Khadya Bibhag

पहाडमा विद्यापतिको सालिक !

काठमाडौँ २७ गते । नेपाल–भारतको मिथिला क्षेत्रमा महाकवीको रुपमा परिचित विद्यापतिको सालिक पहाडमा पनि बन्न लागेको हो । सायद यसरी तराई मधेशका विभुतीको सालिक पहाडमा बनाउने यो पहिलो कार्य हो । यसरी कुनै पनि मधेशी विभुती वा अन्यको कुनै सालिक पहाडमा बनेको थिएन यसको सुरुवात इलामबाट सुरु भएको छ ।

इलामस्थित सूर्योदय नगरपालिकाको पहलमा निर्माण गरिएको महाकवि विद्यापतिको सालिक लगभग अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिका– १२ स्थित कर्फोक माध्यमिक विद्यालय नजिकै विद्यापतिको ठूलो कदको सालिक निर्माण हुँदैछ । यसरी पहाडमा हुने विद्यापतिको सालिक निर्माणले पहाड–मधेशको सम्बन्धमा सकारात्मक सन्देश दिएको छ । यसले सांस्कृतिक सद्भाव बढाउन सहयोग पुग्ने अपेक्षा त्यहाँका नगरवासीले गरेको छ । अबको एक हप्तामा सालिक निर्माण भइसक्ने बताइएको छ ।

इलाममा यसरी विद्यापतिको सालिक निर्मणको जस एमालेका नेता योगेश भट्टराईलाई जान्छ । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको बेला यो योजना बनाउनु भएको थियो । त्यसका लागि २० लाख रुपैयाँ छुट्याउनु भएको थियो ।

नेपाल पत्रकार महासंघ धनुषाद्वारा आयोजित कार्यक्रममा उहाँले पहाडी जिल्लाहरू विद्यापतिको सालिक बनाउने घोषणा गर्नुभएको थियो । र, उहाँले घोषणा मात्र गर्नुभएको थिएन, त्यहाँबाट फर्किने बित्तिकै त्यो कामलाई अगाडि पनि बढाउनु भयो ।

तत्कालिन पर्यटन मन्त्री भट्टराई आफ्नो गृहजिल्ला ताप्लेजुङ जाने क्रममा सूर्योदय नगरपालिका पुगेर विद्यापतिको सालिक बनाउने प्रस्ताव गर्नुभएको थियो । २००९ सालमा राष्ट्रिय कवि सम्मेलन भएको ठाउँमा नै विद्यापतिको सालिक बनाउने योजना त्यही बन्यो र योजनालाई तत्कालै अगाडि बढाउने कुरा भयो । विद्यापतिको बारेमा अध्ययन गर्नका लागि नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईको नेतृत्वमा एउटा टोली जनकपुरलगायतका ठाउँमा पुगेर अध्ययन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया