Khadya Bibhag

उपेन्द्रलाई नभेटी स्वदेश फर्किनु भयो विजय चौथाइवाले

काठमाडौँ भदौं १० गते । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले चार दिवसीय नेपाल भ्रमण सकाएर आज विहान भारत फर्किनु भएको छ ।

उहाँ नेपालमा चार दिनसम्म विभिन्न दलका शीर्ष नेताहरुलाई भेटेर दुई देशको पारस्परिक सम्बन्ध, पार्टी टु पार्टीको सम्बन्ध, देशको समसामयिक राजनीतिक अवस्थालगायतको विषयमा छलफल गरी भारत फर्किनु भएको छ । तर संसदमा पाँचौ ठूलो दल रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका कुनै पनि शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको छैन ।

चौथाईवालेले चारदिनसम्म नेपालमा भएको सबै भेटघाट बारे उहाँ आफ्नो ट्वीटरमार्फत जानकार िगराउनु भएको छ तर जसपाका नेतासँग भेटेको नभेटेको बारेमा केही उल्लेख गर्नुभएको छैन ।

उहाँले आफ्नो भ्रमणको क्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, काँग्रेसका नेता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँर, एमालेका नेता विष्णु पौडेललाई भेट्नु भएको छ र यो कुराको जानकारी उहाँले आफ्नो ट्वीटरमार्फत गराउनु भएको छ ।

जसपका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई किन नभेटेको कुरालाई अहिले मिडियामा विभिन्न रुपमा प्रस्तुत गरिरहेका छन् । वास्तविकता के हो, किन भेटघाट भएन, चौथाईवालाले भेटघाट गर्न चाहनु भएन कि उपेन्द्र यादवहरुले भेटघाट गर्न चाहनु भएन त्यो कुराको औपचारिक धारणा जसपा नेपालबाट आएको छैन ।

यसको बारेमा जसपा नेपालका कुनै पनि नेताले आफ्नो धारणा दिन मानिरहनु भएको छैन । ती दलका नेताहरु भन्नुहुन्छ, कुनै पार्टीका नेता घुम्नका लागि आउँदैमा त्यसलाई भेट्नु आवश्यक हुँदैन, भेटको एजेण्डा हुनुपर्छ, त्यसको उद्देश्य हुनुपर्छ, पर्यटकका रुपमा घुम्न आएका जो पाए त्यहीलाई भेट्न आवश्यक पनि छैन । त्यसमध्येका एक नेताले भन्नुभयो, भजपाका नेता विजय चौथाइवाले नेपाल भ्रमणमा आउनु भएको छ त्यो कुराको जानकारी पार्टीलाई छैन, भेट त टाढाको कुरा हो ।

तर चौथाइवाला निकट व्यक्तिहरु भन्छन्, पछिल्लो समय जसपा नेपाल र भाजपाबीच राम्रो सम्बन्ध छैन, उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनमा भारतको हात रहेको कुरा पटक पटक भन्दै आउनु भएको छ, भारतले भनेका कतिपय कुरा उपेन्द्र यादवले नमानेको जस्तै, सरिता गिरीलाई पार्टीबाट निस्काशन गर्नु, प्रदीप यादवलाई कारवाही गर्नु, चिनियाँ राजदूतसँग पटक पटक गोप्य ढंगबाट भेट्नु, भारतबाट आएका नेता तथा उच्च पदस्थ पदाधिकारीहरुसँग भेट नचाहनु जस्ता कुराले भारत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग त्यति गहिरो सम्बन्ध बनाउन चाहेको छैन त्यही भएर यसपटक चौथाइवाला आउँदा जसपाका नेताहरुलाई भेट्न मान्नु भएन ।

केपी शर्मा अ‍ोली प्रधानमन्त्री भएको बेला पनि भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउनु भएको थियो । त्यतिबेला चौथाईवालेले उपेन्द्र यादवसँग भेट्ने चाहना गर्नुभएको थियो तर त्यो बेला पनि उहाँ बाहना बनाएर भेट्नु भएन । उहाँ त्यो बेला पनि उपत्यका बाहिर जानु भएको थियो । यसपटक पनि चौथाईवाला नेपाल आउपछि उहाँ पार्टीको कार्यक्रम लिएर उपत्यका बाहिर जानु भयो । उपेन्द्र यादव अहिले पनि जसपा विभाजनमा भारतको हात रहेको कुरा भन्दै आउनु भएको छ ।

त्यस्तै, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच ट्वीटरमा भनाभन भइरहेका हुन्छ । हिन्दु धर्मलाई जोडेर लेखिएको ट्वीटमा चौथाईवालेले जवाफ फर्काउनु भएको थियो भने भारतसँग सन्दर्भ जोडेर लेख्नु भएको एउटा लेखको बारेमा पनि चौथाईवालेले प्रतिकृया जनाउनु भएको थियो । अर्थात दुईजनाको सम्बन्ध सुरुदेखि नै राम्रो नभएको कारण भेटघाट नभएको चौथाइवाले निकटस्थहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया