Khadya Bibhag

लोसपामा गुटको अभ्यास

जनता समाजवादी पार्टी नेपालबाट गत भदौंमा अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोले गठन गर्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा गुटको अभ्यास सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव, अनिल झा सदस्य रहेको अध्यक्षमण्डलीय नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल बनेको थियो । तर पार्टीभित्रको गुटबन्दीले त्यो पार्टी लामो समय चल्न सकेन र अन्ततः विभाजन भयो ।

विभाजन भएर बनेको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गत भदौं ९ गते विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भयो । दर्ता भएको भोलीपल्ट ३१ सदस्यीय कार्यकारिणी समितिको बैठक बस्यो । ११ गते पार्टी कार्यालयमा बिधिवत पार्टीको झण्डोत्तलन गर्यो । त्यो बैठकपछि हालसम्म लोसपाको कुनै बैठक बसेको छैन । स्रोतहरु भन्छन्, लोसपाका अध्यक्ष महन्थ ठाकुर र सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोबीच मनमुटाव सुरु भएपछि बैठक बस्न छाडिएको हो ।

भदौं १६ गते लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु अनिलकुमार झा र जितेन्द्र सोनल एक साथ जनकपुर पुग्नुभयो । जनकपुर एयरपोर्टमै उहाँहरुलाई भव्य स्वागत भयो । र, त्यही दिन लोसपाका नेताहरुले जनकपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुभयो । अध्यक्ष महन्थ ठाकुरले भन्नुभएको थियो, ‘जसपाभन्दा लोसपा ठूलो छ ।’ त्यहीँ दिन वरिष्ठ नेताहरु भण्डारी र महतो तथा कार्यकारिणी सदस्य झा र सोनल एकसाथ सप्तरी पुग्नुभएको थियो । सप्तरीबाट नेताहरु फर्केपछि आआफ्नो बाटो लाग्नुभयो ।

त्यहीबेलादेखि गुटबन्दीको अभ्यास सुरु भएको इतर पक्षका नेताहरु बताउनु हुन्छ । लोसपाका एक नेताले भन्नुभयो, पार्टी राम्रोसँग बनेको थिएन, राजेन्द्र महतोले जनकपुरबाट नै आफ्नो गुटको सुरुवात गर्न थाल्नुभयो । छानीछानी आफ्ना नेताहरुसँग भेट्ने, महन्थ ठाकुर अर्थात पूर्व तमलोपाका नेताहरुसँग मतलब राख्न छोड्नुभयो ।’ एकताको सन्देश दिन पार्टीका अध्यक्ष ठाकुरसहित सबै शीर्ष नेताहरु एकैसाथ मधेश झर्नुभएको थियो तर नेता महतोले पार्टीमा आफू कसरी बलियो हुने भनि सोचका साथ पार्टीका गतिविधिहरु बढाउन थाल्नुभयो ।

अर्कोतिर प्रदेश तथा स्थानीय तहमा लोसपाको सनाखत पनि चलिरहेको थियो । अन्य नेताहरु विभिन्न स्थानीय तहमा गएर नेताहरुलाई कन्भिन्स गरी लोसपातिर तान्ने प्रयास गरिरहनु भएको थियो तर नेता महतो आफ्नो धनुषा ३ क्षेत्रबाट टकसमकस नभएको नेताहरुको आरोप छ । एमसीसीका प्रतिनिधि नेपाल आउने भएपछि थाह पाएर पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो काठमाडौँ फर्किनु भएको थियो । र एमसीसीका उपाध्यक्ष फतिमा सुनारलाई भेट्नु भएको थियो । फेरि असोज ३ गते संविधान दिवसको विरोधमा कालो दिवस मनाउनका लागि अध्यक्ष ठाकुर र नेता महतो मधेश झर्नुभयो । र पर्सामा भव्य कार्यक्रमको आयोजना गर्नुभयो । जसमा लोसपाका सबै शीर्ष नेताहरुको उपस्थिति थियो । त्यो कार्यक्रम सकाएर नेता महतो काठमाडौ फर्किनु भएको थियो र अध्यक्ष ठाकुर उतै बस्नुभयो ।


तर महतो धेरै दिन काठमाडौँ बस्नु भएन । एउटा टेलिभजनलाई अन्तरवार्ता दिएर पुनः असोज ७ गते जनकपुर फर्किनुभयो । असोज ७ गते जनकपुर एयरपोर्ट पुग्नु भएका महतोलाई स्वागत गर्न उहाँ निकट केही नेताहरु मात्र पुगेका थिए । जनकपुरमा भएको बेला उहाँले आफ्ना निकट नेताहरुसँगको भेटघाटलाई तिब्र बनाउनुभयो । पार्टीको सदस्यता पनि वितरण गर्न थाल्नुभयो । उहाँ ८ गते फेरि सप्तरी पुग्नुभयो । जयप्रकाश गुप्ताको बुवाको प्रथम वार्षिकी पुण्यतिथीको अवसरमा त्यहाँ पुग्नु भएको नेता हतो सप्तरीका विभिन्न गाउँ डुल्नुभयो । विभिन्न कार्यकर्ता तथा नेताहरुलाई भेला गरेर भेट्नु भयो तर त्यसमा एकजना पनि महन्थ ठाकुर पक्षका नेताहरुको सहभागिता हुँदैन्थ्यो । आफ्ना पूर्व सदभावनाका नेताहरुलाई मात्र बोलाई बोलाई भेटिरहनु भएको थियो । असोज १० गते पुनः उहाँ जनकपुर फर्किनुभयो ।

असोज १० गते लोसपाका महिला परिवारले जितिया पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा लोसपाका अध्यक्ष ठाकुर, नेताहरु महतो, झा,, सोनललगायतका नेता सहभागि हुनुहुन्थ्यो । असोज ११ गते प्रदेश २ को लोसपा नेपाल संसदीय दलको बैठक बस्यो । त्यो बैठकमा अध्यक्ष ठाकुर, नेता महतोसतिह शीर्ष नेताको उपस्थिति थियो । त्यहाँ सर्वसम्मतिले कार्यकारिणी सदस्य सोनललाई संसदीय दलको नेता बनाउने निर्णय भएको थियो । महतोले महन्थ ठाकुरको निर्णयमा सहमति जनाउनुभएको थियो । तर पछि सोनलको विरुद्धमा आफ्ना भतिजो उपेन्द्र महतोलाई उम्मेदवारी दिन लगाउनु भएको थियो ।

चुनाव भयो तर सोनल नै जित्नुभयो । असोज १३ गते नेता महतो र झाले जनकपुरमा सदस्यता वितरण गर्नुभयो । जसमा महतोका पक्षका मात्र नेताहरु थिए । असोज १७ गते अध्यक्ष ठाकुर, वरिष्ठ नेताहरु महतो, भण्डारी नेता सोनल पुनः सप्तरी पुग्नुभयो । सप्तरीका स्थानीय तहमा जितेकाहरु जसले लोसपामा सनाखत गरेका थिए, उनीहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा सबै नेताहरु सहाभागि हुनुभएको थियो । १८ गते महतोसहितका नेताहरु जनकपुर फर्किनु भयो । नेता महतो असोज १९ गते महोत्तरी पुग्नुभयो र उहाँले नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकलाई भेट्नुभयो । जसको पछि निधन नै भयो ।

त्यसपछि दशैं सुरुभयो । दशैं अवधिभर लोसपाका शीर्ष नेताहरु आआफ्नै क्षेत्रमा रहनुभयो । शुभकामना आदाना प्रदान कार्यक्रमको नाममा नेता तथा कार्यकर्तालाई भेट्नुभयो । यहाँसम्म कि राजेन्द्र महतो दशैंमा आफ्नो गृह जिल्ला सर्लाही पनि जानुभएन । जनकपुरमा पुरै डेरा जमाएर बस्नुभयो । नेता महतो कात्तिक ७ गते काठमाडौँ फर्किनुभयो । दुई दिन काठमाडौँ बसेर उहाँ ९ गते जसपाका अध्यक्ष ठाकुरसहित सर्लाही पुग्नुभयो । सर्लाहीको चारवटै क्षेत्रमा वृहत कार्यक्रमको आयोजना गर्नुभयो । जसमा लोसपाका अधिकाँश शीर्ष नेताहरुलाई बोलाउनु भएको थियो । आफ्नो चुनाव क्षेत्र खोज्दै सप्तरी र धनुषामा भेटघाट गरेर उहाँ सर्लाही पुग्नुभएको थियो । जसरी उहाँले सप्तरी र धनुषामा आफ्नै गुटका नेताहरुलाई भेटघाट गर्नुभएको थियो, त्यसरी नै सर्लाहीमा भेटघाटलाई तीब्रता दिनुभएको थियो ।


