चिनी उद्योगीले हराउन शक्ति लगाउँछ भने मलाई विश्वास छैन (अन्तरवार्ता)

-राकेश मिश्र
-नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

सर्लाही क्षेत्र नम्बर ४ पुनः चर्चामा आएको छ । यसपाली लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो त्यहीबाट चुनाव लड्नु हुन्छ भनि चर्चा भइरहेको छ । यसअघि धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव जित्नु भएका महतो आफ्नो क्षेत्र खोज्दै सर्लाही क्षेत्र नम्बर ४ पुग्नु भएको छ । जब कि त्यहाँबाट लोसपाका नेता राकेश मिश्र चुनाव लडि रहनु भएको छ । यसअघि चुनाव हार्नु भएका राकेश मिश्र पुनः त्यहीबाट चुनाव लड्ने तयारी गरिरहनु भएको छ । यसै बीचमा वरिष्ठ नेता महतोको चर्चा सुरु भएको छ । प्रस्तुत छ, चुनावको तयारी, जसपा विभाजन, लोसपा गठनलगायतका विषयमा सहारा टाइम्सले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राकेश मिश्रसँग गरिएको कुराकानीको सम्पादीत अंश

जसपाबाट लोसपा विभाजन भएपछि संगठनको काम कसरी अगाडि बढी रहेको छ ?
–जसपा नेपालबाट लोसपा अलग भएपछि नाम नयाँ मात्र हो तर संगठन पुरानै हो । पूर्व राजपाको संगठन सबै जिल्लामा छन् । केही दुई चारजना मान्छे जसपामा नै बस्नुभयो । अरु बाँकी नेता तथा कार्यकर्ताहरु हामीसँगै हुनुहुन्छ । त्यसैले हामीलाई संगठन बनाउनमा समस्या भएको छैन । जिल्ला जिल्लामा हामी आफ्ना नेता तथा कार्यकर्ताहरुलाई भेटिरहेका छौं । पार्टी किन विभाजन भयो भने कुरा जनतालाई बुझाउने प्रयास गरिरहेका छौं । लोसपामा नयाँ नयाँ मान्छेहरु पनि प्रवेश गरिरहेका छन् त्यसलाई पनि स्वागत गरिरहेका छौं । विभाजनपछि छरिएर रहेका नेता तथा कार्यकर्तालाई समेट्ने काम गरिरहेका छौं । देशैंदेखि छठसम्म हाम्रा पार्टीका शीर्ष नेताहरुसहित वरिष्ठ नेताहरु जिल्लामै रहनुभयो । हरेक नेता तथा कार्यकर्तालाई भेट्नु भयो । उहाँहरुको कुरा सुन्नुभयो । अब त्यसको समिक्षा गरेर अगाडि बढ्ने कुरा भइरहेको छ ।

जिल्ला तथा क्षेत्रका नेता तथा कार्यकर्ताहरुको कस्तो रेसपोन्स पाउनुभयो त ?
–लोसपा नेपालप्रति आम नेता तथा कार्यकर्ताको आकर्षण बढेको छ । यो बीचमा भएको कार्यक्रमहरु तपाईले पनि हेर्नु भएको होला, बुझ्नु भएको होला । हामीलाई लाग्दैन कि पार्टी विभाजन भएको छ, उही कार्यकर्ता, उही जोश उमङगका साथ सबै नेताहरु साथमै छन् । सबैले हामीलाई हौसला दिइरहनु भएको छ । उही जोशका साथ अगाडि बढ्नुस् भनिरहनु भएको छ । तर उहाँहरुको एउटा गुनासो छ, जसको कारणले पार्टी विभाजन भएपनि यो हुनु हुँदैन्थ्यो । यसले मधेशलाई ठूलो घाटा लागेको छ । पार्टी विभाजनप्रति मधेशका जनता चिन्तत छ । तर परस्थितिले त्यस्तै गराई दियो भन्दै उहाँहरुले पनि चित्त बुझाउनु भएको छ । लोसपालाई लिएर अगाडि बढ्न भनेको छ । हामी संगठन विस्तार, सुदृढीकरणका विषयमा छलफल गरिरहेका छौं । चाँडै नै सांगठिनक कार्यक्रमहरु लिएर जनतामा जाँदैछौं ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र तपाईहरुको लोसपा नेपाल एकैपटक विभाजन भयो तर माधव कुमार नेपालको पार्टीको सांगठनिक काम धेरै अगाडि बढी सकेको छ तर तपाईहरुको लोसपा जहाँकै त्यही छ किन ?
–लोसपामा पनि आन्तरिक रुपमा सांगठनिक कामहरु भइरहेको छ । लोसपाले पनि कार्यकारिणी समिति बनाएको छ । विभाजन भएसँगै चाडबाड सुरु भयो । सबैजना चाडबाडमा लागे । पार्टीका सबै शीर्ष नेताहरु आआफ्नो क्षेत्र तथा जिल्लामा जानुभयो । उहाँहरु पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । नेता तथा कार्यकर्तामा उहाँहरुले पार्टी विभाजनको औचित्य बारे प्रष्ट पार्नुभयो । चाडबाडहरु सकिएका छन्, नेताहरु सबै काठमाडौँ फर्कि सक्नु भएको छ । अब सबै काम तीब्र रुपमा अगाडि बढेका छन् । कार्यकारिणी समिति विस्तार, केन्द्रीय समिति गठनलगायत भातृ संगठनको निर्माण, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका कामहरु अब धमाधम हुन्छ । नेकपा एकीकृत समाजवादी पार्टी एमालेबाट अलग हुने वित्तिकै सरकारमा गयो । लोसपाबाट जसपाबाट विभाजन हुने वित्तिकै जनतामा गयो । नेकपा एकीकृत समाजवादी पार्टी एकल निर्णयको आधारमा अगाडि बढी रहेको छ भने लोसपा सामूहिक निर्णयको आधारमा अगाडि बढी रहेको छ । यी दुई पार्टी बीच सिद्धान्त, विचारलगायतका धेरै कुरामा फरक छन् । साधन स्रोतमा पनि फरक छ । लोसपा शोसित, पिडितहरुको पार्टी हो । यो अधिकार प्राप्तिको लागि जन्मेको पार्टी हो । तर नेकपा एकीकृत समाजवादी पार्टी शासकहरुको पार्टी हो । बुर्जुवा, एलिट कम्युनिष्टहरुको पार्टी हो । पक्कै पनि उनीहरुको र हाम्रो बीचमा काम गराईमा फरक हुन्छ नै ।

त्यही एलिट कम्युनिस्ट पार्टीलाई साथ दिएको कारण तपाईहरुको (जसपा) पार्टी विभाजन भएको हो भनिन्छ नि ?
–जसले यो कुरा भनिरहेका छन्, त्यो फेस सेभिङ्गका लागि मात्र भनिरहेका छन् । केही नलागेपछि यस्ता आरोप लगाउने गर्छन् । पार्टी किन विभाजन भयो, त्यसको बारेमा जनतालाई थाह भइसक्यो । दुई तीन महिनादेखि त्यही सम्झाउने काम हामीले गर्यौं । हाम्रो रणनीति नै जसको सरकार भएपनि मधेशको माग पूरा गराउनका लागि उसँग दोस्ती गर्ने हो । त्यो कम्युनिस्ट होस् वा गैर कम्युनिस्ट । कस्ता पार्टी हुन्, वा कस्ता व्यक्ति हुन् त्योसँग हाम्रो सरोकार होइन । हाम्रो सरोकार भनेको, हाम्रो माग कसले पुरा गर्छन् त्योसँग मात्रै हो । केपी शर्मा अ‍ोली नेतृत्वको पार्टीसँग हामी संगत गर्नुको कारण पनि त्यही हो । सो पार्टीले हाम्रो माग पुरा गर्ने भएपछि हामी त्योसँग नजिक भएका थियौं । धेरैजसो माग पुरा पनि भयो । ओली नेतृत्वको सरकारले मधेशको माग जति पूरा गर्यो त्यति अरु कसैको पालामा वा सरकारले गरेको थिएन । अझै केही दिन सरकार रहेको भए, सायद मधेशका अधिकाँश माग पूरा हुन्थ्यो र त्यो कार्यान्वयनमा आउँथ्यो । तर संयोग त्यो सरकार नै रहेन । अहिले पनि हामीले काँग्रेसलाई सहयोग गरेका छौं । मधेशको माग पुरा गर्नेछ कि भनेर शर्तमा हामी काँग्रेसलाई सघाएका छौं । त्यसैले जसले कम्युनिस्टलाई साथ दिएको कारण जसपा विभाजन भयो भन्छन् भने बुझ्नुस् त्यो मधेश विरोध हो, मधेशको माग पुरा नहोस् भनि चाहेका व्यक्ति होला ।

त्यसो भए अ‍ोलीले संसद विघटन गर्नु भएको कार्यमा तपाईहरुले किन सहयोग गर्नुभयो त ?
–हामीले संसद विघटनमा कहिले कसैलाई साथ दिएको होइन । पहिलो पटक संसद विघटन गर्दा हामी सडकमै गएर त्यसको विरोध गरेका थियौं । दोस्रो पटक संसद विघटन गर्दा हामी मात्र होइन, कोही पनि सडकमा आएका थिएन । बाहिर बाहिर विरोध गरिरहेको थियो । त्यसबेला हाम्रो पार्टी र एमालेबीच सत्ता गठबन्धन भएको कारण हामी खुलेर विरोधमा नआए पनि भित्र विरोध गरेका थियौं । संसद विघटन गर्नु राम्रो होइन भनि त्यतिबेला केपी शर्मा अ‍ोलीलाई हामीले भनेका थियौं । हामीलाई जानकारी नै नदिइकन ओलीले त्यो कदम चाल्नु भएको थियो । त्यतिबेला हाम्रो मतको दुरुपयोग गर्नुभएको थियो । हाम्रा माग पुरा गर्ने भएपछि हामीले सरकार बनाउन उहाँलाई सहयोग गरेका थियौं तर त्यसलाई अरुले संसद विघटन गर्नका लागि सहयोग गरेको प्रचार गरे, त्यो गलत थियो । त्यो बेलाको डकुमेन्ट र परस्थिति हेरेपछि सबै कुरा छर्लङ हुन्छ ।

प्रसङ्ग बदलौ, सुन्दैछौ, तपाई चुनाव लड्ने क्षेत्र (सर्लाही क्षेत्र नम्बर ४) बाट तपाईकै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले चुनाव लड्ने सोंच बनाउँदै हुनुहुन्छ रे ?
–म पनि सञ्चारमाध्यमबाट यो कुरा थाह पाएको हुँ तर त्यसमा कुनै सत्यता छैन । यसको बारेमा पार्टीले कुनै निर्णय गरेको छैन । अलरेडी म त्यस क्षेत्रबाट चुनाव लडि सकेको व्यक्ति हुँ । सो क्षेत्रका प्रत्यासी हुँ । चुनाव हारेदेखि हालसम्म त्यो क्षेत्र छाडेको छैन । चुनाव जितेको नेता जस्तो म पनि क्षेत्रमा घुमेर जनताको दुखसुखमा साथ दिइरहेको छु । सकेजति विकासका काम गरिरहेको छु । मलाई ँमतदान गर्ने जनतालाई मैले निराश हुन दिएको छैन । म मेरा जनतालाई म त्यहाँबाट चुनाव हारेको हुँ भनि फिल हुन दिएको छैन । कतिपय नेताहरु चुनाव हारेपछि जनतालाई मुख देखाउन पनि जाँदैनन् तर म हरहमेशा जनताको दुखसुखमा साथ दिएको छु, नपत्याए एकपटक गएर सोध्नुहोस् । जनताबाट नै जवाफ पाउनु हुन्छ । म अगामी चुनावका लागि तयारी गरिरहेको छु । जहाँसम्म राजेन्द्र महतोको कुरा हो, उहाँ वा पार्टीका अरु कुन नेताहरु कहाँ कहाँबाट चुनाव लड्नु हुन्छ त्यो त पार्टीले तय गर्ने हो । उहाँ त्यस क्षेत्रबाट चुनाव लड्नु हुन्छ भन्ने कुरा मलाई लाग्दैन । सायद उहाँ धनुषाबाट नै चुनाव लड्नु हुन्छ । त्यहाँबाट चुनाव नलडेपनि सर्लाहीमा उहाँकै क्षेत्र (क्षेत्र नम्बर २) खाली छ, क्षेत्र नम्बर पनि एक खाली छ । उहाँ जस्तो वरिष्ठ नेता तथा राष्ट्रिय छवी भएका व्यक्ति जहाँबाट चुनाव लडेपनि जित्नु हुन्छ ।

एकपटक हारिसकेपछि पुनः त्यही क्षेत्रबाट चुनाव जित्छु भनि कुरा तपाईलाई किन लाग्छ ?
–अघिल्लो पटक म चुनाव जितेकै जस्तै हो । मेरो प्रतिस्पर्धी (अमरेशनारायण सिंह) धाँधली गरेर जित्नुभयो त्यो कुरा सबैलाई थाहै छ । निष्पक्ष ढंगबाट चुनाव गराएको भए मेरो जित निश्चित थियो । तपाई क्षेत्रमा गएर यो कुरा बुझ्न सक्नुहुन्छ । त्यहाँका जनताले नै तपाईलाई सबै कुरा बताइ दिन्छन् । मलाई जनताले साथ दिएको छ । मतदाताले मलाई मतदान गर्न चाहेका हुन्, त्यही भएर म पनि कन्फिडेन्स थिए र अहिले पनि कन्फिडेन्स छु कि त्यहाँबाट चुनाव जित्छु ।

