गुरुवागाउँ मेला

बाँके मंसिर ३ गते । बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुने गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरानो मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछन् । ऐतिहासिक मेलाको संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको कार्यवाहक अध्यक्ष धितालले बताउनुभयो ।

गुरुवागाउँ मेलामा किसानले भेडा जुधाउने प्रतिस्पर्धासमेत गर्ने गर्दछन् । कोरोना महामारीलाई मध्यनजर गर्दै धेरै भीडभाड हुने नौटङ्की नाच यस वर्ष पनि सञ्चालन नगरिने गुरुवागाउँ मेला व्यवस्थापन समितिका अध्यक्ष तीर्थराम कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा रामलीला भने सञ्चालन गरिने छ । मेलास्थलमा मदिराजन्य पसल बेलुका ७ बजे अनिवार्य बन्द गर्नुपर्ने, जुवातासजन्य क्रियाकलाप सञ्चालन गर्न नपाइने तथा मेला राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय बैठकबाट गरिएको छ ।

यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको बिहानैदेखि ठूलो भीड लागेको छ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

तपाईको प्रतिक्रिया