मञ्चमा बम लगाउनेलाई पार्टीमा स्वागत !

नेपाली राजनीतिमा भाग्यमानी नेताको रुपमा उपेन्द्र यादवलाई चिनिन्छ । कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि लागेपनि मधेशी राजनीतिमा आफूलाई स्थापित गराउन उहाँलाई खासै मेहनत गर्नु परेन । उहाँ माओवादीमै भएको समाजिक संस्थाका रुपमा गठन भएको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट एउटा आन्दोलन गरेपछि उहाँ एकाएक नेपाली राजनीतिको केन्द्रबिन्दुमा पुग्नुभयो । मधेशमा पटक पटक भएको आन्दोलनमा त्यसको नेतृत्व गर्नुभयो । आज उहाँ जुन ठाउँमा हुनुहुन्छ, त्यो १४ वर्षको मेहनतको कमाल हो । १४ वर्ष पनि कम होइन । त्यसअघि पनि नेपाली राजनीतिमा उहाँको कम लगानी छैन । लामो समय प्रवास जीवन बिताउनु भएका उपेन्द्र यादवको राजनीतिक जीवनमा कम चुनौती छैन ।

२०६३ मा भएको रौतहटको गौर घटना होस् या २०६४÷०६५ को आन्दोलन होस् उहाँमाथि पटक पटक ज्यान मार्ने षड्यन्त्र भएको हो । तत्कालिन मधेशी जनअधिकार फोरमबाट उहाँले राजिनीति यात्रा सुरु गरेपछि त्यतिबलादेखि नै उहाँ माओवादीको टार्गेटमा पर्नुभएको थियो । गौर घटना भएपछि त माओवादीले उपेन्द्र यादवलाई खोजीमा हिडि रहेको थियो । त्यो बेला माओवादीको डरले उपेन्द्र यादव भूमीगत जस्तै हुनुहुन्थ्यो । पहिलो मधेश आन्दोलन सुरु हुँदा पनि उहाँ त्यति खुल्ला रुपमा हिडडुल गर्नु हुन्थेन । उहाँ त्यतिबेला धेरैको आँखाको तारो बन्नु भएको थियो । उहाँ तराई मधेशमा भएको विभिन्न सशस्त्र समूहको टार्गेटमा पनि पर्नुभयो । ती समूहबाट उपेन्द्र यादवलाई कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष रुपमा धम्की पनि आउथ्यो । मंसिर ८ गते सम्पन्न कार्यकारिणी समितिको बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटा घटनाको बारेमा सुनाउँदा सबैको जीउ सिरिङ भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो पटक नेतृत्व गर्नु भएको सरकारमा अध्यक्ष यादव परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । त्यही बेला पार्टीको एउटा कार्यक्रममा भाग लिनका लागि उहाँ रौतहट जानु भएको थियो । कार्यक्रमबाट फर्किने बेला बाटोमा एउटा मेला सम्पन्नको कार्यक्रम थियो । त्यो कार्यक्रमलाई तत्कालिन सभामुख सुवाष नेम्वाङ्ले उद्घाटन गर्नुभएको थियो । तर मेलाको समापन कसले गर्ने भनि निश्चित थिएन । उपेन्द्र यादव कार्यक्रमबाट फर्किने बेला उहाँकै पार्टीका केही कार्यकर्ताले मेला समापन गर्दिनका लागि आग्रह गरेका थिए ।

तर त्यहीमध्ये केही कार्यकर्ताले कार्यक्रमका लागि पूर्व जानकारी थिएन, निमन्त्रणा थिएन भने समापन कार्यक्रममा जानु हुँदैन भनि सुझाव दिएका थिए । उहाँकै एउटा पक्षले समापन कार्यक्रममा जानुपर्छ भनि जोड दिइरहेको थियो भने अर्को पक्ष जानु हुँदैन भनि जोड दिइरहेको थियो । यो कुरालाई लिएर दुईटै पक्षमा झडप हुने स्थिति देखेपछि अध्यक्ष उपेन्द्र यादवले तपाईहरु मिलाउँदै गर्नु भन्दै त्यहाँबाट हिड्नु भएको थियो । उहाँ पथलोहिया पुग्नु भएको थियो । त्यहाँबाट एउटा खबर आयो, मेला समापन कार्यक्रममा बम विस्फोट भयो । मञ्चकै छेउमा ठूलो विस्फोट भएको खबर सुनेपछि उपेन्द्र यादव ठूलो सांस लिनु भएको थियो ।

उहाँ सम्झनु भयो, फेरि एकपटक ज्यान जोगियो । उहाँले त्यो कार्यक्रममा कसरी बम विस्फोट भयो, कसले गराएका थिए सबै कुराको छानविन गर्नुभयो । बुझ्दै जाँदा कुनै सशस्त्र समूहले सो बम विस्फोट गराएको थियो । सो विस्फोट गराउनका लागि पार्टीकै मान्छेले सहयोग गरेको पनि त्यतिबेला खुलेको थियो । यी कुराहरु उपेन्द्र यादवले भित्रैभित्रै बुझ्न लगाउनु भएको थियो । बम विस्फोटमा आफ्नै पार्टीका कार्यकर्ताको संलग्नता भएपनि उहाँले त्यतिबेला केही गर्नुभएन । त्यसलाई त्यतिकै गौण राख्नुभयो । अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठकमा भन्नुभयो, बम विस्फोट गराउनमा सहयोग गर्ने र बम विस्फोट गराउने सशस्त्र समूहका ती नेता अहिले जसपामै हुनुहुन्छ, उहाँलाई मैले नै पार्टीमा प्रवेश गराएको थिए ।’

पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई कारवाही गर्ने क्रममा उहाँले यो सन्दर्भ त्यहाँ सुनाउनु भएको थियो । उहाँले प्रदीप यादवलाई कारवाही गर्दै भन्नुभएको थियो, कुनै नेता तथा कार्यकर्ताले गलती गर्दैमा म उहाँमाथि कुनै पूर्वाग्रही राख्दिन्, सकभर सुध्रियोस्, अनुशासनमा बसोस् भने मेरो चाहना हुन्छ, प्रदीप यादव मेरो छोरा जस्तो हुनुहुन्छ, हामीसँगै बस्छौं । उहाँ अलिकति चुलबुले हुनुहुन्छ, राजनीतिमा मैले नै ल्याएको हुँ म उहाँलाई माया नै गर्छु तर पार्टीका अनुशासन सबैले मान्नुपर्छ उहाँले पनि मान्नुपर्छ ।’

उहाँले अगाडि भन्नुभयो, उहाँले मलाई मात्र गाली गरेको भए, मेरै मात्र पुतला जलाएको भए केही थिएन तर उहाँले पार्टीको झण्डा जलाउन लगाउनुभयो, पार्टी कार्यालयमा तोडफोड गर्न लगाउनुभयो । पार्टीको अनुशासन उहाँले घोर उल्लघंन गर्नुभएको छ, केही नकेही कारवाही हुनुपर्छ ।’ उहाँलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने तयारी थियो । बैठकमा प्रस्ताव नै त्यस्तै आएको थियो तर अन्य नेताहरुले साधारण सदस्यबाट नै निकाल्न नहुने धारणा राख्नुभएको थियो । प्रदीप यादवले गल्ती गर्नुभएको छ तर पार्टीबाट नै निकाल्ने खालको गल्ती गर्नुभएको छैन,त्यसैले पार्टीको साधारण सदस्यबाट निकाल्न नहुने तर्क सबैले राखेपछि अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको सदस्यबाट निकाल्ने प्रस्ताव गर्नुभएको थियो त्यसमा सबैले समर्थन जनाउनु भएको थियो ।

प्रदीप यादवलाई अनिश्चितकालका लागि पार्टीबाट निष्काशन गरेको छ । मन्त्री नबनाएको भन्दै सांसद प्रदीप यादवले पार्टीमा आन्दोलन गर्न लगाउनु भएको आरोप उहाँमाथि छ । पार्टीले केन्द्रीय समितिबाट निकाल्ने निर्णय गरेपनि पार्टीका कार्यकारिणी सदस्य नवराज सुेवदीको नेतृत्वमा एउटा छानविन समिति रहेको छ, सो समितिले पुनः छानविन गर्ने भनिएको छ । सांसद प्रदीप यादवले भन्नुभयो, पार्टीले गरेको निर्णयलाई म सम्मान गर्छु तर त्यसको सत्यतथ्य छानविन हुनुपर्छ ।’ उहाँले आफू निर्दोष रहेको बताउँदै घटनाको बारेमा सत्यतथ्य छानविन गर्नका लागि माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया