नेपालको मालबाहक रेलले भारतको रेल सञ्जाल प्रयोग गर्न पाउने

काठमाडौँ असार २५–नेपालका मालवाहक रेल सेवाका लागि भारतका रेल सञ्जाल प्रयोग गर्ने पाउने भएको छ । तेस्रो मुलुकबाट नेपालका आउने मालसमान पनि भारतको रेलमार्ग प्रयोग गरेर नेपालसम्म ल्याउने सम्झौता भएको बताइएको छ ।

आज नेपालभारत बीच भएको सम्झौता अनुसार भारत र नेपालबीच ओसारपोसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने भएको छ । सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी बोकेको रेल, विशेष मालसामान बोकेका रेल, वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरुले नेपाल आउने कन्टेनरहरु भारत रेल सञ्जाल प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख छ ।

मापदण्ड र प्रक्रिया अनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका माल डिब्बाहरुले भारतीय रेल सञ्जालमा (कलकत्ता÷हल्दियादेखि विराटनगर÷वीरगंज रुटहरुमा) नेपाल आउने मालसामानहरु बोक्न पाउने भएको छ ।

‘छिमेकी पहिलो’ नीति अन्तर्गत क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्न भारतका थुप्रै प्रयासहरुमध्ये यो अर्को एउटा प्रयास भएका नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

आज एक भर्चुअल समारोहका बीच कूटनैतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको पत्र आदानप्रदान भयो । भारतका तर्फबाट सो समारोहको नेतृत्व भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य सञ्जय कुमार मोहांतीले गरेका थिए भने नेपालको तर्फबाट समारोहको नेतृत्व नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका थिए ।

सो समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालय उत्तरी प्रभागका सह सचिव अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सह सचिव तीर्थराज वाग्ले उपस्थित थिए ।

तपाईको प्रतिक्रिया