पद गुम्ने डरले चाहदैनन् महाधिवेशन (फरकमत)

–सुनैनाकुमारी यादव
स्थानीय तह, प्रदेश र संघीय चुनाव आउन लागेका छन् । त्यसको तयारी स्वरुप प्रमुख ठूला दलहरुले महाधिवशेन सम्पन्न गर्न थालेका छन् । एमाले र काँग्रेसले सम्पन्न गरिसकेका छन् भने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुन बाँकी छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनकै एउटा स्वरुप जस्तै माओवादी केन्द्रले लिएको छ । यहाँसम्म कि संसदमा एक सीट मात्र जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ । तर संसदमा चौथो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टी नेपाल र पाँचौ शक्तिको रुपमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सुरसार पनि छैन । जसपा नेपालको माउ पार्टी मधेशी जनअधिकार फोरम नेपाल हो । मधेशी जनअधिकार फोरम नेपालले विभिन्न दलसँग एकीकरण गर्दै जसपा नेपालसम्म आइपुगेको छ ।

उता, लोसपाको माउ पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी हो । तमलोपाले पनि विभिन्न दलसँग एकीकरण गर्दै लोसपासम्म आइपुगेको हो । मधेशी जनअधिकार फोरम नेपाल पार्टीको रुपमा २०६४ सालमा गठन भएको थियो । त्यस यता एकपटक मात्र महाधिवेशन भएको हो । २०६५ माघ ४ गतेदेखि पहिलो महाधिवेशन वीरगञ्जमा भएको थियो । त्यसपछि पटक पटक मिति तोकेपनि महाधिवेशन हुन सकेन । २०७२ जेठ २२ गते तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र अशोक राइ नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो । त्यो एकीकरणपछि पार्टीले २०७५ माघमा जनकपुरमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन त्यसपछि २०७६ बैशाखमा गर्ने निर्णय गर्यो तर वैशाखमा महाधिवेशन त भएन तर २३ गते नयाँ शक्ति पार्टीसँग एकीकरण भयो ।

नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्यो । समाजवादी पार्टी नेपालको पनि एकता महाधिवेशन गर्ने भनि पार्टीमा चर्चामा चलायो । तर मिति तोकेको थिएन । महाधिवशेन गर्ने भन्दै समाजवादी पार्टीको समायोजना प्रकृया धमाधम अगाडि बढि रहेको थियो । महाधिवेशनको अतोपतो थिएन तर २०७७ वैशाख १० गते मध्यराती तत्कालिन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरण भयो । एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बन्यो सो पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुर दुईजना अध्यक्ष हुनुहुन्थ्यो । एकीकरणपछि समायोजनका कामहरु विस्तारै विस्तारै अगाडि बढी रहेको थियो ।

बैठकहरुमा एकता महाधिवेशन गर्ने चर्चा पनि हुन्थ्यो तर मिति तोकेको थिएन । एक वर्ष नबत्दिै जसपामा आन्तरिक विवाद सुरु भयो र अन्ततः गत भदौमा पार्टी विभाजन भयो ।

२०५४ मा एउटा समाजिक संस्थाको रुपमा गठन भएको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको अध्यक्ष बन्नु भएका उपेन्द्र यादव हालसम्म त्यसको अध्यक्षमै रहनु भएको छ । समाजिक संस्थाको रुपमा रहेको फोरम नेपालको पहिलो महाधिवेशन २०६० साउनमा विराटनगरमा भएको थियो । मधेशी जनअधिकार फोरमदेखि जसपासम्म आइपुग्दा उपेन्द्र यादवको नेतृत्व कायम छ । नीजामतीमा भएको भए अवकाश प्राप्त हुन्थ्यो तर यतिका दिनसम्म निरन्तर नेतृत्वमा रहेर पार्टी सञ्चालन गरिरहनु भएको छ तर महाधिवेशन गर्ने रुची देखाइ रहनु भएको छैन ।

महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन हुनुभन्दा पहिले नेपाल सद्भावना पार्टी पनि अस्तित्वमा थियो । नेपाल सद्भावना पार्टी एकीकृत रहेकै बेला चौथो महाधिवेशन २०५९ मा राजविराजमा भएको थियो । त्यही महाधिवेशनबाट नेपाल सद्भावना पार्टी विभाजन भयो । त्यसपछि खुशीलाल मण्डल नेतृत्वको नेपाल सद्भावना पार्टी, सरिता गिरी नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावन पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, श्यामसुन्दर नेतृत्वको सद्भावना पार्टीले छुट्टा छुट्टै एउटा–एउटा महाधिवेशन गराएका थिए । अहिले त्यो पार्टीको अस्तित्व छैन र ती पार्टीका अध्यक्षहरु पनि अहिले कुनै पार्टीको अध्यक्ष पदमा छैनन् । तीमध्ये अधिकाँश तमलोपासँग एकीकृत भइसकेका थिए ।

मधेश आन्दोलन चलिरहेकै बेला महन्थ ठाकुरको नेतृत्वमा २०६४ तमलोपा गठन भएको थियो । तत्कालिन तमलोपाको पहिलो महाधिवशेन २०७३ असार ६ गते नवलपरासीमा भएको थियो । २०७४ बैशाख ७ गते तमलोपालगायत विभिन्न दलहरु मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बन्यो । सो दलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अलिकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादव अध्यक्षमण्डलका सदस्य हुनुहुन्थ्यो । उहाँहरु आलोपालो अध्यक्षमण्डलको अध्यक्षता गर्नुहुन्थ्यो । राजपाको कार्यकाल तीन वर्ष अलमलमै बित्यो । त्यो बीचमा एकता महाधिवेशनका लागि विभिन्न मितिहरु तय भयो तर राजपाभित्र यस्तो आन्तरिक विवाद थियो कि तोकिएको कुनै पनि मितिमा महाधिवेशन हुन सकेन ।

तत्कालिन राजपाले महाधिवेशनको मिति सार्नका लागि दुई पटक त आफ्नो विधान नै संशोधन गर्यो । तीनपटक महाधिवेशनको मिति सार्यो तर राजपाले महाधिवेशन गराउन सकेन । एकतापछि राजपाले निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो । तर महाधिवेशनको मितिसमेत नतोकी त्यो समय सकेको थियो । त्यसपछि एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर आयोगलाई बुझायो ।

लगत्तै २०७६ वैशाख ७–९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर त्यो मितिमा अधिवेशन हुन सकेन । तेस्रोपटक विधान संशोधन गर्दै एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गर्यो । तर त्यो अवधि समाप्त नहुँदै २०७७ बैशाखमा तत्कालिन समाजवादी पार्टी र राजपा बीच एकीकरण भयो र जसपा बन्यो । जसपाले महाधिवेशनको मिति पनि तोकेन र भदौंमा विभाजन भयो । जसपाबाट अलग भएर महन्थ ठाकुरले लोसपा गठन गर्नुभएको छ । जसपा र लोसपाको महाधिवेशन कहिले हुने त्यसको कुनै निश्चित छैन ।

पार्टी स्थापना भएदेखि हालसम्मको अवस्था हेर्दा मधेशवादी दलको नेतृत्व जसले गर्नुभएको छ, त्यसले त्यो अध्यक्षको पद कहिले छाड्न मान्नु भएन । जहिले पनि सोही पदमा टाँसि रहने उहाँहरुको भित्रि चाहना हो । ल ठिक छ, उहाँहरुलाई अध्यक्ष पद छाड्न मन छैन तर पार्टीको महाधिवेशन समयमा हुनु पर्यो नि । कहिले एकीकरणको नाममा महाधिवेशन सारिएको छ भने कहिले विभाजनको नाममा महाधिवशेन सारिएको छ । एउटा जिवन्त पार्टीका लागि महाधिवेशन धेरै महत्वपूर्ण कुरा हो । पार्टीका कार्यकर्ता तथा नेताका लागि महाधिवेशन एउटा महोत्सव जस्तै हो । महाधिवेशनले पार्टीको सम्पूर्ण तहलाई नयाँ जीवन दिएको हुन्छ, नयाँ जोश दिएको हुन्छ । नयाँ नेतृत्व दिएको हुन्छ । तर मधेशवादी दलका शीर्षस्थ नेताहरुको चाहना नै महाधिवेशन नगर्ने हो । महाधिवेशन नगरिकन पार्टीको अध्यक्ष बनि रहन पाइएको छ । महाधिवेशन गरेर चुनौती किन मोल लिने भन्दै महाधिवेशनलाई इगनोर गरिरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया