Khadya Bibhag

सिके राउतले विदेशबाट उठाएर खाएको पैसाको हिसाब दिनुपर्छ

–जासर यादव,

-नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

जनमत पार्टीका अध्यक्ष सिके राउतले जतिबेला स्वतन्त्र मधेश गठबन्धन चलाई रहनु भएको थियो त्यतिबेला जासर यादवको उहाँको साथमा हुनुहुन्थ्यो । सिके राउतसँग लामो समय काम गर्नुभएका महोत्तरीका ३२ वर्षीय जासर यादव तीन वर्षअघि राउतको साथ छाड्नु भएको हो । सिके राउत देश विखण्डनको राजनीतिक छाडेर २०७५ मा मुलधारको राजनीतिमा आएपछि जासरले उहाँको साथ छाड्नु भयो । मेनपावर सञ्चालन गर्दै आउनु भएका जासरले राउतलाई छाडेपछि मेनपावर पनि छाड्नु भएको थियो र अहिले उहाँ महोत्तरीमा कृषि व्यवसाय सुरु गर्नुभएको छ । कुनैबेला तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र त्यसअघि पारस शाहको मुस्कान सेना नेपालमा पनि काम गर्नुभएका जासर एकाएक राउतको साथ किन छाड्नुभयो, अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा किन प्रवेश गर्नुभयो लगायतका विषयायमा सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

लामो समय तपाईले सिके राउतलाई साथ दिएर उहाँको मिसनलाई अगाडि बढाउनु भयो तर उहाँ मुलधारमा आएपछि एकाएक साथ छाडेर अहिले कृषि पेसामा लाग्नु भयो किन ?
–मैले सिके राउतलाई एकाएक छाडेको होइन । मैले अर्धभूमिगत अवस्थादेखि नै मधेशको हितमा काम गर्नका लागि उहाँलाई भन्दै आइरहेका थिए । उहाँले जुन तरिकाले मधेशका लागि काम गरिरहनु भएको थियो त्यो गलत थियो मैले पटक पटक यो तरिकाले काम हुँदैन, यो तरिकाले मधेशले मुक्ति पाउँदैन भने कुरा भन्दै आइरहेको थिए । पहिलादेखि नै उहाँ एकलौटी ढंगबाट पेलेर काम गर्नुहुन्थ्यो, उहाँको सोच निरकुंश र क्रुर छ, जसमा म पहिलादेखि नै असन्तुष्टि जनाउँदै आइरहेका थिए । उहाँले जेपनि काम आफूलाई केन्द्रविन्दुमा राखेर गर्नुहुन्थ्यो र अहिले पनि गर्नुहुन्छ । उहाँको अगाडि अरुको कुनै महत्व हुँदैन । एक हिसाबले उहाँ निरकुँश शैलीले संगठन चलाउनु हुन्छ । मैले पटक पटक यो कुराको अवगत गराउँदै आइरहेका थिए । जब उहाँ २०७५ फागुन २४ गते केपी शर्मा अ‍ोली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गरि मूलधारको राजनीतिमा आउनु भयो अनि म पुरै निराश भए र अब आफै केही गर्नुपर्छ भन्दै उहाँको साथ त्यही दिन छाडेको थिए ।

के बुझेर उहाँको साथमा जानु भएको थियो र के बुझेर उहाँको साथ छाड्नु भयो ?
–उहाँले मधेश समृद्ध हुन्छ । १० लाख युवाले रोजगार पाउँछन् । कुनै पनि मधेशी युवालाई अब विदेश जानु पर्दैन । मधेशमा गरिबी रहदैन, आफ्नै शासन, आफ्नै प्रशासन रहनेछन्, उहाँले यी कुराहरु भनेपछि म मात्र होइन त्यतिबेला हजारौं युवाहरु उहाँको त्यो भनाईबाट प्रभावित भएका थिए र सिके राउतको साथमा लागेका थिए । जब उहाँले आफ्नो बोली फेर्नु भयो, बाटो फरक गर्नुभयो अनि म निराश भए र अलग भए । म उहाँको साथमा लामो समय काम गरे, सिके राउतको बोलाई र गराईमा धेरै फरक छ । उहाँले आफूलाई मात्र सर्वोपरी ठान्नुहुन्छ, उहाँले जे बोल्नु हुन्छ त्यो गर्नुहुन्न । उहाँले सोझा सिधा युवालाई झुठा झुठा सपना देखाउनु हुन्छ र आफूसँग सबैलाई अल्झाएर राख्नुहुन्छ ।

सिके राउत जुनकुरा स्वतन्त्र मधेश गठबन्धनको समयमा भन्नुहुन्थ्यो त्यो कुरा अहिले पनि भनिरहनु भएको छ । मधेश समृद्ध बनाउने, १० लाख युवालाई रोजगार दिने जस्ता कुरा अहिले पनि भनि रहनु भएको छ अनि किन साथ छाड्नु भयो त ?
–तपाईले उहाँको हरेक कुरालाई राम्रोसँग विचार गर्नुस्, उहाँको पहिलाको दस्तावेज र अहिलेको दस्तावेज अध्ययन गर्नुस् आकाश जमिनको फरक पाउनुहुन्छ । पहिलाको कुरा र अहिलेको कुरामा धेरै फरक छ । पहिला उहाँ जसरी बोल्नु हुन्थ्यो त्यसरी बोल्नुभयो भने सायद राज्यले उहाँलाई छुट दिँदैन्थ्यो होला । उहाँको पार्टीको विधानलाई राम्रोसँग अध्ययन गर्नुभयो भने सबै कुरा थाह पाउनु हुन्छ । मधेशलाई भलो गर्ने कुरा कही उल्लेख छैन । मधेशलाई समृद्ध बनाउने कुराको चर्चा समेत गर्नुभएको छैन । उहाँको विधानमा ‘स्वराज’ भने शब्द कही छैन भने अरुको कुराको कल्पना कसरी गर्न सकिन्छ । जब कि उहाँले मधेशका हजारौं युवालाई स्वराजी बनाउनु भएको थियो उहाँ आफूलाई स्वराज भन्नुहुन्थ्यो । अहिलेसम्म हेर्ने हो भने उहाँले पाँचवटा संगठनको जन्म दिनुभएको छ तर कुनै पनि संगठनलाई गन्तव्यमा पुर्याउन सक्नु भएन । र, हेर्दै जानु होला यो जनमत पार्टी पनि लामो रेसको घोडा होइन । उहाँ देश विदेशमा रहेका युवाहरुलाई उल्लु बनाउने काम गरिरहनु भएको छ । जबसम्म ती युवाहरु उल्लु बनिरहन्छन्, तबसम्म सिके राउतको राजनीति चलिरहन्छन् । जब सिके राउतको असलियत बाहिर आउँछन् अनि सबै कुरा सकिन्छ । सोझा, सिधा जनतासँग ठगेर उहाँले गुजारा गरिरहनु भएको छ, अरु केही होइन ।

उहाँसँग तपाई लामो समय काम गर्नुभयो, उहाँले लिनु भएको लक्ष्यमा किन पुग्नु हुन्न के कारण छ जस्तो लाग्छ तपाईलाई ?
–पहिलो कुरा मान्छेको मन जित्ने प्रयत्न गर्नुपर्छ । मन जितेपछि उसको भावनासँग खेलवाड गर्नुहुँदैन । सिके राउतले आफ्नो कलाले सबैको मन जित्नु हुन्छ तर पछि उहाँको भावनासँग खेलवाड गर्नुहुन्छ । ब्ल्याकमेलिङ्ग गर्नुहुन्छ । उहाँ आफैलाई सर्वोपरी ठानेर सबैलाई किरा मकौरा ठान्नुहुन्छ । उहाँको सोसल मिडिया हेर्नुभयो भने उहाँले आफूलाई भगवानको रुमपा उभ्याउन चाहनु भएको छ । जनताले उसको पुजा गरोस् भनि उहाँले चाहनु भएको छ । उहाँमाथि भगवान बन्ने भुत सवार छ । उहाँ भगवानको खोजीमा भौतारिनु भएका व्यक्ति हुनुहुन्छ । उहाँ आफूलाई नै ठूलो ठान्नुहुन्छ । म जे चाहन्छु त्यही हुन्छ, मभन्दा अरु कोही जान्ने बुझ्ने हुनुहुन्न भनि ठान्नुहुन्छ । त्यही भएर सबै कुरा बिग्रि रहेका छन् । उहाँको साथमा कुनै पाँचसाल पुरानो साथी छन् हेर्नुस् त । उहाँलाई सबैले विस्तारै विस्तारै छाड्दै गएका छन् । मूलधारको राजनीतिमा आएको तीन वर्ष भइसकेको छ । पार्टीको महाधिवेशन पनि गराइ सक्नु भएको छ । यो अवधिमा एकजना पनि राम्रो छवी भएका ठूला नेता पार्टीमा प्रवेश गरेका छैनन् । राम्रो फिगर भएको एकजना नेता पनि उहाँको साथमा छैन । कारण हो, उहाँको आफ्नो अहमपना । उहाँले कसैलाई गिन्नु हुन्न । सबैको विरोध गर्नुहुन्छ । मधेशमा कोही छैनन्, म मात्रै छु भनि उहाँमा अहम् छ, जुनकुरा अरुलाई राम्रो लाग्दैन र सिके राउतको साथमा जाँदैनन् । अर्थात अरुको अस्तित्व उहाँले स्वीकार गर्नुहुन्न । उहाँले आफ्नो पार्टी र भारतका भाजपासँग तुलना गर्नुहुन्छ ।

उहाँ भन्ने गर्नुहुन्छ, भाजपाले एउटा सीट जितेर राजनीति सुरु गरेको थियो, आज देश चलाई रहेको छ ।’ तर म भन्छु, भाजपामा लिडर थियो, इण्डियाका लागि केही गरेका थिए, त्यही भएर भाजपा त्यो हाइटमा पुग्यो तर सिके राउतले आजसम्म मधेशका लागि के गर्नुभयो त्यो उहाँले नै देखाई दियोस् । जुन मधेशी युवाले विदेशमा महिनाको पाँचसय–छसय रियाल कमाउनु हुन्थ्यो, त्यो व्यक्तिले पचास रुपियाँ लेवी सिके राउतलाई तिर्नुहुन्थ्यो ताकि मधेश अजाद होस् । विदेश जान नपरोस् । तर आजसम्म ती व्यक्ति विदेशमै कमाइ रहेका छन् । उनीहरुको पैसा उठाएर के गर्नुभयो सिके राउतले त्यसको जवाफ दिनुपर्छ । मैले नै विदेश गएर उनीहरुबाट पैसा उठाएर सिके राउतलाई दिएको हुँ । करिब २ करोड रुपियाँ म मेरो हातबाट दिएको हुँ । अहिले ती विदेशमा बस्नेहरु मसँग ती रकम मागी रहेका छन् । उहाँले त्यसको हिसाब दिनुपर्छ । सिके राउतले ती मधेशी युवाहरुका लागि के गर्नुभयो त, मधेशका लागि के गर्नुभयो त । उहाँ पनि मधेशमा लामो समयदेखि काम गरिरहनु भएको छ । एउटा केही भन्नोस् कि मधेशलाई म यो दिएको छु । उहाँले मधेशका लागि केही गर्नुभएको छैन र केही गर्नु पनि हुन्न ।

तपाईले त्यस्तो भन्नुहुन्छ तर मधेशका युवाहरुले त सिके राउत लाखौं रुपियाँको कमाई छाडेर मधेश मुक्तिका लागि अमेरिकाबाट आउनु भएको छ, उहाँ वैज्ञानिक हुनुहुन्छ, ठूलो विद्धान हुनुहुन्छ, के त्यो गलत हो त ?
–उहाँ लाखौं रुपियाँको महिना कमाउनु भयो भने त्यो रुपियाँको के गर्नुभयो, कहाँ लगानी गर्नुभयो त्यो कुरा त भन्नुपर्यो नि । उहाँ महिलाको लाखौ रुपियाँ कमाउनु हुन्थ्यो रे, ल ठिक छ तर त्यो खर्च कहाँ गर्नुभयो । कतै सम्पत्ति जोड्नु भएको होला नि, सप्तरीको घरमा होला नि, कहाँ छ त्यो कमाइएको पैसा ? उहाँ वैज्ञानिक हुनुहुन्थ्यो तर उहाँले भन्नुपर्यो कि आजसम्म के के अविष्कार गर्नुभयो । यी सबै कुरा वकवास हुन् । उहाँ जस्ता थुप्रै व्यक्ति अमेरिका छाडेर नेपाल आएका छन् । रवीन्द्र मिश्र पनि बेलायत छाडेर नेपालको पोल्टिक्समा आउनु भएको छ । रवी लामिछाने पनि अमेरिका छाडेर पत्रकारितामा लाग्नु भएको छ । धेरै यस्ता व्यक्ति छन् जो अमेरिका छाडेर नेपालमा काम गरिरहेका छन् । उहाँले आफू मात्र अमेरिका छाडेर मधेशका लागि ठूलो काम गरेको भ्रम छरिरहनु भएको छ, ठूलो वैज्ञानिक र विद्धान छु भनि सोझा सिधा जनतामा भ्रम छरिरहनु भएको छ ती सबै गलत हो । म उहाँलाई चाइलेन्ज गर्छु उहाँले मधेशका लागि एउटा पनि काम गर्नुभएको छ भने देखायोस् । कम से कम माओवादीले १० वर्ष जनयुद्ध गरेपछि केही नगरेपनि मधेशी जनतलाई बोल्न सिकाएको छ, चेतना दिएको छ, आफ्नो अधिकारका लागि लड्न सिकाएको छ तर सिके राउत पनि लामो समय स्वतन्त्र मधेशका लागि संघर्ष गर्नुभयो । त्यसका लागि करोडौं रुपियाँ खर्च गर्नुभयो त्यसबाट के उपलब्धी पाउनुभयो, त्यसको जवाफ उहाँसँग छैन ।

