२१ औं शताब्दीको विज्ञान र प्रविधिको युगमा भूतप्रेत, धामीझाँक्री, तन्त्रमन्त्र छैन यी सब अन्ध विश्वास र भ्रम हुन् भन्नेहरू पनि छन् । तर, सिरहा, धनुषालगायत भारतको कमला नदी तथा गंगातटमा ‘भूतप्रेत’ भगाउन र देवी देवतालाई ल्याउने भन्दै धामीझाँक्रीको आदेशअनुसार काम्दै कमला स्नान गर्न आउनेहरूको भिड देख्दा लाग्छ समाजको ठूलो हिस्सा अझै ‘भूतप्रेत’ अनि धामीझाँक्रीको अन्धविश्वासमै अल्मलिएका छन् । तर यो अन्धविश्वास हो कि धर्मसँस्कृति प्रतिको आस्था हो यसको बारेमा अध्ययन हुन अझै बाँकी छ ।
छठपछि महत्वपूर्ण पर्वको रुपमा कात्तिक शुक्ल पूर्णिमाको गंगा स्नान तथा कमला स्नानलाई लिएका हुन्छन् जहाँ तन्त्र, मन्त्री, बोक्सी, धामी, झाँक्रिको भिड हुन्छ । सो अवसरमा कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न गाउँबाट धामीझाँक्रीसँगै आएकाहरू हजारौँको संख्यामा भिड हुन्छन् । त्यस्तै भिड गंगा नदीमा पनि हुने गरेका हुन्छन् । त्यहाँ गंगा नदी तथा कमला नदीलाई साक्षी राखेर ‘भूतप्रेत’ बाट पिरोलिएकाहरूले काम्दै कमलामा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ्य हुने मान्यता रहेको छ ।
धामीझाँक्रीको आदेशअनुसार काम्दै पूजा गर्नेहरूमा करिब ९५ प्रतिशत महिला मात्र हुन्छन् । हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै पूजासहित कमला नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र कुलदेवतासमेत खुसी भई परिवारमा आपत्विपत् नआउने धामीझाँक्रीको दावी छ । अर्कोतिर भूत मेला सुन्ने वित्तिकै कस्तो अनौठो र जीउ सिरिङ हुने खालको हुन्छ ।
मेला लाग्ने विशेष दिन
मेलापात भनेको रमाइलो र खुशीयालीका लागि हुन्छ । तर कस्तो अनौठो परम्परा र सँस्कृति रहेका छन् जहाँ भूतका लागि पनि मेला लाग्छ । भूतको नाम सुन्ने वित्तिकै मनमा एकखालको डर उत्पन्न हुन्छ । मान्छे त्यसको डरले भाग्छन् तर एक दिन यस्तो आउँछन् मान्छे भूत मेला भनेर हेर्न जान्छ । यो नेपालमा मात्र होइन, भारतका पनि विभिन्न ठाउँमा पनि यस्तो मेला लाग्ने गरेका छन् । र, यो मेला पनि विशेष दिनहरुमा लाग्ने गरेको छ । कुनै ठाउँमा दशैंको अवसरमा मेला लाग्ने गरेका हुन्छन् भने कुनै ठाउँमा कात्तिक पूर्णिमाको अवसरमा लाग्ने गरेको छ । अन्य कतिपय ठाउँमा त्यस्तै विशेष अवसरमा पनि मेला लाग्ने गरेका हुन्छन् ।
यो वैज्ञानिक युगमा पनि भूतको मेला हुन्छ भनि विश्वास गर्न गाह्रो छ तर नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशमा यस्ता खालको मेला लाग्ने गरेका हुन्छन् । भूत पनि हुन्छ, र यो एउटा अन्धविश्वास हो, पढे लेखेका र विज्ञानमा विश्वास गर्नेहरु त्यस्तै भन्छन् । भूतप्रेत भनेको एउटा अन्धविश्वास हो भन्ने भन्दा बढीको जनसँख्या विश्वास गर्नेहरुका छन् । कात्तिक पूर्णिमाका दिन कमला नदीमा भिड हेर्दा भूत प्रेत, धामी क्राँक्रिमाथि पनि विश्वास गर्नेको सँख्या धेरै छन् भने पुष्टि हुन्छ । कमला नदीमा पढे लेखेका सचेत नागरिक पनि आएका हुन्छन् । र, उनीहरु बडो आस्थाका साथ त्यसमा भाग लिएका हुन्छन् ।
रोगको इलाज
भूतप्रेत वा कुनै आत्माले शरिरमा बास गरेपछि त्यसले मानवलाई दुख दिने गर्छन् र त्यसलाई हटाउनका लागि यस्ता यस्ता मेलाहरु विश्वमा धेरै ठाउँमा लाग्ने गरेका हुन्छन् । यो एक प्रकारले विमारीलाई इलाज गर्ने ठाउँ नै हो । र, मानिस विश्वास गरेर त्यहाँसम्म पुगेका हुन्छन् । त्यहाँ विभिन्न खालका धामी झाँक्रि हुन्छन्, जसले आफ्नो तन्तमन्त्रको विद्याले रोगीलाई ठिक पार्ने काम गरेका हुन्छन् ।
घरबाट निस्कदा भूत खेल्दै, लड्दै भिड्दै मेलासम्म पुगेका हुन्छन् तर जब धामीले मन्त्र जपेर उसको भूत भगाउँछ अनि उ निको भएर घर फर्कन्छन् । भूतका कारण घरमा विरामी जस्तै देखिने महिला वा पुरुष अथवा केटाकेटीहरु कुनै मेलाबाट निको भएर घर फर्किन्छन् अनि ती मेलाप्रति झन विश्वास बढ्छ । कतिपयले त्यसलाई नै अन्धविश्वस पनि भन्छन् ।
कमला स्नान अर्थात भूतमेला
कात्तिक शुक्ल पूर्णिमाका दिन कमला नदी र गंंगा नदीमा ठूलो मेला लाग्छ । त्यसलाई कसैले गंगा स्नान, कमला स्नान, कसैले भूत मेला पनि भन्ने गरेका हुन्छन् । आत्मशुद्धि अर्थात पवित्र हुनका लागि कात्तिकमा कमला तथा गंगा स्नान गर्ने चलन छ । गंगा स्नान वा कमला स्नान गरेपछि पवित्र हुने जन विश्वास रहेको छ । त्यहाँ भूतप्रेत लागेका वा नयाँ सिकारु धामी झाँक्रि मात्र होइन, स्नान गर्नकै लागि हजारौं व्यक्ति कमला नदीमा पुगका हुन्छन् । कसैलाई भूत लागेका छन् भने त्यसलाई शरिरबाट हटाउनका लागि सतवैद अर्थात सत्यवचन बोलाउनका लागि गंगा स्नान र कमला स्नान गराउने गरेको पाइन्छ । त्यस्तै, कुनै कुनै व्यक्तिमा घरको देवता बास गरेका हुन्छन् ।
त्यसलाई शुद्धिकरण गर्न र सतवैद गराउनका लागि कात्तिक पूर्णिमाका दिन गंगा नदी तथा कमला नदीमा लगेका हुन्छन् ।
पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै विहानै सूर्य उदाउनुअघि नै गंगा नदी तथा कमला नदीसम्म पुगेका हुन्छन् । टाढा बस्ने भक्तालुहरु एक दिन अगाडि नै गएर त्यहाँ बास बसेका हुन्छन् । धामी सालीग्राम ठाकुर भन्नुहुन्छ, सतवैद गराउनका लागि खासमा जानुपर्ने गंगा नदीमा नै हो तर गंगा नदी टाढा भएको कारण कमला नदीमा गएर भूतप्रेत भगाउने, देवी देवतालाई साथमा लिएर आउने चलन छ ।’
गंंगा स्नानप्रति आस्था राख्नेहरु टाढा टाढाबाट पनि त्यहीसम्म पुग्छन्, त्यहाँसम्म नपुग्नेहरु कमलामा पनि स्नान गरेर शुद्धिकरण गरेका हुन्छन् । ‘पापकी छय धर्मकी जय हई भगतकाली राघो बन्नी अपन अपन इष्ट देवता के आसन डोलै छौ’ भन्दै धामीझाँक्री मादल करताल झाइल र ढोलपिपही बजाउँदै गंगा तथा कमला नदीमा पुगेका हुन्छन् । धनुषा, सिरहा र भारतको त्रिवेणीमा अवस्थित कमला नदीमा धामीझाँक्री बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेका हुन्छन् । गंगा तथा कमला नदीमा सूर्योदयसँगै हजारौँ नव धामीझाँक्री बोक्साबोक्सी पुगेका हुन्छन् ।
नदी किनारको टाढा टाढासम्म समूह समूहमा भूत खेल्ने, धामी, झाँक्रिहरुले महराइ (गीत) गाइरहेका हुन्छन् । नदीको किनारभरि भूत नै भूत नै हुन्छन् । कमला नदीको पाँच किलोमिटरसम्म दुवैपट्टिका नदीका किनारमा भगताले देवता खेलिरहेका हुन्छन् । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै भगतालाई प्रश्न गर्ने गीतहरु गाइरहेका हुन्छन् । मानवको शरिरमा रहेका भूतप्रेत तथा देवी देवताहरु ती महराइ र बाजागाजामा झुमिरहेका हुन्छन् ।
आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमा स्नान गरेका हुन्छन् । कतिपय नयाँ धामी झाँक्रीहरु पनि शुद्धिका लािग कमला नदीमा स्नानका लागि गएका हुन्छन् ।
कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामी झाँक्रीको हुन्छ । तन्त्र शास्त्रअनुसार तन्त्र सिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ । टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन् ।
दशैंमा धामी झाँक्रि सक्रिय
विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिरातिमा आ–आफना गुरुसँग मन्त्र सिक्छन्, कालीपूजा अर्थात अमावस्यको राती सिद्धि गर्छन् । देवी देवताको गान स्थायी होस् भनेर आआफनो घरबाट आहुती (ढकनामा आगो बालेर बनाइएको) बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् । नदीमा स्नान गर्नुअघि उनीहरूले हातहातमा माटोको ढकना र बेत लिएका हुन्छन् । धामीले भनेको आधारमा उनीहरू भूत खेलिरहेका हुन्छन् ।
ढकनामा आगो राखेर बालिएको धुप बालि रहेका हुन्छन् त्यही बलिरहेको ढकना लिएर कमला नदीमा भूत खेरिहेका हुन्छन् । दनदनी बलिरहेको त्यो ढकना उदाउँदो सूर्यलाई देखाएर उनीहरू स्नान गर्न नदीमा पसेका हुन्छन् । धामीहरु त्यहाँ महराई गाइरहेका हुन्छन् । यसरी नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको सँख्या पनि उल्लेख्य हुन्छ । प्रसादहरुका रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशन्न हुँदै घर फर्केका हुन्छन् ।
अन्धविश्वासका कारण वारम्बार बोक्साबोक्सीको नाममा महिलामाथि हिंसा हुने गरेको छ । कमल स्नान, गंगा स्नान, भूतप्रेत, धामीझाँक्रि सबै अन्धविश्वास हुन् । कमला नदीमा लाग्ने भूत मेलाको दृष्टान्त उठ्ने गरे पनि आधुनिक विज्ञानलाई समेत चुनौती दिने यस्ता घटनाको हालसम्म अनुसन्धान हुन सकेको छैन ।
धामी झाँक्रिको व्यपार
भूत मेलाको दिन धामी क्राँक्रिहरुले खुब आम्दानी गरेका हुन्छन् । जसको घरमा देवी देवता तथा भूतप्रेतको समस्या हुन्छन् उनीहरुले धामीलाई रकम दिएर कमला नदीसम्म लगेका हुन्छन् । धामीहरुले पनि मोटो रकम असुलेका हुन्छन् । धोती, कुर्ता, गमछा लिनुको साथै एक हजारदेखि पाँच हजारसम्मका रकम लिएका हुन्छन् । रकम नदिएसम्म धामीहरु कमला स्नान गराउन जाँदैनन्, अहिले भूत मेला पनि व्यपार भएको छ । पहिला पहिला धामीलाई धोती, कुर्ता, गमछा मात्र दिएपछि पुग्थ्यो तर अहिले धामीहरुले बार्गेनिङ गरेर पैसा लिन्छन् अनि मात्र स्नान गराउनका लागि लैजान्छन् । यो मेलामा धामीले राम्रा आम्दानी गरेका हुन्छन् ।
त्यस्तै, केही वर्ष पहिला कमला स्नान गर्न जाँदा होस् वा गंगा स्नान गर्न जाँदा होस् । त्यहाँ केही पनि पाउँदैन्थ्यो । भक्ताहरु खानेकुरादेखि लिएर हरेक कुरा आफ्नै साथमा लग्थे । दही, च्युरादेखि लिएर अन्य परिकारहरु लग्थे तर अहिले पछिल्लो समय नदी किनारमा बजार लाग्छ । त्यही सबै कुरा विक्रि भइरहेका हुन्छन् । दही, च्युरादेखि लिएर हरेक चिजहरु विक्रि भइरहेका हुन्छन् । स्नान गर्न गएका भक्तालुहरु स्नान गरेपछि अनिवार्य रुपमा त्यहाँ दही, च्युरा खान्छन् । र फर्किने बेलामा केही नकेही कोशेली अवश्य खरिद गरेका हुन्छन् । त्यसैले भूत मेलाका कारण व्यपारमा पनि वृद्धि भएका हुन्छन् ।
धामीको भय
दशैंदेखि कात्तिक पूर्णिमासम्म धामीहरु निकै सक्रिय हुन्छ । दशैंमा धामीहरुले आफ्नो मन्त्र सिद्धिका लागि विभिन्न पूजापाठ गरेका हुन्छन् भने नयाँ नयाँ धामी पनि बनेका हुन्छन् । दशैंमा धामी बनेकाहरु शुद्धि तथा सिद्धिका लागि गंगा स्नान तथा कमला स्नानका लागि गएका हुन्छन् । कतिपय अवस्थामा धामीहरुले गाउँघरमा भय पनि देखाएका हुन्छन् । पैसा कमाउनका लागि सोझा, सिधा जनतालाई भय घरमा कसैलाई कुनै विरामी छ भने धामीले यसलाई भूत लागेको छ । त्यसलाई हटाउनका लागि विशेष पुजाआजा गर्नुपर्ने भनेका हुन्छन् । गंगा स्नान गराउनेदेखि लिएर कमला स्नानसम्मका कुरा भनेका हुन्छन् ।
डाक्टरले भने जस्तै विरामीले सबै कुरा जसरी मानेका हुन्छन्, त्यसरी नै धामीले भनेका सबै कुरा उनीहरु मान्न बाध्य भएका हुन्छन् । भौतिक विज्ञानको मान्यताअनुसार हुँदै नभएको ‘भूतप्रेत’ को त्रास देखाएर अझै गाउँघरमा सोझा र निरक्षर मानिसलाई ‘भूतप्रेत’ भगाउने खेलमा धामीझाँक्रिले अलमलाई रहेका हुन्छन् । धामी झाँक्रिको यस्तो बार्गेनिङमा पुरुषभन्दा महिला बढी फँसेका हुन्छन् । महिलाहरुले यस्ता कुरामा बढी विश्वास गरेका हुन्छन् । यस्ता कुरामा निरक्षर महिलाले मात्र होइन, साक्षर महिलाहरु पनि यस्ता भूतप्रेत, धामी झाँक्रिमा विश्वास गरेका हुन्छन् ।
गाउँघरका सोझा महिलालाई धामीझाँक्रीले ‘भूतप्रेत’ को त्रास देखएर आफ्नो जीविका चलाइरहेका हुन्छन् । धामीझाँक्रीकै आदेशअनुसार कमला स्नान गरी ‘भूतप्रेत’ भगाएर गाउँ फर्किएका महिलामध्ये कतिपयलाई कैयौँ ठाउँमा बोक्सी भन्दै हत्यासम्म हुने र त्यसमा तिनै धामीझाँक्रीकै संलग्नता रहेका हुन्छन् ।


तपाईको प्रतिक्रिया