–वृषेशचन्द्र लाल
विगत केही महिनादेखि नेपालका राजनीतिक दलहरुमा भित्रि उथलपुथल, नयाँ जोडतोड र गठजोडको प्रक्रिया तीब्र छ । नेपाली काँग्रेस अहिले सत्तामा पुगेको हुनाले केही शान्त जस्तो देखिए पनि त्यहाँ समेत बदलिंदो परिस्थितिमा सुति नै राख्ने वा कोल्टे फेर्ने उहापोह भने कतै न कतै कायमै रहेको देखिन्छ । माओवादी केन्द्र नेकपाबाट अलग्गिएपछि यस्तै आशंकित भुमरीबाट बच्न केही गरी सत्ताको जोगार लगाएको छ र सत्ताको यस अस्थिर समीकरणलाई जसरी भए पनि डिगाउने यत्नमा निरन्तरता दिइरहेको छ ।
त्यसकारण, माओवादी केन्द्रको केन्द्रमा अहिले समीकरणमा सन्तुलन नै पहिलो प्राथमिकता हुनपुगेको हो, दृष्टि वा नीति गौण भएको अवस्था छ । नेकपा एमालेका टुक्रिएका टुक्राहरू जोड्ने टांस फेला परिरहेको छैन । त्यस्तै, एक हदसम्म मधेशको एक मात्र राजनीतिक दलको स्थितिमा पुगिसकेको जनता समाजवादी पार्टी नेपाल अब मधेशका दुई राजनीतिक दलहरूमा परिणत भएर बेथितीको मारमा परेको देखिन्छ । मधेशको निमित्त बृहत् राजनीतिक शक्तिको निर्माणको अभियान केही अवांछित विकृतिहरूका साथ येनतेन एउटा दलको रुपमा देखा परेदेखि नै यसमाथि चारैतिरबाट नियोजित प्रहार हुन थालेको थियो, जसलाई अप्रत्यासित मान्न सकिन्न ।
त्यसको सम्हार गर्नु पर्नेमा जनता समाजवादी पार्टी नेपालका नेताहरू सजिलै षड्यन्त्रमा फँस्दै गए र पार्टी विभाजित भयो । यो एउटा राजनीतिक दलको विभाजन मात्र होइन, यस विभाजनले मधेशी, थारु, मुस्लिम र आदिवासी–जनजातिहरु सम्मिलित नेपालको तेस्रो र निर्णायक धारको स्थापनाको पलाइरहेको आस नै चकनाचूर हुने अवस्थामा पुगेको छ ।
खासमा अहिले सतहमा देखा परिरहेका घटना–परिघटनाहरूको बीजारोपण विगत आम निर्वाचनपछि मधेश केन्द्रित तर दबाइएर राखिएकाहरुका प्रतिनिधि राजनीतिक शक्ति राजपा र सपाको पुनर्जीवीकरणले शासन–सत्तामा रहेका राजनीतिक दलहरुमा उत्पन्न चिन्ताले सुरु भएको थियो । अर्को निर्वाचन नहुन्जेलसम्मको निमित्त अजेय शक्तिको रुपमा उदित नेकपाका नेताहरू यी दुई दललाई साम, दाम, दण्डभेदको नीतिले पुनः निस्तेज, बेसुध र बेहोस बनाउने ध्याउन्नमा लागेका थिए । नेपाली काँग्रेस आफैं बेहाल थियो तैपनि तन्त्र–मन्त्रको सहारा र प्रयोगबाट छुट्टिन सकेको थिएन । जनता समाजवादी पार्टी नेपालको रुपमा एकीकृत भएपछि नयाँ दल सबैको आखाँको तारो नै बन्यो ।
जनता समाजवादी पार्टीको एकीकरण नै कुसमय र हतारमा भएको थियो । तमाम विज्ञ र परिपक्व राजनीतिककर्मीहरू एकीकरण नगरी गठबन्धनीय स्वरुप जाऔं भन्दाभन्दै उच्च महत्वकांक्षा र राजनीतिक स्वार्थले लटपटिएका नेताहरू सुन्दै सुनेनन् । वास्तवमा समय मधेशी, थारू, आदिवासी–जनजातिहरुको छुट्टै संगठन, समन्वित रणनीति र आन्दोलन तथा निर्वाचन लगायतका बेला गठबन्धनीय कार्यगत एकताको थियो । तर, यस तथ्यलाई आत्मसात गरिएन । परिणाम दुखद नै रह्यो । एकीकरणले सशक्तिकरण र संगठनमा सुदृढता प्रदान गर्न सकेन । त्यसको सट्टा प्रदर्शनले हुने प्रतिक्रियात्मक खतरालाई निम्ताउने काम मात्र गर्यो । अहिलेको परिणतिको यही मूल कारण हो ।
जनता समाजवादी पार्टी नेपालको विभाजनले अहिले मधेशी, थारु, आदिवासी–जनजाति आन्दोलनकारीहरू एक किसिमको पराजयको अनुभूति गरिरहेका छन् र ती पनि जो एकीकरणको एकदमै विपक्षमा थिए । आन्दोलनमा प्रत्यक्ष सहभागी नभए पनि यस आन्दोलनले उठाएका मुद्दाहरूको न्यायसंगतता र उपयुक्तता बुझेका, विविधतापूर्ण बलियो एकवद्ध राष्ट्रियताका पक्षपाती तथा देशमा सम्मान सहितको पहिचान, समावेशिता र राज्यका हरेक अंगमा सबै जात–जातिको सहभागिता नभएसम्म देश स्थिरता र समुन्नति प्राप्त गर्न नसक्ने तथ्यलाई आत्मसात गरेका हिमाल, पहाड र तराईका सबै प्रवुद्ध यस विभाजनले स्तब्ध जस्तै छन् ।
यस घटनाले मधेशी, थारु र आदिवासी–जनजातिको एकत्रित शक्तिलाई खण्डित मात्र गरेको छैन, मधेशका दुई सशक्त नेतृत्वदायी स्तम्भहरूको निर्जलीकरण समेत गरेको छ । यी सब फेरि यतिविघ्न तिब्रताका साथ भयो कि शुभचिन्तकहरु हात बाँधेर हेर्याहेर्यै भए । कहीं वा कहींहरुबाट बिछाइएका तासका पत्ताहरू फेंटेर फेरि ओछ्याइएको सरी देखियो । यस विभाजनले पार्टीभित्रकै केही खुशी पनि छन्। ती हुन् आन्दोलनसंग खासै मतलब नभएका तर स्वार्थ र अवसरका ताकमा रहेकाहरूको समूह । अहिले यीनै समूह यी दुबै पार्टीका हर्ताकर्ता र हाडमांस बनेका छन् । यसले पनि चिन्तित शुभचिन्तकहरुलाई किंकर्तव्यविमूढ बनाएको छ ।
यी पार्टीहरु किन विभाजित भए ? अब के होला ? अब कसरी आगाडि बढ्ने वा बढ्दैछन् ? अहिलेका जल्दाबल्दा जिज्ञासा र चियोचर्चाका विषय यीनै प्रश्नहरू हुन् ।खासमा सत्ताको लालसा, स्वार्थ र अहंको टकराव, पार्टीमा सदस्यभाव भन्दा पनि मिल्कियतको मानसिकता तथा सोच एवं विश्लेषण गर्दा समग्र तत्त्वहरू भन्दा पनि व्यक्तिलाई केन्द्रमा राखेर गरिने बानीले नै यस्तो अवस्था हुन पुगेको हो ।
यी सबका वावजूद, विभाजन भने अप्रत्यासित थिएन । बरू, एकीकरण नै अप्रत्यासित थियो । तत्कालको अल्पकालिन समीकरणको निमित्त सन्तुलन हुनै नसक्ने गरी अडाएर ठढ्याइएका स्तम्भहरू कति दिनसम्म टिक्न सक्थ्ये र ? ! जनता समाजवादी पार्टी नेपालको एकीकरण विचारले, प्रशिक्षणको पृष्ठभूमिले र जनाधारको प्रकृतिले पनि विपरित ध्रुवहरू बीचको मिश्रण झैं थियो जो कस्तो पनि अवस्था वा स्थितिमा यौगिक बन्न नै सक्दैनथ्यो । एकीकरणको स्वाद नमीठो भए पनि आन्दोलनका प्रतिवद्ध योद्धाहरू भने स्थितिलाई घोट्लेर मिल्न लागिसकेका थिए, तर नेता र स्वार्थी समूहहरु त्यो पनि हुन दिएनन् ।
मधेशी र थारुहरूको आफ्नै नेतृत्वमा आफ्नै राजनीतिक शक्तिको निर्माणको अभियानमा यस विभाजनलाई एउटा आवश्यक ऐतिहासिक घटना पनि मान्न सकिन्छ । यसले एउटा स्पष्ट रेखा कोरेको छ । मधेश र आदिवासी–जनजातिहरूको आन्दोलनमा लागेका वामपन्थी पंक्ति एकातिर भएको छ । तथ्य यही हो र विस्तारै सबैले मनन गर्नैपर्ने विषयवस्तु पनि यही नै हो । विभाजन लोकतान्त्रिक र वामपन्थी पंक्तिबीच दुईटा दलको रुपमा भएको भए धेरै हदसम्म ठीक हुन्थ्यो ।
सहकार्य र गठबन्धनका ठाउँ रहन्थ्यो । तर, मधेशी र आदिवासी वामपन्थी पंक्ति अहिले खिचडी गठबन्धनमा शामिल भएका छन् । त्यसैले अझै केही आगाडि न उघ्रेका दृश्यहरू बाँकी नै छन् । अलग्गिएको यस वामपन्थी पंक्तिको अन्तिम मिश्रण वामपन्थीहरूको एउटा पार्टीको रुपमा प्रकट हुन्छन् वा तिनी मधेशी र आदिवासी वामपन्थीहरुको समूहको रुपमा स्वतन्त्र रुपमा एकत्रित हुन्छन्– आगामी दिनहरुमा प्रष्ट हुने नै छ । जे भए पनि, त्यस समूहभित्र अर्को टूट अपरिहार्य र निश्चित छ । वामपन्थी पार्टीभित्र गए त्यसभित्र बाँकी रहेका लोकतन्त्रवादीहरूलाई आफ्नो बाटो लाग्ने बाध्यता हुनेछ ।
अलग्गै एकत्रित हुन खोजे वामपन्थीहरूको नयाँ शक्ति निर्माण गर्ने चाहना भएकाहरू अर्कै बाटो लाग्नेछन् । मधेशको आधारभूत जनाधार लोकतन्त्रवादी मानसिकताको भएको हुनाले त्यसको पनि प्रभाव पर्ने नै छ । अर्को खण्ड अर्थात लोकतान्त्रिक समाजवादी पार्टीको समूह यस्ता समस्याहरूमा छैन । तर, बाटो सजिलो भने यहाँ पनि छैन ।
यहाँ मुद्दा भन्दा सत्ताको समीकरणमा अल्झेका, व्यक्तिवादी स्वार्थ र व्यक्तिपूजाको चाहको लटपटमा लटपटिएका, आइपर्ने चलखेलको धैर्यताका साथ स्वीकार्य रंणनीतिले मुकाबिला गर्ने क्षमता नभएका नेतृत्त्व र डफ्फाको हालीमुहाली छ । नेपालका राजनीतिक दलहरूमा लगातार असफल हुने नेतृत्त्वमा परिवर्तन नहुनु पनि आगाडिका बाटाहरू रोक्ने एउटा रोग नै हो जो यहाँ पनि जडो नै जमाएको देखिन्छ । यी सब कारणले यस समूहले पनि दृष्टि, नीति र रणनीतिको स्पष्ट धार विकसित गर्न सकेको छैन ।
राजपा एकीकरणको तौरतरीकाले जन्मेको संस्कार छुट्न सकेको छैन । शहादत दिने शहीदहरूको आशीष पाएको पार्टीका अधिकांश नेताहरू विगतको पदको भूत मात्र पनि त्याग्न सकिरहेका छैनन् । त्यसकारण, भागबण्डाले अपेक्षाकृत परिपक्व र प्रशिक्षित समूह पुनः किनारा लगाइने र अनुपयुक्त कनिष्ठहरूको भार बोक्न बाध्य गराइने हुन् कि भनेर त्रासमा छन् ।
पहिलो मधेश विद्रोहकै क्रममा मधेशीहरु ‘अब मधेश सरकार’ भन्ने नाराका साथ उत्रेका थिए । यो स्वशासन र संघीयताको पहिलो जनआवाज त थियो नै मधेशीहरुको आफ्नै नेतृत्वमा आफ्नै राजनीतिक संगठनको चाह पनि थियो । यो उत्कट आकांक्षा यथारूप कायमै छ । नेताहरू आन्दोलनमा जहिले पनि जनताभन्दा पछाडि देखिन्छन् । जनताले बाँधेर तानिरहेको जस्तो भान भइरहको हुन्छ तर राजनीतिक शक्ति निर्माणको मामिलामा नेताहरू जनतालाई छाडेर एकदमै आगाडि बढे र अलग–थलग परे । मधेश र थरुहटको निमित्त अहिलेको आवश्यकता क्षेत्रीय राजनीतिक शक्तिको हो जो पछि मुलुकको शक्ति बन्न सक्दछ ।
नेताहरू क्षेत्रीय आवश्यकताको महत्व बुझ्न सकेनन् र यो हाल हुन आयो । संघीयता विरोधी राजनीतिक दलहरू यस वास्तविकतालाई राम्ररी बुझेका छन् । बाध्यतावश संघीयता स्वीकारे पनि संघीयता सञ्चालन गर्ने क्षेत्रीय शक्ति बन्न नै नपाओस् भनेर कानूनहरू बनाए । अहिलेको राजनीतिक दल सम्बन्धी ऐन यसको स्पष्ट उदाहरण हो । मधेशका राजनीतक नेतृत्व यस तथ्यलाई आत्मसात गरी क्षेत्रीय आवश्यकता अनुसार आगाडि बढन सके भने अहिलेको स्तब्धताको निदान आउन सक्दछ ।
मधेशी र थरुहटको जनताको आगाडि अब कसरी आगाडि बढ्ने भन्ने नै सबभन्दा महत्वपूर्ण प्रश्न हो । जे हुनु थियो भइ हाल्यो, अब भएको क्षतिलाई कसरी पूर्ति गर्ने विषय नै मननीय छ । यसको उत्तर नै अहिले छाएको स्तब्धताको समाधान दिने हो । त्यसकारण, मधेशी र थारूहरूको समानता, सम्मानपूर्ण पहिचान, समावेशिता र सहभागिताको निमित्तको संघर्षको लक्ष्य प्राप्ति नभएसम्म संघर्षलाई सशक्तताका साथ आगाडि बढाउन आफ्नै नेतृत्वको राजनीतिक संगठनको निर्माण अहिले पहिलो प्राथमिकता हुनु पर्दछ । मधेश र थरुहट आन्दोलनको क्रममा भएको नृशंसता र दमनलाई आगामी संघर्षको उर्जाको रूपमा प्रयोग गरिनु पर्दछ ।
किन मधेशीहरू आफ्नै नेतृत्व र आफ्नै राजनीतिक शक्ति चाहेका छन् त्यसको अन्तर्यको आत्मसात पनि त्यतिकै जरुरी छ । आफ्नै राजनीतिक शक्ति भनेको आफ्ना मुद्दाहरूप्रति कति पनि यताउति नलागी प्रतिवद्धताको राजनीतिक शक्ति र त्यसलाई मुकामसम्म पुर्याउन सक्ने नेतृत्वको खोजी हो । त्यो राजनीतिक शक्ति जात, धर्म वा भाषामा आधारित होइन, मधेशीहरूको समरसीय समाजको राजनीतिक शक्ति हुनु पर्दछ ।
मधेशको विविधताको प्रतिनिधित्व गर्न सक्ने हुनु पर्दछ । त्यसको लक्ष्य, दृष्टि, नीति र रणनीति स्पष्ट तथा अभ्यासमा प्रतिवद्धता सहित परिभाषित हुनु पर्दछ । यस सन्दर्भमा एउटा अर्को तथ्य के हो भने विगतमा यस्तो कसौटीमा असफल नेतृत्वले अभिष्ट विश्वास अर्जित गर्न सक्दैनन् । अब उनीहरुले सल्लाहकार र सहयोगीको भूमिकाले पार्टी निर्माणलाई मजबूती प्रदान गर्दै नयाँ नेतृत्वलाई आगाडि सार्ने प्रयत्नमा लाग्नु आवश्यक छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल यस अपरिहार्य कार्यलाई आगाडि बढाउन सक्ने स्थितिमा छ । त्यसमा यसका सम्भावनाहरू अझै पर्याप्त छन् । लोकतन्त्रवादीहरूको समूह भएको हुनाले यसले आफूलाई तयार गर्न सक्यो भने भोलीका दिनमा लोकतान्त्रिक शक्तिहरू बीचको सहकार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
त्यसकारण, अरु कुनै काममा हतार नगरी सबभन्दा पहिले पार्टीको लक्ष्य, दृष्टि, नीति, रणनीति र त्यस अनुरुपको योजना परिभाषित गर्नु तथा त्यस अनुरुपको जिम्मेवारीको निमित्त नेतृत्व विकास गर्नु नै यस पार्टीको अहिलेको प्राथमिकता हो । यसो भयो भने यस पार्टीले मधेश र थरुहटका तमाम जागरुक र प्रवुद्धको सहयोग पाउने निश्चित छ ।
(लेखक वषेशचन्द्र लाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य हुनुहुन्छ)


तपाईको प्रतिक्रिया