Khadya Bibhag

जसपा महन्थ ठाकुर पक्ष द्धारा अध्यादेशको स्वागत, नयाँ पार्टी दर्ता गर्ने गृहकार्यमा

काठमाडौँ भदौ १ गते । जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य एवं सांसद लक्ष्मणलाल कर्णले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा लागेको बताउनु भएको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उहाले यस्तो कुरा बताउनु भएको हो । उहाँले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गरिने जानकारी दिनुभयो । उहाँले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा स्वागतसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधानसम्म काम हो । संविधानले यो अधिकार दिएको छ । अहिले मैले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें, यदि आएको हो भने संविधानसम्मत् हो । प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै, कहीँ थोरै भएपनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु, यसमा पनि समस्या छन् । यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौं । निर्वाचन आयोगले उपेन्द्र यदावको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन् । तर, निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं ।’

उहाँले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जहाँसुकै भएपनि सरकारको यो प्रथम कर्तव्य हो, त्यसको उद्धार र राहत गर्ने दायित्व हो । असामान्य अवस्था उत्पन्न भयो भने सरकारले विशेष कदम चाल्नुपर्छ । अफगानिस्तानमा अहिलेको अवस्था असामान्य छ, यो कारणले विभिन्न मुलुकका नागरिक त्यहाँ बसिररहेका छन्, ती देशले आ–आफ्नो नागरिकलाई बचाउने र राहत दिने काम सुरु गरेका छन् । हाम्रो सरकारले पनि प्राथमिकता दिनुपर्छ ।’

अफगानिस्तानबाट आजमात्रै सयौंको संख्यामा उद्धार गरेर ल्याईएको तथ्यांक सुनेको उल्लेख गर्दै उहाँले अझै त्यहाँ रहेकाहरुलाई पनि उद्धार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेस्क्यु हुन धेरै बाँकी छन् । सरकारले तत्काल कुन अवस्थामा र कहाँ के छ ? दूतावासमार्फत पहिले तथ्यांक जारी गर्नुपर्छ । हाम्रो नागरिक कुन अवस्थामा छन् ? कहिलेसम्म रेस्क्यु हुन्छ भनेर तुरुन्तै जानकारी दिनुपर्छ । यो सरकारको दायित्व र कर्तव्य पनि हो । विभिन्न कामले अफगानमा रहेका नेपालीहरुलाई अविलम्ब उद्धार गर्नुपर्छ । यो आवश्यकत्ता हो । म र मेरो पार्टीको धारणा पनि यही हो । यसमा सरकार लाग्नुपर्छ ।’

 

तपाईको प्रतिक्रिया