मधेशको कुरा कसले पुर्याउँछन् बालकोट ?

मधेशको मामिलामा कुनै पार्टीसँग ऐतिहासिक दस्तावेज तथा ताजा तथ्यांक छ भने त्यो हो नेकपा एमाले । त्यही भएर मधेशका साना–साना कुराको जानकारी राख्ने मध्येमा पर्नुहुन्छ एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । उहाँले भाषण गर्दा मधेशका कुरा राख्ने क्रममा कतिपय यस्ता कुराहरु राख दिनुहुन्छ, ती कुराहरु मधेशवादी दलका नेताहरुलाई पनि थाह हुँदैन ।

उहाँले मधेशमा भइरहेको विकृति, विसंगति र राजनीतिक घटनाक्रमहरुलाई समातेर मधेशवादी दलका नेताहरुलाई बेलाबेला डोज दिने गर्नुहुन्छ । नेपाल सद्भावना पार्टी हुँदा त्यसभित्र भएका सबै खेला अध्यक्ष अ‍ोलीलाई कण्ठस्थ छ । मधेशी जनअधिकार फोरम विभाजनदेखि तमलोपा गठनसम्मका सबै भित्रिया कुराहरु ओलीलाई थाह छ ।

मधेश आन्दोलनमा सहिद परिवारको अवस्थादेखि मधेशी दलबाट भएको मन्त्रीहरुको इतिहास अ‍ोलीलाई सबै थाह छ । त्यही भएर होला मधेशवादी दलका नेताहरुसँगको भेटघाटमा पनि अध्यक्ष अ‍ोलीले मधेशका ऐतिहासिक कुरा, तथ्यांकगत कुरा राखेर ती नेताहरुलाई धेरै पटक अच्चममा पार्नुभएको छ ।

आखिर यी सब कुरा ओलीले ल्याउनु हुन्छ कहाँबाट भनि धेरैको जिज्ञासा छन् । मधेश मामिलामा पीएचडी गर्नुभएका डा.राजेश झा अहिले केपी शर्मा ओलीको साथमा हुनुहुन्छ । उहाँले नै यी सबैको कुराको जानकारी ओलीलाई दिने गर्नुभएको छ । संविधान निर्माणपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि डा.झा उहाँको साथ लाग्नु भएको थियो । मधेशवाणी साप्ताहिकका सम्पादक रही सक्नुभएका डा.झा ओलीका अघोसित सल्लाहकार भएर काम गर्न थाल्नुभयो ।

बालुवाटार र बालकोट आउजाउ बाक्लियो । २०७४ को चुनावपछि ओली प्रधानमन्त्री भएपछि झाको बालुवाटार आउजाउ झन बाक्लियो । त्यसैको उपहार स्वरुप तत्कालिन प्रधानमन्त्री ओलीको सिफासिरसमा राष्ट्रपति विद्या देवी भण्डारीले २०७७ फागुन ७ गते झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

नियुक्त भएको ६ महिना कटेपछि अर्थात भदौ १ गते शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले झालाई पदमुक्त गर्नुभयो । झा पदमुक्त भएपनि बालकोट जान छाड्नु भएको छैन । उहाँ अ‍ोलीसँग नियमित भेटघाट गरी मधेशका बारेमा जानकारी दिइरहनु भएको छ । यहाँसम्म कि उहाँले मधेशका युवा, उद्यमी, कर्मचारी, पत्रकारलगायतलाई समेत लगेर ओलीलाई भेटाउने गर्नुभएको छ । एमालेमा प्रवेश गर्न ती व्यक्तिहरुलाई कन्भिन्स गर्नुहुन्छ ।

स्रोतका अनुसार झाकै सहयोगमा मधेशमा केही व्यक्तिहरुले एमालेमा प्रवेश गर्ने तयारी पनि गरिरहेका छन् । मधेशमा एमालेलाई बलियो कसरी बनाउने योजना झासँग छ । ती योजना अध्यक्ष ओलीलाई सुनाउनु भएको छ । मधेशको राजनीतिक, समाजिक, आर्थिक, साँस्कृतिक लगायत हरेक कुराको बारेमा झालाई थाह छ । थाह मात्र होइन, उहाँसँग यी कुराको दस्तावेज छ र प्रमाण पनि । मधेशका हरेक कुराको दस्तावेज झासँग पाइन्छ । र, त्यही दस्तावेजका आधारमा उहाँले एमालेलाई सघाई रहनु भएको धेरैको बुझाई छ ।

मधेशका हरेक नेता, अभिनेता, बुद्धिजिवी, पत्रकारको बारेमा झालाई थाह छ । र, उहाँले सबैको बारेमा जानकारी लिएर राख्नु पनि भएको छ । त्यसले गर्दा उहाँलाई मधेशको बारेमा योजना बनाउन सजिलो भएको छ । र, पछिल्लो समय अ‍ोलीले झालाई मन पराउनुको कारण पनि त्यही हो । मधेशका बारेमा केही बुझ्नु पर्यो भने अ‍ोलीले सिधै राजेश झालाई बोलाएर जानकारी लिने गर्नुभएको छ । झाले पनि मधेशका बारेमा भए भरका सबै सुचना दिने गर्नुभएको छ ।

ओली प्रधानमन्त्री भएको बेला झाले राजदूतका लागि प्रयासरत हुनुहुन्थ्यो । त्यसका लागि उहाँले निकै गृहकार्य गर्नुभएको थियो तर उहाँको भागमा प्रदेश २ को प्रदेश प्रमुख नै पर्यो । तर संयोग राजनीतिमा यस्तो उथलपुथल भयो त्यसको मार झा पर्नुभयो । उहाँ पदमुक्त भएपछि समाजिक सञ्जाल वा कुनै सार्वजनिक कार्यक्रममा देखिएको छैन ।

तपाईको प्रतिक्रिया