राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारले आयोजना गरेको बाली विज्ञ भेला ‘२०७८’ सम्पन्न भएको छ । सरकारका विभिन्न निकायमा कार्यरत बाली विज्ञहरू, कृषि तथा बन विश्व विद्यालय, सुदुरपश्चि विश्व विद्यालयका प्राध्यापकहरू, नार्क अन्तर्गतका केन्द्र प्रमुखहरु, कार्यक्रम संयोजकहरू र सम्पूर्ण बाली विज्ञहरुको उपस्थितिमा भेला सम्पन्न भएको हो । कार्यक्रममा ३ वटा कार्यपत्रहरू प्रस्तुत भएको नार्कले जनाएको छ । जसमध्ये पहिलो प्रस्तुति नेपालमा वरिष्ठ बाली विज्ञको रूपमा २० औँ वर्ष सेवा गरी हाल क्यानडामा रहेको सरकारी सेवामा प्रोजेक्ट डाइरेक्टरको हैसियतमा कार्यरत डा.कालिदास सुबेदीजीले आफ्नो धारणा राख्नु भएको थियो ।
नेपालको दिगो कृषि विकासमा अनुसन्धान, विकास र नीति निर्माण तहमा कार्यरत वैज्ञानिकहरूका लागि केही मूल मन्त्रहरू उहाँले सुझाउनु भएको थियो । त्यस्तै अर्को कार्यपत्र त्रिभुवन विश्व विद्यालय किर्तिपुरका डा. भरतबाबु श्रेष्ठले पनि आफ्नो प्रस्तुती दिनुभएको थियो । उहाँले नेपालमा कसरी बाह्य मिचाहा जीवहरू (रोग, किरा, झारपात आदी) चुनौतीको रूपमा देखा परिरहेका छन् र यिनको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने वैकल्पिक उपायहरूका बारेमा कुरा राख्नु भएको थियो ।
“बाली विज्ञान सम्बन्धी नार्कमा हाल सञ्चालित मुख्य मुख्य परियोजनाहरू र विकास गरेका नवीनतम प्रविधिहरू, अनुसन्धानमूलक समस्याहरू र समाधानका उपायहरू” विषयको कार्यपत्र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमटारका प्रमुख टिकाबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । तीनवटै प्रस्तुति पछि व्यापक छलफल गरी हालका चुनौतीहरू र भावी कार्यदिशालाई समेटेर संक्षिप्त प्रस्तुति कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक डा.अमित तिमिल्सिनाले गर्नुभएको थियो ।
बैठकले किसानको घरखेतमा गरिने बाली विज्ञान सम्बन्धी अनुसन्धानको मोडेल, डाटा रेकर्ड र भण्डारण गर्ने विधि र डाटा रेकर्ड म्यानुअल तयार गर्ने, रिमोट सेंसिंग सम्बन्धी अध्ययन अनुसन्धान, विकसित प्रविधिहरूको सामाजिक आर्थिक विश्लेषण र गुणस्तरीय अनुसन्धानका लागि नार्क, शिक्षण संस्थाहरू, कृषि प्रसार अनि किसानहरूका बीच कार्यमूलक साझेदारी गर्ने निष्कर्ष निकालेर बैठक सम्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया