Khadya Bibhag

अन्ततः रेशम चौधरीले पनि छाड्नुभयो राजेन्द्र महतोको साथ

काठमाडौँ साउन १३ गते । टिकापुर घटनामा दोषी ठहराई जेलमा राखिएका रेशम चौधरीले पनि महन्थ ठाकुर पक्षको साथ छाडेको छ । उहाँले आज आफू जनता समाजवादी पार्टी नेपालमा नै रहने स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगले गराएको हेडकाउन्टमा रेशम चौधरी तटस्थ बसेपछि जसपा नेपाल उहाँको बारेमा स्पष्ट थियो । हिजो बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेपछि रेशम चौधरीको नाम पनि छुटेको थियो ।

त्यसपछि चौधरीलाई पनि जसपाले कारवाही गरेको समाचारहरु आउन थालेपछि जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले चौधरीको नाम कार्यकारिाण्ी समितिमा अनुमोदन गरेको सो पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताउनुभयो । अब जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय हुने भएको छ । जेलमा रहेका चौधरीसँग फोनमा कुरा गरेर खतिवडाले पार्टीमा आफ्नो आवद्धता स्पष्ट पार्न आग्रह गरेपछि उहाँले आफू जसपामा रहेको स्पष्ट पार्नुभएको थियो ।

रेशम चौधरी राजेन्द्र महतो पक्षका नेता हुनुहुन्छ । राजपामा राजेन्द्र महतोको पक्षबाट सामेल हुनुभएको थियो । जसपामा पनि रेशमलाई राजेन्द्र महतोको पक्षधरमा काउन्ट हुन्थ्यो । अन्ततः आज उहाँले पनि महतोको साथ छाड्नु भएको छ ।
यसअघि महतोका साथमा रहेका सम्पूर्ण शीर्ष नेता तथा सांसदले साथ छाडि सक्नु भएको छ । उहाँ पार्टीमा अहिले एक्लिदै जानु भएको छ ।

तपाईको प्रतिक्रिया