Khadya Bibhag

ओलीलाई चाहिन्छ पैसावाला मधेशी

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा सम्पन्न भएको छ । केपी शर्मा ओली अध्यक्षमा पुनः जित्नु भएको छ । ओलीले सर्वसम्मतिबाट एमालेको अध्यक्ष बन्न खोज्नु भएको थियो तर उहाँ सक्नु भएन । उहाँको विरुद्धमा भिम रावलले उम्मेदवारी दिनु भएको थियो । यद्यपी रावल जित्नु भएन । रावल हारेपनि नैतिक रुपमा उहाँको जित भएको छ । ओलीको निरंकुशता तथा एकतन्त्रीय शासनविरुद्ध रावलले गरेको विद्रोहलाई आमजनताले समर्थन गरेको छ । त्यही नै उहाँको जित हो ।

तर मधेशबाट सधै आलोचित ओली फेरि एकपटक मधेशलाई अँगुठा (बुढी औंला) देखाई दिनु भएको छ । ३०१ सदस्यीय कार्यसमितिमा १९ जना पदाधिकारी छन् । त्यसमा एकजनालाई मधेशीलाई मात्र उहाँले राख्नु भएको छ । अ‍ोलीले धनुषाका रघुवीर महासेठलाई सचिवमा राख्नु भएको छ । रघुवीर महासेठ जो पार्टीमा ‘डोनर’ को रुपमा चिनिनु हुन्छ । उहाँ विश्वकै धनढ्यमध्येमा पर्ने उपेन्द्र महतो (सिरहा) का ज्वाइँ हुनुहुन्छ । उपेन्द्र महतोको वहिनी जुली महतोसँग उहाँले विहे गर्नु भएको छ । पदाधिकारीमा रघुवीर महासेठ मात्र होइन, जुली महतो पनि केन्द्रीय सदस्य भएर एमालेमा आउनु भएको छ । पार्टीमा प्रश्न उठ्न थालेको छ, रघुवीर महासेठको पार्टीमा के योगदान छ, पैसाले सहयोग गर्नु बाहेक अरु के योगदान छ उहाँको, यदि पैसाकै बलमा पार्टीको उच्च पदमा जान सकिन्छ भने जसले पनि पैसा हाल्न सक्छ ।’

रघुवीर महासेठ भन्दा बढी योगदान दिने नेता तथा कार्यकर्ताहरु पार्टीमा छन् । उहाँ भन्दा सिनियर नेताहरु पनि पार्टीमा छन् । तर रघुवीर महासेठलाई मात्र ओलीले काँखी च्याप्नुले पार्टीभित्र आलोचना भइरहेको छ । त्यही रघुवीर महासेठले पदाधिकारीका लागि भएको मतदानमा सबभन्दा कम एकहजार ५०० सय मत ल्याउनु भएको छ । ओलीले महासेठलाई पार्टी पदाधिकारीमा मात्र होइन, सरकारमा पनि पटक पटक लग्नु भएको छ । ओलीले उहाँलाई पटक पटक मन्त्री बनाउनु भएको छ । रघुवीर महासेठ मन्त्री हुन सक्नु भएन भने उहाँका श्रीमती जुली महतोलाई पनि उहाँले मन्त्री बनाउने गर्नुभएको छ । श्रीमान नभए श्रीमती, श्रीमती नभए श्रीमान मन्त्री बन्ने गर्नुभएको छ । मधेशमा यत्रो जनसँख्या छ, यतिका नेताहरु छन् पदाधिकारीमा एकजना मधेशी मात्र किन भनि प्रश्न उठ्न थालेको छ ।

खुल्ला सदस्यमा त एकजना पनि सदस्य राखिएको छैन । एकजना लालबाबु पण्तिलाई अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको थियो । तर पण्डितले सो पद अस्वीकार गर्नुभयो । उहाँ सचिवका दावेदार हुनुहुन्थ्यो तर अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा राखेपछि उहाँ सो पद अस्वीकार गर्नुभयो । त्यहाँ बस्न मान्नु भएन । रघुवीर महासेठबाहेक अरु जति मधेशी केन्द्रीय सदस्य भएका छन् ती सबै भुगोल र आरक्षित कोटाबाट मात्र भएका छन् । के मधेशी भुगोल र आरक्षणमा मात्र सिमित रहने हो त भनि प्रश्न उठ्न थालेको छ । माओवादी केन्द्र छाडेर एमाले रोज्नु भएका प्रभु साह पनि प्रदेश २ को भुगोलबाट केन्द्रीय सदस्य बन्नुभएको छ जबकी उहाँ पनि एमालेमा सचिवका दावेदार हुनुहुन्थ्यो । उहाँले अध्यक्ष अ‍ोलीसँग सचिवमा बार्गेनिङ गरिरहनु भएको थियो ।

त्यति मात्र होइन, प्रदेश २ मधेशी बाहुल्य प्रदेश हो । त्यसलाई मधेश प्रदेश पनि भनिन्छ । तर प्रदेश २ बाट ९ जना केन्द्रीय सदस्य बनाइएकोमध्ये लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल र कल्पना कटुवालसहित तीनजना पहाडी समुदायबाट नै राखिएको छन् । रघुवीर महासेठ सचिव हुनु भएको छ भने प्रदेश २ बाट खुल्लातर्फ ९ जना निर्विरोध भएका छन् । प्रभु साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल, कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा निर्विरोध हुनु भएको छ ।
मधेसी कोटाबाट कुन्दन प्रसाद कुशवाहा, गंगा प्रसाद यादव, मोतीलाल दुगड, जगदीशप्रसाद कुसियेत, पशुपति दयाल मिश्र, प्रभु हजारा, प्रमोदनारायण यादव, राजकुमार प्रसाद गुप्ता, रामचन्द्र मण्डल, रामलाल शाह, सरोज कुमार यादव, शुशिल कुमार श्रीवास्तव, हरिनारायण महतो, कमला देवी महतो, जुली कुमारी महतो, ज्वाला कुमारी साह, रितादेवी शाह, शिला यादव, सरीता कमारी गिरी (यादव) निर्विरोध हुनुभएको छ ।
दलित कोटाबाट पनि रामरति देवी रामलाई ल्याएको छ भने थारुबाट गंगा चौधरी र मञ्जु कुमारी चौधरीलाई केन्द्रीय समिति ल्याइएको छ । त्यस्तै मुस्लिम कोटाबाट तैयव हुसेन मियाँ, मोहम्मद समिर, मोहम्मद हारून हलुवाई, सिराज अहमद फारूकी, साजिदा खातुन सिद्धिकीलाई ल्याइएको छ । त्यस्तै महिला कोटाबाट भगवती चौधरी, बुद्धिदेवी महतो, शान्ता चौधरीलाई पनि ल्याइएको छ ।

प्रदेश २ बाट केन्द्रीय सदस्य बन्नु भएका राजकुमार लेखीले भन्नुभयो, एमालेले मधेशीलाई यसपाली राम्रो स्पेश दिएको छ, यदि कोही आउन चाहदैनन्, प्रकृयामा भाग लिँदैनन् भने उसलाई जवर्जस्ती ल्याउने कुरा पनि हुँदैन ।’ मधेशमा एउटा समस्या छ, आफू पार्टीको पदमा पुग्नुपर्छ त्यसको लागि पहल गर्दैनन्, लाग्छ अरु कसैले आफै राखि दियोस् त्यो सधै नै हुँदैन भन्दै उहाँले योगदान र क्षमता अनुसार सबैलाई ठाउँ दिएको दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया