Khadya Bibhag

जसपाको आधिकारिता विवादमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ साउन २० गते ।सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा प्रारम्भिक सुुनुवाइपछि १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

“बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षी आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु”, आदेशमा भनिएको छ । जसपाको विवादसम्बन्धी अन्य मुद्दा पनि सँगै राखेर पेस गर्न पनि इजलासले भनेको छ । साउन ११ गते आयोगले जसपाको आधिकारिकता यादवलाई दिएको थियो ।

केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यले यादवको पक्षमा सनाखत गरेपछि आयोगले उक्त निर्णय लिएको थियो । आयोगको निर्णय कानूनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । आयोगको निर्णयले आफूलाई आघात पुगेको पनि उहाँको निवेदनमा उल्लेख छ । आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन हुने भन्दै उहाँले बदर गर्न अन्तरिम आदेश माग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया