Khadya Bibhag

महिनाव्यापी ४१ औं विश्व खाद्य दिवस शुरु

काठमाडौं, भदौ २५ गते । वर्षेनी मनाइदै आइरहेको विश्व खाद्य दिवस नेपालमा महिनाव्यापी रुपमा मनाइने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महिनाव्यापी खाद्य दिवस मनाउने कार्यक्रमको शुरुवात गरिएको हो ।

खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम मनाउने भएका हुन् । विगत पाँच वर्षदेखि यसै गरी कार्यक्रम मनाइदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर अधिकांश कार्यक्रम भर्चुअल रुपमा मनाउने तयारी गरिएको अभियानले जनाएको छ ।

खेतीपातीका लागि महत्वपूर्ण सवालहरुमा महिनाव्यापी विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । ‘हाम्रो पहल ः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण’ भन्ने नारासहित मनाउन थालिएको यो वर्षको ४१ औँ दिवस हो ।

विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउदै गरेको विश्व खाद्य सम्मेलन दिवसलाई नेपालको चाडबाडको मितिलाई पनि ख्याल गर्दै सन्दर्भ पारेर महिनाव्यापी दिवसको कार्यक्रम तालिका बनाएर दिवस मनाउन थालिएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भयो ।

नेपालको खेतीपातीलाई खुट्टा टेकाउनका लागि, नीतिगत पहल सच्याउनको लागि विश्व खाद्य दिवसको अहम् भूमिका रहेको खाद्यका लागि कृषि अभियानका अभियानकर्ता डा.कृष्णपसाद पौडेल बताउनुभयो ।

विभिन्न १७ वटा कार्यक्रममा सातवटा कार्यक्रम संघीय तहमा नीतिगत बहसमा केन्द्रीत हुनेछन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको अभियानको सदस्य संस्था फियान नेपालकी प्रतिनिधी लक्ष्मी गुरुङले बताउनुभयो ।

बागमती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणालीका बारेमा, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्रांगारिक कृषि अभ्यासको बारेमा र ७ नम्बर प्रदेशमा कोरोना संकट र गाउँबासीहरुको बसाईसराईको विषयमा छलफल हुने भएको छ ।

तपाईको प्रतिक्रिया