Khadya Bibhag

निधिलाई मधेशमै छैन गुञ्जाइस

नेपाली काँग्रेसको अगामी सभापतिको उम्मेदार घोषणा गर्नुभएका उपसभापति विमलेन्द्र निधि पार्टीभित्र आफ्नो माहोल बनाउन सक्नु भएको छैन । उहाँले जुन तामझामका साथ सभापतिका लागि उठ्नु भएको छ । त्यसको असर खासै देखिएको छैन । पार्टीमा लामो काम गर्नुभएका निधिलाई अहिले लाग्दो होला ‘यति दिन मैले के कमाए के गुमाए’ ।

अहिले उहाँको साथमा हिडिदिने, बोलिदिने र प्रचार गरि दिने मान्छे पनि छैन । केही दिन अगाडि उहाँले सभापतिमा उम्मेदवारी घोषणा तथा प्रतिवद्धता पत्र सार्वजनिक गर्दा त्यहाँको उपस्थितिले नै निधिको शक्ति पहिचान भएको छ । राजनीतिक विश्लेषकहरु भन्छन्, विमलेन्द्र निधिले कहिले आफ्नो बलमा राजनीतिक गर्नुभएन, उहाँ पार्टीका सभापति शेरबहादुर देउवाको दाहिने हात भएर काम गर्नुभयो, देउवाका विश्वास पात्र नेतामध्येका एक उहाँ हुनुहुन्थ्यो । र, पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि उहाँलाई त्यही रुपमा हेर्नुहुन्थ्यो । अहिले त्यही देउवाको विरुद्धमा उम्मेदारी दिनुभएको छ अनि ती नेता तथा कार्यकर्ताले किन निधिलाई पत्याउनु ।’

भन्नेहरुले यो पनि भन्छन् कि विमलेन्द्र निधि चुनाव जित्नु हुन्न भने कुरा उहाँलाई स्वंय थाह छ तर उहाँ देउवासँग बार्गेनिङ् गरिरहनु भएको छ । विमलेन्द्र निधिले पार्टीको कार्यबाहक सभापति चाहनु भएको छ । देउवा सभापति भएपछि प्रधानमन्त्री हुन लाग्दा पार्टीमा कार्यबाहक सभापति बनाउनुपर्ने उहाँको माग रहेको छ । देउवाले कार्यवाहक सभापति दिन तयार भए उहाँले उम्मेदवारी फिर्ता लिनु हुनेछ ।’ उहाँले पार्टीको सभापतिमा उम्मेदवारी दिनुअघि दुईटा काम गर्नुपथ्र्यो । एउटा उहाँले कम्तीमा दुई वर्ष अगाडि नै आफूलाई सभापतिको रुपमा अगाडि सारेर देउवाको गुट छाड्नु पथ्र्यो, आफ्नो छुट्टै गुट वा प्यानल निर्माणमा लाग्नु पथ्र्यो । जिल्ला जिल्लामा आफ्नो कार्यकर्ताहरु बनाउनु पथ्र्यो तर उहाँले त्यस्तो गर्नु भएन अन्तिम समयसम्म देउवासँग टाँसेर बस्नुभयो । र, एकैचोटी सभापतिको उम्मेदवारमा घोषणा गर्नुभयो ।

अर्को कुरा, उहाँले प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवालाई कन्भिन्स गर्नुपथ्र्यो । उहाँलाई आफ्नो पक्षमा पार्नुपथ्र्यो, सभापतिमा समर्थन गर्न लगाउनु पथ्र्यो तर उहाँले त्यो गर्न सक्नु भएन । बरु उहाँले सुरुमै देउवालाई चिढाउनुभयो । पार्टीका नेता शशांक कोइराला र प्रकाशनमान सिंहसँग पटक पटक छलफल गर्नुभयो । आफ्नो गुट बनाउन लाग्नुभयो । जबकी शंशाक कोइराला र प्रकाशमान सिंह देउवाका विरोधी हुनुहुन्छ । आफ्नै पक्षका कुनै नेताले विरोधीसँग हात मिलाएपछि कसैले त्यो कुरा सहन सक्दैन र निधिको हकमा त्यही भयो । उहाँले देउवालाई मनाउनु भन्दा बढी आफ्नो गुट बनाउनतिर लाग्नुभयो । रामचन्द्र पाडेल समूहलाई भाड्ने प्रयास गर्नुभयो । तर अहिले आएर उहाँहरुले पनि निधिको साथ छाड्नु भएको छ ।

निधिलाई केन्द्रमा मात्रै होइन, हिमाल र पहाडमा मात्र होइन, उहाँको राजनीतिक क्षेत्र रहेको मधेशमा पनि उहाँलाई चाहनेहरु कम छन् । निधि काँग्रेसमा मधेशका चर्चित नेता हुनुहुन्छ । पार्टीका लागि मधेशमा उहाँ जे चाहनु हुन्छ त्यही हुन्छ । काँग्रेसका लागि मधेशका खम्बा नै हुनुहुन्छ तर अहिले चुनावमा ती केही काम लाग्ने अवस्था नरहेको पार्टीका नेताहरु बताउँछन् । २०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट उहाँ चुनाव हार्नु भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उहाँलाई हराउनु भएको थियो । धनुषाका प्रभावशाली नेता मानिएका निधिलाई बाहिर (सर्लाही) बाट आएर महतोले चुनावमा हराएपछि निधिको प्रभाव मधेशमा कम भएको आँकलन पनि भइरहेको छ । त्यसले पनि सभापतिको चुनावमा असर गर्न सक्छ । यद्यपीको निधिको उम्मेदवारी घोषणाले मधेशमा चर्चाको विषय अवश्य बनेको छ ।

पार्टीमा दुईगुट छन् । त्यही अनुसार तलसम्म नेताहरु ती गुटमा बाँडिएका छन् । त्यस अवस्थामा निधिलाई मत पाउन गाह्रो छ भन्नहुन्छ मधेशका जिल्लाका पार्टी सभापतिहरु । रामचन्द्र पौडेल गुट र शेरबहादुर देउवामा गुटमा बाँडिएका मतदाताहरु निधिलाई कसरी मत दिने अन्योलनमा छन् । मधेशमा निधिको पक्षमा खुलेर लाग्ने नेता धेरै काम छन् । कोही निधिको पक्षमा भएपनि अहिले खुल्न चाहिरहेका छैनन् । प्रदेश २ का ८ जिल्लामध्ये धनुषा र पर्साका वर्तमान सभापतिहरु मात्र निधिको पक्षमा खुलेर बोल्नु हुन्छ तर अरु बाँकी सभापतिहरु अहिले खुल्न चाहनु भएको छैन किनभने उहाँहरु पहिलादेखि कुनै न कुनै गुटमा आवद्ध हुनुहुन्छ ।

मधेशमा यस्तो छ अवस्था
प्रदेश २ मा आठसय भन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् । काँग्रेस सभापति हारजितमा यो प्रदेशले प्रमुख भूमिका खेल्न सक्छ । काँग्रेशका केन्द्रीय सदस्य जंगीलाल रायले प्रदेश २ मा धेरै ठाउँमा अधिवेशन भएको छैन, कतिपय जिल्लामा वडा, पालिका, क्षेत्र सबैमा अधिवेशन भइसकेका छन् तर निधिको पक्षमा अझै माहोल नबनेको बताउनुभयो । सबै ठाउँमा अधिवेशन भइसकेपछि प्रतिनिधि चयन भइसकेपछि एउटा माहोला बन्न सक्छ तर अहिले निधिको पक्षमा खुल्न चाहिरहेको छैन । निधि पनि पार्टीका पुरानो नेता हुनुहुन्छ, देशभरि उहाँ घुम्नु भएको छ, पक्कै पनि उहाँसँग केही नकेही मत छन् नै, उहाँले त्यतिकै आँट गर्नुभएको छैन तर अहिले माहोल देखिएको छैन, रायले भन्नुभयो । बरु देउवा पक्ष र पौडेल पक्षमा नेता खुलेर आइरहेका छन् ।

के भन्नुहुन्छ जिल्लाका सभापतिहरु ?
सप्तरीका काँग्रेसका सभापति दिनेश यादवले पनि निधि पार्टीका वरिष्ठ नेता हुनुहुन्छ केही नकेही मत अवश्य ल्याउनुहुन्छ तर अरु नेताको जस्तो उहाँको सुनिश्चितता नरहेको बताउनुभयो । निधिले जति मत ल्याउनु हुन्छ व्यक्तिगत चिनजानले मात्र ल्याउनु हुन्छ । सिरहा जिल्लाका काँग्रेस सभापति रामचन्द्र यादव पनि महाधिवेशन प्रतिनिधि चयन नभएसम्म निधिको पक्षमा कस्तो महोल छ भनि भन्न नसकिने बताउनुभयो । हालसम्म निधिको पक्षमा बोलेको वा सो पक्षमा रहेको कुनै मान्छे आफूले सिरहामा नभेटाएको बताउनुभयो ।

धनुषा काँग्रेसका सभापति महेशकुमार गिरी निधिको पक्षमा खुलेर लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ, मधेशका साझा उम्मेदवार विमलेन्द्र निधि हुनुहुन्छ । मधेशमा सबभन्दा बढी मत निधिको आउँछन् ।’ धनुषावासीले निधिलाई स्वागत गरिसकेको दावी गर्दै उहाँले मधेशमा निधिको माहोल राम्रो रहेको दावी गर्नुभयो । महोत्तरीका सभापति महेन्द्रकुमार यादवले पनि मधेशमा निधि पक्षमा कुनै माहोल नबनेको बताउनुभयो । यत्रो ठूलो नेताले सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ, चर्चा हुनु स्वभाविक हो, पार्टीमा विमलेन्द्र निधिको ठूलै प्रभाव छ, पार्टीको उपसभापति हुनुहुन्छ, उपप्रधान तथा गृहमन्त्री समेत भइसक्नु भएको छ, त्यसैले मधेशमा प्रभाव नहुने कुरै छैन तर महाधिवेशनको चुनाव फरक कुरा हो, उहाँले भन्नुभयो, मुख्य कुरा उहाँको पक्षमा को को छन् तिनीहरु अहिले खुलेका छैनन्, पौडेल पक्ष कि देउवा पक्षका लागि मात्र खुलेर बाहिर आइरहेका छन्, यो उहाँका लागि कमजोर पक्ष हो ।’

सर्लाहीका सभापति नागेन्द्रकुमार रायले काँग्रेसका सभापति देउवा र उपसभापति निधिको एउटै भोटर रहेका कारणले सभापतिलाई अप्ठ्यारो बनाएको बताउनुभयो । निधिले कहाँबाट कति मत तान्नुहुन्छ उहाँको क्षमतामा भर पर्छ, उहाँले भन्नुभयो । रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री देउवाको लाइनमा बसेर निधिले काम गर्नुभएको हो, उहाँ (निधि) को आफ्नो कुनै लाइन नभएको कारण धेरै मान्छे अन्योलमा रहेको बताउनुभयो । अहिले निधिलाई सहयोग गर्ने, यदि भोली उहाँ हार्नुभयो भने जित्ने पक्षको पेलानमा पर्ने डर पनि धेरैमा रहेको कुरा आफूले पाएको उहाँले बताउनुभयो । बारा जिल्लाका काँग्रेस सभापति जयचन्द चौरसियाले पार्टीमा गुटवाजी तीब्र भएको कारणले त्यसमा उपसभापति निधिले कसरी बाजी मार्छन् त्यो उहाँको क्षमतामा भर पर्ने बताउनुभयो । उहाँ पहिलादेखि एउटा गुटमा रहेर काम गर्नुभयो आज त्यही गुटबाट दुईजना सभापतिको उम्मेदवार बन्नुभयो यसले निधिलाई क्षति गरेको उहाँको विश्लेषण छ ।

पर्सा जिल्लाका काँग्रेस सभापति अजय द्वीवेदी सम्पूर्ण अधिवेशन सम्पन्न भइ नसकेका कारणले निधिको पक्षमा कस्तो अवस्था छ त्यो त्यतिकै भन्न नसकिने बताउनुभयो । यद्यपी मधेशमा निधिप्रति राम्रै सेन्टीमेन्ट रहेको दावी गर्दै उहाँले मधेशमा सबभन्दा बढी मत निधिको मात्र आउने दावी गर्नुभयो । निधि पार्टीका पुरानो नेता हुनुहुन्छ, पार्टीमा उहाँको पनि ठूलै योगदान छ, त्यही भएर एकपटक उहाँले पनि चान्स पाउनेमा सबै आशावादी रहेको उहाँले बताउनुभो ।

निधिले आफ्नो गृह जिल्ला धनुषामै एकछत्र बनाउन सक्नु भएको छैन । धनुषामा शक्तिशाली भएपनि पार्टीमा सर्वमान्य हुनसक्नु भएको छैन । रामकृष्ण यादव, महेन्द्र यादव, रामसरोज यादवलगायतका नेताहरु निधिको पक्षमा देखिनु भएको छैन । रामसरोज यादव र महेन्द्र यादव देउवा गुटकै नेता हुनुहुन्छ तर निधिलाई भित्रैदेखि रुचाउनु भएको छैन । उहाँका लागि यो ठूलो चुनौतिको विषय हो । उहाँ आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बन्नुभएको छ तर उहाँले आफ्नो श्रीमतीलाई महाधिवेशन प्रतिनिधि र भाइलाई क्षेत्रीय प्रतिनिधि बनाएपछि उहाँमाथि परिवारवादको आरोप लाग्न थालेको छ । धनुषामा उहाँको टिकाटिप्पणी चलिरहेको छ ।

तपाईको प्रतिक्रिया