उहाँले अमेरिकामा कमाएको रकम सबै पोल्टिक्समा लगाउनु भएको छ रे नि त होइन ?
–गलत । उहाँ आफ्नो कमाईको एक रुपियाँ पनि राजनीतिमा लगाउनु भएको छैन । कहाँ लगाउनु भएको छ, कुन कार्यकर्तालाई पाल्नु भएको छ, कहाँ पार्टी कार्यालय खोल्नु भएको छ ? उहाँले आफ्नो पैसाबाट केही गर्नुभएको छैन, सबै अरुबाट उठाएर मौज गरिरहनु भएको छ । विदेशबाट उठाएको पैसाले आफूलाई भगवान बनाउने कोसिस गरिरहनु भएको छ, आफ्नो लागि मात्र खर्च गरिरहनु भएको छ । पार्टीको पैसा कुनै पनि कार्यकर्तालाई एक पैसा दिनुहुन्न तर उहाँले आफ्नो लागि मज्जाले खर्च गर्नुहुन्छ । मधेश अजाद गराउने नामबाट विदेशबाट करौडो रुपियाँ ल्याउनु भएको छ । ल्याउने व्यक्ति म नै हुँ । त्यसको हिसाब म उहाँसँग मागेको छु । विदेशको धुपमा काम गर्ने ती मधेशी युवालाई उसको पैसाको हिसाब दिनुपर्छ सिके राउतले ।

तपाई मेनपावर खोलेपछि सिके राउतको साथमा लाग्नुभयो, अहिले सिके राउतलाई पनि छाड्नुभयो र मेनपावर पनि छाड्नुभयो र कृषि व्यवसायी सुरु गर्नुभयो यस्तो कसरी भयो ?
–म कुनै काम गर्दा त्यो राम्रो भएन भने त्यो काम म कुनै पनि हालतमा गर्दिन । मेनपावरको काम म पैसाको लागि गरेको होइन । वैदेशिक रोजगारीमा जाँदा थुप्रै मधेशी युवाहरु ठगिन्थे । त्यसरी नठगियोस् भन्ने उद्देश्यले मैले मेनपावर खोलेका थिए । मैले मधेशी युवाहरुलाई सहुलियतमा विदेश पठाउथे । राम्रो काममा जाओस् भनि मेरो चाहना हुन्थ्यो । तर त्यत्रो रकम तिरेर विदेश गएपनि मधेशी युवाहरुले निकै दुख पाएको मैले देखे । म स्वतन्त्र मधेश गठबन्धनको कामले कतार, मलेसिया, साउदी जाँदा आफ्नै आँखाले मधेशी युवाहरुको दुख हेरे । त्यसपछि मलाई यो मेनपावरको काम गर्न नै मन लागेन । र त्यो मेन पावर बन्द गर्दिए । अहिले पनि सरकारसँग मेरो दुई करोड रुपियाँ बाँकी छ । मैले मेनपावर छाडेर कृषिमा लगानी गरे । अहिले लगभग ५० जनालाई रोजगारी दिएको छु । अझै रोजगार सृजना गर्छु र हजारौं युवालाई मधेशमा रोजगार दिन्छु । सिके राउतले मधेशी युवालाई सपना मात्र देखाए मैले त्यो सपना पुरा गरेर देखाउन चाहन्छु । मधेशका युवा विदेश नजाओस् स्वदेशमै मेहनत गरोस् भने मेरो चाहना हो र म त्यो गरेर देखाउछु ।

कृषिमा के के गर्नुभएको छ ?
–मैले मेवा खेती, माछा पालन, हाँस पालन, तरकारीबाली, तेलबाली अर्थात उपभोक्तालाई चाहिने लगभग सबै बाली उत्पादन गर्ने पर्यत्न गरिरहेको छु । म कृषि व्यवसायबाट निकै सन्तुष्ट छु । मेरा घरपरिवार पनि त्यसबाट खुशी छन् । मलाई मेनपावर खोलेर जति खुशी भएको थिएन त्यति खुशी कृषिबाट भइरहेको छ ।

तपाई त अरु पेसा गर्न सक्नुहुन्थ्यो यो कृषि नै किन रोज्नुभयो त ?
–यो देशमा सबभन्दा सम्भावना भएको क्षेत्र नै कृषि हो । देशलाई कृषिबाट नै समृद्ध बनाउन सकिन्छ । नेपाल कृषि प्रधान देश हो । त्यसमा पनि मधेशमा सबभन्दा बढी सम्भावना मैले कृषिमा नै देखे । अलिकति मेहनत गरेपछि थुप्रै फाइदा हुँदो रहेछ । यो कृषि प्रधान देश हो पहाडमा धान उब्जाएर कृषि प्रधान देश बनेको होइन । मधेशमै उब्जेपछि कृषि प्रधान देश बनेको हो । कृषिले नै मधेशलाई समृद्ध बनाउन सक्छ । अरु केही चाहिदैन तर त्यहाँका नेताहरुले मधेशी जनता तथा युवालाई गुलाम बनाएर राखे । केही गर्न दिएन, विदेश पठाउने व्यवस्था मिलाए । कृषिमा केही गर वा रोजगार सृजना गर्ने काम केही गरेन त्यही भएर म कृषिमै केही गर्ने उद्देश्यले त्यसमा लागेको छु । अहिले दैनिक दुईलाख रुपियाँ आम्दानी हुन्छ । लगानी करिब चार करोड पुगेको छ ।

यो चार करोड आफ्नै लगानी हो कि बैंकबाट ऋण अथवा सरकारको अनुदान सहयोग ?
–मेरो आफ्नै लगानी हो । सरकारबाट कुनै प्रकारको सहयोग पाएको छैन । केही रकम अपुग हुँदा साथी भाइसँग सापटी लिएको छु । त्यसलाई फर्काई पनि रहेको छु ।

तपाई कृषिमै रहनु हुन्छ कि राजनीति पनि गर्नुहुन्छ ?
–म कृषिका साथै राजनीति पनि गर्छु । मैले जुन सोचका साथ काम गरिरहेको छु । त्यो सोचलाई राजनीति रुपमा पनि उठाउनुपर्छ । मलाई पोल्टिकल सपोर्ट चाहिन्छ नै । त्यसैले मैले कृषिका साथै राजनीतिमा पनि जान्छु । म भर्खर लोकतान्त्रिक पार्टीको सदस्यता लिएको हुँ । त्यसबाट आफ्नो राजनीतिक यात्रा तय गर्नेछु ।

तपाई लोसपा नै किन रोज्नुभयो त ?
–लोसपा मधेशका लागि काम गर्ने पार्टी हो । अरु दलहरुले मधेशलाई पटक पटक धोका दिएका छन् तर लोसपाले कहिले पनि धोका नदिएको कुरा मैले पाएको छु । लोसपाका नेताहरु मधेशप्रति प्रतिवद्ध हुनुहुन्छ तर त्यसको तुलनामा अरु कुनै पार्टी मधेशलाई बुझेको छैनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले त मधेशवाद नै छैन, समाजवाद मात्र छन् भन्नुभएको छ । उहाँले पटक पटक मधेशलाई धोका दिनुभएको छ । सिके राउतको बारेमा मैले अघि नै भनि सके कि सिके राउतलाई मधेशसँग कुनै मतलब छैन । त्यसबाहेक काँग्रेस, माओवादी केन्द्र, एमालेलाई त झन मधेशसँग मतलबै नै भएन । त्यही कारणले म लोसपा रोजेको हुँ ।

जनमत पार्टी पनि मधेशमा मूलधारको राजनीति गरिरहेको छ, त्यो पार्टी तपाई किन रोज्नु भएन त ?
–जनमत पार्टी मधेशका लागि बनेको पार्टी होइन भने कुरा मैले अघि पनि भनेको थिए । जनमत पार्टी सिके राउतको प्राइभेट कम्पनी हो । त्यसबाट उहाँले व्यवसायी गर्नुहुन्छ । सिके राउतको एउटा समूह हो जसले सिके राउतलाई भगवान बनाउने प्रयास गरिरहेको छ । राजाको शासनभन्दा खतरनाक निरकुंशता सिके राउतमा छ । त्यहाँ स्वतन्त्रता पूर्वक कसैले काम गर्न सक्दैन । अनुशासनको नाममा सबैलाई शोषण गर्नुभएको छ उहाँले । त्यहाँ आफै स्वतन्त्र हुन सकिएन भने मधेशी जनताको मुक्तिका लागि केही गर्न सकिदैन । मधेशसँग उहाँका कुनै मतलब छैन त्यही भएर त्यहाँ जाने कुरा नै हुँदैन ।

तपाईको प्रतिक्रिया