काँग्रेस जस्ता ठूला पार्टीका नेता अमरेश सिंह, माओवादी केन्द्रका जस्ता ठूला पार्टीका नेता शिवपुजन राय यादव जस्ता नेताहरुलाई पनि पछारेर चुनाव जित्छु भनि आँट तपाईमा कहाँबाट आयो, तपाईको ह्वील पावर के हो ?
–मेरो ह्वील पावर भनेको जनताको विश्वास हो । मैले जनताको लागि काम गरेको हुँ । जनताको हरेक दुख सुखमा साथ दिएको हुँ । जनताको पीडा के हो त्यो मैले बुझेको हुँ । अरु नेताको जस्तो धोकाधरीको राजनीति गर्दिन । गुण्डा परिचालन गर्दिन । थर्कार धम्काएर राजनीतिक गर्दिन । चुनावमा मत खरिद विक्रिको व्यपार गर्दिन । म आफ्नो कर्ममा विश्वास गरेर जनताको मन जितेर चुनाव जित्छु जस्तो मलाई लाग्छ । म आफ्नो क्षेत्रमा मात्र किसानको ९० करोड रुपियाँ भन्दा बढी रकम भुक्तानी गर्न लगाएको छु । वर्षौदेखि धेरै नेताहरु किसानको पैसा दिलाउनमा लाग्नुभयो तर कसैले सक्नुभएन । उहाँहरुले किसानको कुरा गरेर चीनी उद्योगीहरुसँग बार्गेनिङ गर्नुहुन्थ्यो । तर म त्यसो गरिन । किसानको पीडालाई म आफ्नो पीडा सम्झेर उद्योगीहरुसँग लडे । सरकारसँग लडे र किसानको रकम दिलाउन लगाए । मेरा शक्ति भनेकै किसान हुन् । त्यहाँका सम्पूर्ण किसान जुनसुकै पार्टीका होस् सबैले मलाई साथ दिएका छन् । ती सबै किसान लोसपाका हुन् भनि म भन्न सक्दिन तर ती सबैको साथ मलाई छ ।

उखु किसानहरुले सबै रकम पाउनु भयो त ?
–लगभग सबै पाउनु भयो । अब सबै मिलाएर त्यही पाँच सात करोड रुपियाँ बाँकी होला । त्यो पनि म दिलाउने प्रयासमा लागेको छु । देशभरिका उखु किसानका करिब ३०० करोड रुपियाँ बक्यौता थियो । त्यसमध्ये मेरै जिल्ला र त्यसमा पनि मेरै क्षेत्रका किसानको १०० करोड रुपियाँ बक्यौता थियो । ती सबै रकम दिलाउन म सफल भएको छु । अब थोरै थोरै बाँकी होला । उद्योगीहरुले किसानको रकम दिँदा अलिअलि बाँकी राखेर दिएका छन् । मानौ कसैको पाँच लाख रुपियाँ बक्यौता छ भने त्यसमा ३०–४० हजार राखेर अरु बाँकी रकम दिएको छ । अधिकाँश किसानका साथ त्यस्तो गरेका छन् उनीहरुले । मोटो रकम दिएर १०–२० हजार बाँकी राखेपछि त्यो माग्न आउँदैन भनि उद्योगीहरुको बुझाई रहेको छ तर त्यस्तो होइन, किसानको मेहनतको पैसा हो, एक एक रकम असुल्छन् ।

जुन उद्योगीबाट किसानलाई रकम दिलाउनुभयो आज त्यही उद्योगीले तपाईलाई चुनाव हराउने कुरा गर्दैछन् के यो सही हो ?
–उद्योगीहरु मलाई चुनाव हराउनमा लाग्नु हुन्छ भने कुरामा मलाई विश्वास छैन । उहाँहरुको मैले त्यस्तो केही विगारेको छैन, जसले उहाँहरु मलाई चुनावै हराउनतिर लगोस् । उहाँहरुले गरिब किसानको रकम बाँकी राख्नु भएको थियो । त्यही दिलाइ दिनका लागि मैले प्रयास गर्दिएको मात्र हुँ । किसानलाई रकम दिलाइ दिएको कारण मलाई उहाँहरु हराउनका लाग्नु हुन्छ भने मलाई यसमा केही भन्नु छैन । तर तपाईले भने जस्तो उद्योगीहरु मलाई हराउनकै लागि समय खेर फाल्नु हुन्छ भने कुरामा रत्तिभर विश्वास छैन ।

तपाईको प्रतिक्रिया