काठमाडौँ भदौ ४ गते । जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी ेनेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । एकजना अध्यक्ष, दुईजना वरिष्ठ नेतासहित ३१ सदस्यीय कार्यकारिणी बनाएको छ । निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिता दिएपछि महन्थ ठाकुरले नयाँ पार्टी दर्ताका लािग आयोगमा निवेदन दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याइ दिएर पार्टि विभाजन गर्न सजिलो बनाई दिएपछि महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठनका लागि अगाडि बढेको हो । दुवै सदन गरी ३८ जना सांसदमध्ये संघमा राष्ट्यि सभा र प्रतिनिधिसभा गरी १५ जना सांसद महन्थ ठाकुरसँग छन् । उता प्रदेश २ मा ५५ प्रदेश सांसद रहेकोमध्ये १५ जना मात्र महन्थ ठाकुरमा रहेका छन् ।
कसको पक्षमा कति सांसद, कति नेता भनि प्रदेश, संघ तथा जिल्लाहरुका खोजविन हुन थालेका छन् । अहिलेसम्मको हिसाब हेर्दा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म महन्थ ठाकुर पक्ष कमजोर देखिएको छ ।
महन्थ ठाकुरलाई सबभन्दा बढी क्षति प्रदेश २ मा भएको छ । प्रदेश २ मा जसपाको संस्थापन पक्ष अर्थात् उपेन्द्र यादव नै प्रदेशसभा र स्थानीय तहमा बलियो देखिनु भएको छ । महन्थ ठाकुर पक्षका नेतासमेत रहनु भएका प्रदेशसभा सदस्य परमेश्वर साहले पार्टी विभाजनपछि तत्कालीन राजपा नेपालको भन्दा पनि अवस्था कमजोर अवस्था भएको बताउनुभयो । जसपा गठनपूर्व तत्कालीन राजपा नेपालसँग २५ जना प्रदेशसभा सदस्य थियो । तर तीमध्ये ९ जना प्रदेशसभा सदस्य उपेन्द्र यादव पक्षमा लाग्नु भएको छ । तर, साहले दल विभाजन भएको २१ दिनसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने गरी अध्यादेश आएका हुनाले अहिले नै को कहाँ कहाँ छन् हिसाब निकाल्न नमिल्ने बताउनुभयो ।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन सरकार थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपाल बनेर प्रदेश २ मा सो पार्टीले एकल बहुमतको सरकार सञ्चालन गर्दै आएको थियो । प्रदेशसभामा जसपाका ५५ जना सांसद रहनु भएको छ ।
तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनिष सुमन आफू मूल पार्टीमै रहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘मैले न कित्ताकाट गरेको छु, न त मूल पार्टी छोडेको छु ।’ ‘विगतमा पनि महन्थ ठाकुरजी र राजेन्द्र महतोजी पार्टी संगठन निर्माणमा ध्यान नदिई गुट, समूहमै रमाउने गरेकाले अहिले राजनीतिबाटै तह लाग्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै उहाँले ‘ओलीजस्ता प्रतिगामीको काँध थाप्न मरिहत्ते गर्नुले पनि प्रदेश २ मा उहाँहरुको जनाधार निकै कमजोर रहेको बताउनुभयो ।
प्रदेश २ बाट महन्थ ठाकुर पक्षका २ जना मन्त्री र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादवसमेत उपेन्द्र यादव पक्षमा लागेका छन् । तत्कालीन राजपा नेपालबाट मन्त्री तथा प्रदेशसभा सदस्य र केही स्थानीय तहमा निर्वाचित भएकाहरु समेत उपेन्द्र यादव पक्षमा लागेका छन् । मन्त्रीद्धय नवलकिशोर साह र रामनरेश राय यादव, प्रदेशसभा सदस्यहरु मनिष समुन, पूर्व राज्यमन्त्री सुरेशकुमार मण्डल, रानी शर्मा तिवारी र डा. रिना यादव, डा. अञ्जुकुमारी यादव, विक्की यादव, नेत्रविक्रम साह खुलेरै उपेन्द्र यादव पक्षमा लाग्नु भएको छ ।
प्रदेश २ को स्थानीय तहमा भने तत्कालीन समाजवादी पार्टीको तुलनामा तत्कालीन राजपा नेपालले धेरै स्थानमा जितेको छ । स्थानीय तहको निर्वाचनमा उपेन्द्र यादव पक्षले २५ र महन्थ ठाकुर पक्षले ३० स्थानीय तहको प्रमुखमा जित हासिल गरेका थिए । जसपा नेपाल विभाजित भएपछि भने स्थानीय तहमा समेत उपेन्द्र यादव नेतृत्वको जसपाको अवस्था बलियो देखिएको छ ।


तपाईको प्रतिक्रिया