महतो कात्तिक १४ गते जनकपुर पुग्नुभयो । दिपावलीमा काठमाडौँ फर्किनु भएका महतो पुनः कात्तिक ३० वीरगञ्ज पुग्नुभएको थियो । पर्सामा पनि आफ्ना निकट नेताहरुसँग मात्र भेटघा गर्नुभयो । पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका नेता महतोका साथै नेता लक्ष्मणलाल कर्ण, अनिल झालगायतका नेताहरु पनि सहभागी हुनुहुन्थ्यो । मंसिर १ र २ गते नेता महतो भारतको बोर्डर हुँदै बारा र रौतहट पनि पुग्नुभएको थियो । नेता महतोले भारत विहारको एउटा कार्यक्रममा भाग लिएर मंसिर ४ गते जनकपुर पुग्नुभएको थियो । र आफ्ना निकट युवाहरुलाई भेट्नु भएको थियो । मंसिर ६ गते उहाँ काठमाडौँ फर्किनुभयो ।

काठमाडौँमा केही दिन बस्नुभयो तर पार्टीको बैठक बसाउने प्रयास गर्नुभएन । उहाँ पार्टी कार्यालयमा एक्लाएक्लै अध्यक्ष ठाकुरसँग भेटघाट तथा छलफल गर्नुभयो तर पार्टीको बैठक बसाउने विषयमा कहिले छलफल गर्नुभएन । उहाँ मंसिर २० गते पुनः जनकपुर जानुभयो । विवाहपञ्चमी कार्यक्रमका साथै अन्य कार्यक्रममा पनि सहभागी हुनुभयो । मंसिर ६ गते रुपन्देही जानुभयो । जब कि लोसपाको कार्यक्रम कपिलवस्तुमा थियो । त्यहाँ राजेन्द्र महतोलाई पनि जानुपर्ने कार्यक्रम थियो तर उहाँ त्यहाँ जानुभएन । त्यहाँ अध्यक्ष महन्थ ठाकुर र नेताहरु भण्डारी र झा पुग्नु भएको थियो । उहाँहरु कपिलवस्तुबाट फर्कि सकेपछि महतो पश्चिमतिर लाग्नुभयो ।

यी सबै गतिविधिलाई महन्थ ठाकुर निकट नेताहरुले नजिकबाट नियाली रहेका थिए । महतो जहाँ जहाँ जानुहुन्थ्यो, आफ्ना गुट अनुसारको संगठन निर्माण गर्नुभएको उहाँहरुको आरोप छ । त्यसपछि अध्यक्ष ठाकुरले पनि काठमाडौँ बसेर जिल्ला अध्यक्ष, पर्यवेक्षक तथा प्रदेश अध्यक्ष धमाधम मनोनित गर्न थाल्नुभयो । हालसम्म जतिजना उहाँले मनोनित गर्नुभएको छ, त्यसमा अधिकाँश ठाकुर पक्षका नेताहरु छन् । त्यसले नेता महतोलाई साह्रै चित्त दुखेको छ ।

तर उहाँले आफै त्यसको विरोध नगरेर आफ्ना निकट नेता तथा कार्यकर्ताबाट विरोध गर्न लगाउनु भएको छ । मंसिर २५ गते अध्यक्ष ठाकुरले प्रदेश २ को पार्टीका अध्यक्षमा जितेन्द्र सोनललाई मनोनित गरेपछि त्यही दिन नेता महतोको निर्देशनमा जनकपुरका एक केही युवा कार्यकर्ताहरुले त्यसको विरुद्धमा विज्ञप्ति जारी गरेका थिए । त्यसपछि मंसिर २६ गते महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरुले सोनलको समर्थनमा विज्ञप्ति जारी गरी अध्यक्ष ठाकुरलाई धन्यवाद दिएका छन् । पार्टी गठन भएको चार महिना भइसक्यो तर अहिलेसम्म एउटा बैठकसम्म बसेको छैन । पार्टीको केन्द्रीय समिति गठन गर्न सकेको छैन, संसदीय दलको नेता चयन गर्न सकेको छैन । भातृ संगठनहरु गठन गर्न सकेको छैन, पार्टीमा जिम्मेवारी बाँडफाँड गर्नुको साथै कार्यकारिणी समिति विस्तार समेत गर्न सकेको छैन । यसबाट प्रष्ट हुन्छ पार्टी तीब्र रुपमा गुटको अभ्यास भइरहेको छ ।

तपाईको प्रतिक्रिया