जे चस्माले ‘नायक’ बनायो, त्यही चस्माले फेरि ‘भिलेन’ बनाउने बेला आउँछ

–राजकिशोर यादव
केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी नेपाल

फागुन २१ गते सम्पन्न चुनावबाट मधेश केन्द्रीत दलहरु शुन्यमा झर्यो । अन्य दल काँग्रेस, एमाले, नेकपाको अवस्था पनि राम्रो रहेन । पुराना शक्तिहरु छिन्नभिन्न भए । जेनजी आन्दोलनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार विगतको सरकारभन्दा फरक गर्न खोजिए पनि त्यसको पनि आलोचना सुरु भएको छ । प्रधानमन्त्री बालेनको काम गर्ने शैली, संसद सञ्चालन, सांसदको गतिविधिलगायतको बारेमा कुरा उठ्न थालेका छन् । तर दोष सबै पुराना दलमाथि । पुराना दलले ३५ वर्षसम्म केही गर्न सकेनन्, ती दलको कारणले यो देशको अवस्था सृजना भएको जस्ता भाष्य निर्माण गरेको छ । यस्तो किन भइरहेको छ, यसको कारण के हो, दोषी को हुन् ? जस्ता प्रश्नको जवाफ हामीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः

फागुनमा सम्पन्न चुनावपछि तपाई चुपचाप हुनुहुन्छ, खासै राजनीतिक गतिविधिहरु देखिएको छैन, केमा व्यस्त हुनुहुन्छ ?
–नेपालमा पछिल्लो राजनीतिक घटना भयो, त्यसले हामी सबैलाई सोच्न बाध्य बनाएको छ । नेपालको ’पोलिटिकल डिस्कोर्स’ नयाँ ढङ्गले अगाडि बढ्ने भयो । हामीले उठान गरेका मुद्दाहरूको त्यो सान्दर्भिकता, त्यसको औचित्य पुष्टि गर्नुको साथै समाजको विश्वासलाई कसरी जित्न सक्छौँ वा मुलुक र समाजप्रति कसरी कन्ट्रीब्युसन गर्न सक्छौँ भन्ने कुरामा छ । जुन प्रकारको एउटा पोलिटिकल डिस्कोर्स ‘सिफ्ट’ भयो वा ‘रिजिम चेन्ज’ भएको हो, त्यसैले अहिलेको सन्दर्भमा राजनीतिक शक्ति र हामी हिजो जसरी काम गरिरहेका थियौँ, त्यसलाई कसरी अहिलेको सामाजिक चेतना वा समाजको आवश्यकतासँग तादात्म्य मिलाउन सकिन्छ त्यसमा हामीले काम गरिरहेका छौं ।

मधेश आन्दोलनबाट उदाएका तपाईहरुको शक्ति यो १७–१८ वर्ष पुरा नहुँदै यसरी शुन्यमा झर्नुमा कसलाई दोषी ठान्नुहुन्छ, तपाईहरु कहाँ चुक्नुभयो ?
–अब यसलाई समग्रतामा अलिकति हेर्नुपर्ने हो । अहिलेको जुन अवस्था छ, त्यो सामान्य एउटा चुनावबाट अर्को चुनाव भएको होइन । म यसलाई ‘पोलिटिकल प्याराडाइम सिफ्ट’ भनौँ वा रिजिम चेन्ज भएको हो । २००७ सालदेखि अहिलेसम्म नेपालमा मुख्य–मुख्य राजनीति परिवर्तनका घटनाहरू हेर्ने हो भने ती घटनाहरू भन्दा फरक ढङ्गको समाज रूपान्तरण वा हिजो भइरहेको जुन ‘सेटअप’ (क्भतगउ) थियो, त्यसलाई तोडेर अगाडि बढ्न खोजेको रूपमा यसलाई लिन सकिन्छ । जब कुनै राजनीतिक प्रणाली, कुनै पनि राजनीतिक व्यवस्थामा जब जनता निराश हुन्छ, त्यसपछि जनताले ‘नायक’ खोज्छ । उसले समस्याको समाधान भन्दा पनि उसले एक प्रकारको ‘मिराकल’, कसैले आएर त्यो मिराकल गरिदियोस् भने खोज्छ ।

हाम्रो समाजमा जुन समस्याहरू छन्, ती समस्याहरू सबै एकैचोटि जादुको छडी जस्तो समाधान भइजाओस् भन्ने खोज्छन् । र त्यही सिलसिलामा अहिलेको यो घटना भएको हो । कमी कमजोरी हामीबाट पनि भएको हो, भएको होला । जनताले हामीबाट गरेको अपेक्षा पुरा नभएको होला, चाहेको बेला त्यो काम पुरा नभएको होला । तर हामीले केही पनि गरेको छैन, हामी सबै खराब छौं, भ्रष्ट छौं, चोर फटहा हौं भनि गलत हो । देशमा अहिले जेजति परिवर्तन भएका छन्, अहिलेका जेनजी साथीहरु खुलेर बोल्न पाएका छन्, त्यो आजैको आज भएको होइन । यसमा हाम्रो पनि योगदान छ । हामीले लडेर ल्याएको व्यवस्था हो । देशका थुप्रै युवाको रगत त्यसमा बगेको छ । अहिलेका जेनजी भाइ वहिनीहरु राणाको त्यो क्रुर रुप, निरकुंश पंचायती व्यवस्था भोगेका छैनन् । कुनै कठिनाइको सामना गर्नु नै परेको थिएन । केही नेता तथा पार्टीप्रति जनताको असन्तुष्टिलाई क्यास गरेर आन्दोलन गरेर आएका यी राज्यको असली चरित्र थाहै छैन । उहाँहरु गरिरहनु भएको छ । आशा गरौं राम्रो होस् देशमा परिवर्तन होस् जनताको चाहना पुरा होस् ।

