Khadya Bibhag

डीडीसीद्वारा म्याद सकिएको बटर विक्रि

दुध विकास संस्थानले कोरोना महामारी र त्यसबाट गरिएको लकडाउनको मौका छोपी भण्डारमा थन्किएर राखिएको म्याद सकिएका बटर विक्रि गरेको छ । लकडाउनमा दूध विक्रि नहुँदा डीडीसीले त्यसबाट धुलो दूध र बटर बनाएर भण्डार गरिरहेके थियो । तर त्यो बटर र धुलो दूध पनि विक्रि भइरहेको थिएन । राख्दा राख्दै बटरमा तोकिएको म्याद नै समाप्त भयो । तर डीडीसीले त्यो म्याद सकिएको बटर पनि विक्रि गर्यो, जुन कुरा डीडीसीले स्वयं स्वीकार गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७७ असोज २९ गते अनुगमन गर्दा बटर राखिएको गोदाम व्यवस्थित नभएको र त्यसलाई व्यवस्थित गर्न दिएको निर्देशनको कुरा डीडीसीले प्रतिवेदनमा पनि उल्लेख गरेको छ । गोदाम व्यवस्थित नभएको कारण दुध तथा दुग्ध पदार्थको गुणस्तरमा कमी आएको ठहर विभागले गरेको थियो । गोदामलाई व्यवस्थित गरी दुग्धजन्य पदार्थलाई नियन्त्रण गर्न विभागले निर्देशन दिएको थियो । तर सो निर्देशनलाई उल्लघंन गरेपछि विभागले अदालतमा मुद्दा नै चलाएको थियो ।

डीडीसले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा त्यो कुरा प्रष्ट उल्लेख छ । लकडाउन बेला गोदाममा भण्डार गरिएको बटरको म्याद सकिए पनि विक्रि वितरण गरिएको थियो । डीडीसीले बटरलाई दूध, घिउ तथा अन्य दुग्ध पदार्थ बनाउनका लागि कच्चा पदार्थको रुपमा प्रयोग गरेर विक्रि वितरण गरेको छ । बटरको म्याद सकिए पनि बटरको गुणस्तरमा कुनै ह्रास नआएको दावी डीडीसीले कृषि मन्त्रालय समक्ष गरेको छ । कृषि मन्त्रालयका एक सहसचिवका अनुसार डीडीसीले लकडाउनका कारण बटरमा उल्लेख गरिएको म्याद सकिएको बटर विक्रि वितरण गरिएको स्वीकार गरिएको छ । बटरको प्याकेजिङ्गमा आठ महिना र १२ महिनाको समय उल्लेख गरेपनि अन्तरराष्ट्रिय मापदण्ड अनुसार त्यसको म्याद अठार महिनाको हुने गरेको दावी प्रतिवेदनमा गरिएको छ ।

बटरको रंग, वास्ना, फ्रि फ्याटी एसिड, पेरोक्साइड भ्यालु, र्यानसिडीटीलगायतका गुणस्तर कायम रहेको डीडीसीले पठाएको प्रतिवेदनमा दावी गरिएको छ । दूध, तथा दुग्धजन्य पदार्थलाई डीडीसीको बालाजु र लैनचौरमा रहेको प्रयोगशाला परीक्षण हुने गरेको छ । डीडीसीमा बुझाएको प्रतिवेदनमा डीडीसीले तोकिएको म्याद सकिएको उल्लेख छ । डीडीसीले सुजल डेरीबाट बटर ल्याएर आफ्नो गोदाममा राखेको थियो । प्रतिवेदन अनुसार डेरीबाट ल्याएको बटरको कुनै बाकसमा वेस्ट विफोर आठ महिना र कुनैमा वेस्ट विफोर १२ महिना उल्लेख थियो । उल्लेख म्यादको समयपश्चात ती बटर कच्चा पदार्थको रुपमा प्रयोग गरिएको डीडीसीले स्वीकार गरेको छ ।

संस्थानमा मौज्दात सम्पूर्ण बटर कोडेक्स अनुसार समय पश्चात पनि गुणस्तरयुक्त रहेमा प्रयोग गर्न सकिने डीडीसीले प्रतिवेदनमा उल्लेख गरिएको छ । लकडाउनका कारण पार्टी प्यालेस, विद्यालय, होटल, रेष्टुरेन्टहरु बन्द भएकाले बटरको मौज्दात कम भएन । संस्थानमा आन्तरिक खपतबाहेक बाहिर विक्रि वितरण भएको थिएन । त्यतिबेला सातसय ५० मेट्रिकटन बटर मौज्दात रहन गएको थियो ।

तपाईको प्रतिक्रिया