Khadya Bibhag

अब नयाँ दल किन ? (सम्पादकीय)

तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी) ले एउटा नयाँ राजनीतिक दल बनाउने घोषणा गरेको छ । गठन हुने नयाँ राजनीतिक दल टीएमएनसीको मातहत रहने भनिएको छ । जसरी भारतका कट्टर हिन्दुवादी संस्था राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) ले भारतीय जनता पार्टी गठन गरेको छ, सोही मोडेलमा टीएमएनसीले पनि एउटा नयाँ पार्टी गठन गर्ने घोषणा गरेको छ । टीएमएनसी मधेशको हरेक मुद्दामा अवाज उठाउँदै संघर्ष गर्दै आएको संस्था हो ।

पछिल्लो समय मधेशको हक अधिकारका लागि स्वतन्त्र रुपमा अवाज उठाउने एक मात्र संस्था टीएमएनसी मात्र हो । मधेशमाथी कुनै प्रकारको अन्याय भएको होस् टीएमएनसी अवाज उठाउँथ्यो । अरु केही नभए पनि माइतीघरमा गएर प्लेकार्ड प्रदर्शन गरेर सांकेत विरोध आवश्य गथ्र्यो । त्यसका लागि टीएमएनसीलाई सबैखालको व्यक्तिको सहयोग र साथ थियो ।

चाहे पार्टीको कुनै नेता होस्, वा बुद्धिजीवी होस्, पत्रकार होस्, वा वकिल होस् हरेक तप्काका व्यक्तिले साथ दिँदै आइरहेका थिए । छोटोमा भन्ने हो भने मधेशको एउटा आशा र भारोसाको केन्द्र बन्दै थियो टिएमएनसी । तर जबदेखि पार्टी गठन गर्ने घोषणा गरेको छ त्यसले मधेशमा एउटा निराशा उत्पन्न गराएको छ । मधेशको बारेमा सडकमा बोल्ने एक मात्र संस्था त्यो पनि राजनीतिक दल गठन गर्नमा लागेको छ भने अब हाम्रो बारेमा स्वतन्त्र रुपमा बोल्दिने को हुन्छ भनि मधेशमा टिका टिप्पणी सुरु भएको छ । यद्यपी टीएमएनसीका पदाधिकारीले पटकपटक स्पष्ट पार्दै आएका छन् कि हामी जस्तो थियौं, जुन मोडेलमा काम गरिरहेका थियौं, जेका लागि काम गरिरहेका थियौं त्यो काम हामी गरि नै रहन्छौं, खाली हाम्रो मातहत एउटा छुट्टै राजनीतिक दल मात्र रहनेछ ।

तर टीएमएनसीले एउटा राजनीतिक दल गठन गर्ने वित्तिकै त्यसको महत्व आफै घटेर जान्छ । टीएमएनसी कुनै पनि हालतमा स्वतन्त्र रहनेछैन । उसलाई कसैले स्वतन्त्र संगठन भन्ने छैन । राजनीतिक दल दर्ता हुने वित्तिकै एउटा राजनीतिक दलको ट्याग लाग्नेछ । टीएमएनसी आफूलाई जतिसुकै स्वतन्त्र भनेपनि त्यतिबेला मधेशका जनताले त्यसलाई स्वतन्त्र संस्थाको रुपमा स्वीकार गर्नेछैन । माइतीघरमा टीएमएनसीले एउटा प्लेकार्डले लिएर उभिने वित्तिकै भनिहाल्छ उह ! फालानो पार्टीको विरोध कार्यक्रम ।

आरएसएस भारतको स्वतन्त्र संस्था हो । उसले हिन्दु राष्ट्रका लागि अवाज उठाउँदै आएको छ । तर जबदेखि भाजपा सक्रिय भयो । त्यसबेलादेखि नै आरएसएसलाई हेर्ने नजरियामा नै परिवर्तन आयो । सबैले आरएसएसलाई भाजपा निकट भन्छन् । हुन त आरएसएस पनि आफूलाई स्वतन्त्र संस्था नै भन्छ तर उसको मातहतमा भाजपा भएको हुनाले आरएसएसलाई पनि भाजपाको नजरले हेर्न थालेको छ । अहिले आरएसएसले जे गरेपनि यो भाजपाले गरेको भन्न थालेका छन् । टीएमएनसीको पनि यही हालत हुनेछ ।

तराई मधेशमा त्यतिकै पनि राजनीतिक दलले विकास गर्न सकिरहेको छैन । तराई मधेशमा पनि राजनीतिक दलको लामो इतिहास छ तर अहिलेसम्म स्थायीत्व लिन सकेको छैन । बेदानन्द झाहरुको तराई काँग्रेसदेखि लिएर नेपाल सद्भावना पार्टी, त्यसपछि मधेशी जनअधिकार फोरम हुँदै आहिले जनता समाजवादी पार्टीसम्मको इतिहास हेर्दा मधेशवादी राजनीतिक दल कहिले स्थिर रहन सकेन । त्यसको मुद्दा, विचार, एजेण्डा कुनै खराब थियो भने होइन, ती दल संचालन गर्ने नेताहरुको नै नियत ठिक नभएर पार्टीले प्रगति गर्न सकेन । आजसम्म पार्टी बन्दै, भत्किदै आइरहेका छन् ।

यस अवस्थामा टीएमएनसीले अर्को नयाँ पार्टी बनाउनु भनेको बनि बनाउ घरलाई भत्काउनु जस्तै हो । परिवर्तन राजनीतिबाट मात्र सम्भव छ भने कुरा बुझेर टीएमएनसीले यो कार्यलाई अगाडि बढाएको हुनुपर्छ जस्तो लाग्छ । तर टीएमएनसीले गठन गर्ने राजनीतिक दलबाट मात्र परिवर्तन हुन्छ त्यसको ग्यारेन्टी के ? टीएमएनसीमा आवद्ध मुख्य व्यक्तिहरु पनि विचारले कुनै नकुनै राजनीतिक दल निकट थिए र छन् पनि । उनीहरु पनि कुनै नकुनै रुपमा टेस्टेड भइसकेका छन् । त्यसलै उनीहरुले बनाउने पार्टीले तराई मधेशमा परिवर्तन हुन्छ भने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।

यस्तै क्रान्तकारी सोच र विचारका साथ सिके राउत राजनीतिमा आएर राजनीतिक दल सञ्चालन गर्नुभयो तर अहिलेसम्म उहाँले के के गर्नुभयो, कुन अवस्थामा हुनुहुन्छ भने कुरा कसैबाट लुकेको छैन । अर्को उदाहारण लिनका लागि धेरै टाढा जानै पार्दैन । पत्रकार रवीन्द्र मिश्रको उदाहारण लिँदा हुन्छ । रवीन्द्र मिश्रको व्यक्तित्व र कार्यकौशल हेर्दा त सारा जनता उसैको पछि लाग्छ जस्तो लागेको थियो तर राजनीतिक दलको रुपमा आएपछि ती सबै व्यक्तित्व र कार्यकौशल बागमतीमा बग्यो । डा.बाबुराम भट्टराई, उहाँ जतिको भिजन सायदै कुनै नेतासँग होला । त्यत्रो जनयुद्ध हाकेर आउनु भएको नेता हुनुहुन्छ ।

प्रधानमन्त्री भइसक्नु भएका व्यक्ति हुनुहुन्छ । अन्तराष्ट्रिय सम्बन्ध पनि राम्रै छ । उहाँले पनि आफ्नो व्यक्तित्व र कार्यकौशल देखेर सारा जनता आफूतिर आकर्षित रहेको भ्रममा पर्नु भयो र नयाँ जोश जाँगरका साथ नयाँ शक्ति नेपाल गठन गर्नुभयो । त्यो नयाँ शक्तिको अवस्था कस्तो भयो त्यसको बारेमा सबै जानकार नै हुनुहुन्छ । अहिले टीएमएनसीले नयाँ पार्टी बनाउने तम्सिएको छ तर समय बेकारमा खेर जानेछ । बरु टीएमएनसीवालाहरुलाई त्यतिनै राजनीतिकबाट समाजमा परिवर्तन ल्याउने सोच बनेको छ भने तराई मधेशमा विभिन्न पार्टीहरु छन् कुनैमा आवद्ध भएर आफ्नो भिजन दिएर पनि परिवर्तन ल्याउनका लागि प्रयास गर्न सकिन्छ तर नयाँ पार्टी गठन गरेपछि मधेशी जनताले भन्नेछ, जुन जोगी आएपनि कानै चिरेको ।

तपाईको प्रतिक्रिया