गच्छादरको बहिर्गमनमा प्रचण्ड र उपेन्द्रको मौनता (फरकमत)

–सुनैनाकुमारी यादव
नेपाली काँग्रेस, नेकपा माआवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव) र संयुक्त जनमोर्चा नेपाल सम्मलित गठबन्धन सरकारले भ्रष्टाचारको श्रीगणेश गरेको छ । बालुवाटार ललिता निवास जग्गा प्रकारणमा मुछिनु भएका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारबाट त्यसको श्रीगणेश भएको हो ।

ललिता निवास जग्गा प्रकारणमा मुछिए पछि डेढ वर्षदेखि फरार सूचीमा रहनु भएका गच्छदारलाई असार ३० गते विशेष अदालतमा उपस्थित गराएर काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारीलाई संरक्षण दिएको र भ्रष्टाचारको श्रीगणेश गर्नुभएको हो । डेढ वर्षसम्म फरार रहनु भएका गच्छदारअसार ३० गते विशेष अदालतमा हाजिर हुनु यो संयोग होइन र यसलाई सयोग मान्न पनि सकिदैन किनभने उहाँका पार्टीका सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री पदमा सपथ लिनुभयो । र सपथ लिएको भोलीपल्टै विशेष अदालतमा हाजिर हुनुलाई संयोग मान्न सकिदैन भ्रष्टाचारको श्रीगणेश भएको भन्नुपर्छ ।

यत्रो दिन भागी भागी हिड्ने उपसभापति गच्छदारलाई साउन ३० गते नै विशेष अदालतमा हाजिर हुनलाई के को हतार थियो । दुई चार दिन पर्खेर पनि हाजिर हुन सक्नु हुन्थ्यो तर उहाँले त्यस्तो नगरेर शक्तिको आडमा विशेष अदालतमा हाजिर हुनुभयो र त्यही दिन धारौटीमा रिहाय पनि हुनुभयो । नेपालको राजनीतिमा सायदै यो जतिको शक्तिको उन्माद कसैले देखाएको होलान् । अब सायद इट्टाको भठ्ठीमा मान्छेलाई जिउँदै जलाउनु भएका काँग्रेसका नेता अफताव आलम पनि छाडिने छ किनभने उहाँको गृह जिल्ला रौतहटमा उहाँका कार्यकर्ताले दीपावली मनाएका छन् ।

अफताव आलमलाई छाडिने भयो भनेर उहाँका कार्यकर्ताले मिठाई बाँड्नुदेखि लिएर पटका समेत पड्काइको छ । केपी शर्मा अ‍ोलीको निरकुंश राज्यको अन्त्य गरेर के शेरबहादुर देउवाले गुण्डाराज ल्याउन खोज्नु भएको हो ? देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पनि बितेको छैन काँग्रेस निकट गुण्डाहरुको सलबलाहट सुरु भएको छ । काँग्रेसको आडमा भइरहेको अपराध र अपराधीहरु सल्बलाउन थालेका छन् । यसको जवाफ प्रधानमन्त्री देउवाले मात्र होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि दिनुपर्छ किनभने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र भ्रष्टाचारीको संस्थागत गर्नुभयो, ठूलाठूला भ्रष्टाचार उहाँको कार्यकालमा भयो भनि सबभन्दा बढी आरोप लगाउने प्रचण्ड र उपेन्द्र यादव नै हुनुहुन्छ ।

नेकपा एकीकृत हुँदा प्रचण्डले सबभन्दा बढी अवाज उठाउने भ्रष्टाचारको नै हो । तत्कालिन नेकपाको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दा त्यसमा सबभन्दा बढी भ्रष्टाचारका कुरा उठाउनु भएको थियो । त्यति मात्र होइन, विभिन्न औपचारिक समारोहहरुमा पनि प्रचण्डले ओलीमाथि लगातार भ्रष्टाचारको आरोप लगाउँदै आउनु भएको थियो । तर आज उहाँको पार्टीको सहयोगमा प्रधानमन्त्री बन्नु भएका शेरबहादुर देउवाले भ्रष्टाचारीको संरक्षण दिँदा किन मौन बस्नु भयो भनि प्रश्न उठेको छ ।के गच्छदार र आलमलाई छोडाउनका लागि प्रचण्ड र उपेन्द्र यादवले गठबन्धनमा सहमति गर्नुभएको हो ?जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि ओलीमाथि सबभन्दा बढी प्रहार गर्नुभएको भ्रष्टाचारको विषयमा नै हो । उहाँले जारी गर्नुभएको विज्ञप्ति होस् वा सार्वजनिक रुपमा दिनुभएको अभिव्यक्ति होस् सबैमा उहाँले ओलीमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको थियो । तर उहाँको सहयोगमा बनेको सरकारको पहिलो दिनमै भ्रष्टाचारलाई उन्मुक्ति दिने काम भएको छ त्यसमा हालसम्म उहाँको कुनै प्रतिकृया आएको छैन ।

विजयकुमार गच्छदार त्यही व्यक्ति हो जसले उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम विभाजन गरेर माधवकुमार नेपाल सरकारलाई समर्थन गर्नुभएको थियो । पछि उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको थियो । उपेन्द्र यादवले आफ्नो राजनीति जीवनमा सबभन्दा बढी आलोचना गरेको पात्र विजयकुमार गच्छदार हुनुहुन्छ तर उपेन्द्र यादव पार्टीको सहयोगमा बनेको वर्तमान सरकारको आडमा विशेष अदालतबाट गच्छदार उन्मुक्ति पाउँदा उहाँ मौन बस्नु भएको छ ।

जसरी डेढ वर्षदेखि फरारको सूचीमा रहनु भएका गच्छदार प्रधानमन्त्रीमा देउवाले सपथ लिने वित्तिकै विशेष अदालतमा हाजिर भएर उन्मुक्ति पाउनु भएको छ । त्यसमा प्रचण्ड र उपेन्द्र यादवको पनि सहमति रहेको पुष्टि हुन्छ नभए उहाँ दुवैजनाले संयुक्त विज्ञप्ति जारी गरेर त्यसको विरोध गर्नुपर्ने थियो तर कुनै विज्ञप्ति वा प्रतिकृया सार्वजनिक भएको छैन । नत्र देउवा सरकारले सुरु गरेको भ्रष्टाचारको श्रीगणेशको जस अपजस प्रचण्ड र उपेन्द्र यादवलाई पनि जान्छ किनभने यो सरकार उहाँहरुको पनि हो ।अर्कोतिर समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा प्रश्न उठ्न थालेको छ, ‘थारुको छोरा रेशम चौधरी निस्किनु पर्ने गच्छदार पो निस्क्या छ ? भ्रष्टाचारीको संरक्षक अग्रगमनकारी रे ?’

गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहाय हुनुभएको छ । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज् मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उहाँलाई धरौटीमा छोड्न आदेश दिनु भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँ मन्त्री हुँदा ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया