तराई मधेशको आस्थाको पर्व चौरचन आज मनाइँदै

काठमाडौँ भदौँ २५–तीज पर्व धुमधामका साथ सम्पन्न भएसँगै तराई मधेशमा मनाई महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) आज त्यहाँ मनाइँदैछ । तराई मधेशमा चौरचन पर्वलाई निकै आस्थाको रुपमा लिइन्छ । कृष्ण जन्मअष्टमीको १२ दिनपछि यो चौरचन मनाइन्छ ।

भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको ब्रतालुहरु बताउँछन् ।

चौरचनका दिन ब्रतालुहरु निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफू तथा खीर, पुरी अर्पण गरिन्छ । चन्द्रमाको पुजा हुने भएकाले यो पर्व घरभन्दा बाहिर अर्थात आँगनमा, कसैको आँगन छैन भने घरको छतमा पुजा हुन्छ । यसका लागि आँगन वा बाहिर खुल्ला ठाउँमा चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

यसको सबभन्दा महत्वपूर्ण पक्ष भनेको यही पर्वका लागि केहीदिन अघिदेखि नै माटोको नयाँ भाँडोमा दही बनाएर राख्ने गरिन्छ । पछिल्लो समय माटोमा भाँडो पाउन छाडेपछि कतैकतै स्टीलको भाँडोमा पनि दही बनाउने गरेको पाइन्छ ।

छठ पर्व जस्तै ब्रतालुहरु केही दिनअघि देखि नै यसको तयारीमा जुटेका हुन्छन् । दिनमा खीर र पुरी पकाई सकेपछि साँझ पुजा हुन्छ । पुजा सम्पन्न भएपछि तयार पारिएको प्रसाद पुरै परिवार, आफन्त, इष्टमित्रहरु सबै एकसाथ बसेर त्यसलाई ग्रहण गर्ने गरिन्छ । तराई मधेशमा सबको घरमा यो चौरचन पर्व हुँदैन । जसको घरमा चौरचन हुँदैन, अन्य छिमेकी तथा आफन्तको घरमा हुनेले उनीहरुलाई बोलाएर खुवाउने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया