहाँले महन्थ ठाकुर र राजेन्द्र महतोलाई विश्वासमा लिनुभयो । दिनदिनै बालुवाटार बोलाएर आफूले मधेशको सबै माग पुरा गरि दिने, तपाईहरु अब कतै जानुपर्दैन कुनै चिन्ता लिनुपर्दैन भनि उहाँहरुलाई फकाएर आफ्नो साथमा राख्नुभयो । केही थान मुद्दा फिर्ता पनि गर्नुभयो । त्यसले गर्दै महन्थ ठाकुरहरुको विश्वास झन जित्नुभयो । त्यसपछि अोलीले संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल पनि गठन भयो जुन कार्यदल गठनका लागि उपेन्द्र यादवले पनि सरकारमा रहेको बेलामा भन्नुभएको थियो तर अोलीले त्यतिबेला उपेन्द्र यादवको कुरा सुन्न पनि तयार हुनुभएको थिएन ।
संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि महन्थ ठाकुरहरुले झन उहाँमाथि विश्वास गर्न थाल्नुभयो । ओलीप्रति यस्तो विश्वास गर्न थाल्नुभयो कि अोलीलाई छाडेर कतै नजानेसम्मको स्थिति बन्यो । प्रधानमन्त्री अोलीले महन्थ ठाकुरहरुलाई साथमा लिएर संविधान विपरित कार्यहरु गर्न थाल्नुभयो । अध्यादेश ल्याएर एकपछि अर्को कदमहरु चाल्न थाल्नु भयो यहाँसम्म कि उहाँले संसद नै विघटन गर्नुभयो । दोस्रोपटक संसद विघटन गर्दा महन्थ ठाकुरहरुले खुलेर साथ दिनुभयो जसले गर्दा जसपामा नै विवाद उत्पन्न भयो ।
विवाद बढ्दै गयो, उपेन्द्र यादवहरुले प्रचण्डलाई समर्थन गर्न भन्न थाल्नुभयो भने महन्थहरु ओलीलाई समर्थन गर्ने अवस्था आयो । पार्टी दुईतिर विभाजित भयो, जुन कुरा अोलीले चाहनु भएको थियो । अहिले ओलीले महन्थ ठाकुरलाई भाव दिन छाडि सक्नु भएको छ । किनभने उहाँको मिसन सफल भएको छ । अब संसद पुर्नस्थापना भएपछि महन्थ ठाकुरको आवश्यकता हुन्छ त्यतिबेला देखा जाएगा तर अहिले महन्थ ठाकुरहरुसँग गर्नुभएको प्रतिवद्धता विर्सनुभएको छ ।
जसपा औचारिक रुपमा विभाजन भएको छ । त्यसको मुद्दा निर्वाचन आयोगमा चलिरहेको छ । यसमा अोलीको जित भएको जसपाको हार भएको छ ।
-फोटो गुगलबाट


तपाईको प्रतिक्रिया