तपाई राष्ट्रको समस्याको कुरा उठाउनुभयो, ती समस्याको कारण तपाईहरुको त होइन ?
–यसलाई कसरी बुझ्नुपर्छ जस्तो मलाई लाग्छ भने पार्टीहरूले, नेतृत्वकर्ताहरुले परिवर्तनका लागि जुन बलिदानी दिए, बलिदानीपछि जुन परिवर्तन भयो त्यो परिवर्तनलाई संस्थागत गर्न सकेन । त्यही राजनीतिक दल र नेताहरुको कारणले जनता परिवर्तनको अनुभुती गर्न पाएन । राजनीति दलहरुले लडेर देशमा परिवर्तन त ल्याए तर त्यसलाई संस्थागत हुन दिएनन् । अन्य अन्य कार्यमा अल्भि रहे । मुल कार्यमा ध्यान नदिए अन्यत्र ध्यान केन्द्रीत गरे । त्यसलाई समाधान गर्न, त्यसलाई कहीँ न कहीँ संस्थागत गर्न वा ‘इन्स्टिच्युसन’ हरू निर्माण गर्नमा असफल भए ।

जसरी हामीले पञ्चायती व्यवस्थाबाट डेमोक्रेटिकमा आयौँ, त्यसपछि जसरी ६२÷६३ को आन्दोलन पश्चात् वा मधेस आन्दोलन पश्चात् संविधानसभाको चुनावमार्फत हामी जसरी आयौँ, ती विषयलाई संस्थागत गर्नु, ती विषयहरूलाई तपाईंको जनमानसमा लगेर विश्वसनीयता कायम गर्नु भन्दा पनि हामीले पुरानै सेटअपमा काम गर्न खोज्यौँ, जसले गर्दा त्यो परिणाम खोजेको जस्तो परिणाम निस्किएन र जनतामा एक प्रकारको निराशा आयो । राजनीतिक दलहरूले वैचारिकी स्खलन भयो । पछिल्लो चरणमा के हो भने सरकारका लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने, जसले गर्दा के भने जनतामा निराशा र वितृष्णा फैलियो । र त्यसको प्रतिक्रिया, त्यो निराशा र त्यो समाज थिलथिलो भएको थियो, समाजमा एक प्रकारको अविश्वास, एक प्रकारको निराशा भएको थियो । त्यसको फाइदा अहिलेका जेनजीपुस्ताले उठाए ।

अहिलेको जेनजी आन्दोलनपछि रास्वपाले जनताबाट जुन विश्वास जितेको छ, त्यस्तो विश्वास त यसअघि २०४८ मा काँग्रेस, २०६४ माओवादी, मधेशवादी दलले पनि जितेका थिए । विगतको जनतासँग जितेको विश्वास र अहिले रास्वपाले जितेको विश्वासमा के अन्तर पाउनु भएको छ कि उस्तै उस्तै छ ?
–फरक छ । हिजोको दिनमा जस्तै कांग्रेसले तपाईंको एउटा ‘मल्टी–पार्टी सिस्टम’, डेमोक्रेटिक इन्स्टिच्युसनहरू हामी निर्माण गर्छौं भनेर एजेन्डासहित पञ्चायती व्यवस्था र प्रजातान्त्रिक व्यवस्था बिचको ‘डिफरेन्सेज’ लाई अगाडि सार्यो र नेपाली कांग्रेसको नेतृत्वमा त्यो आन्दोलन सफल भयो र त्यसपछि एक प्रकारको जनादेश पायो । त्यसले कार्यान्वयन गर्ने सवालमा कति सफल, कति असफल त्यो बहसको पाटो हो । जनआन्दोलन र माओवादीको जनयुद्ध, मधेश आन्दोलनले नेपाललाई केन्द्रीकृत व्यवस्थाबाट संघात्मक व्यवस्था, त्यसलाई यसरी भनौँ राजतन्त्रबाट गणतन्त्रसम्मको यात्रा तय ग¥यो ।

अहिले फरक के छ भने राजनीतिक एजेन्डा भन्दा पनि ‘रियाक्सन’ बढी देखिएका छ । समाजमा देखिएको निराशाको फाइदा उठाउदै सुशासनको कुरा गर्यो । विगतमा यी नेताहरू, यी पार्टीहरू वा यी सिस्टमको बारेमा भ्रष्टाचार मूल प्रश्न बनेर आयो । अर्को कुरा उनीहरुले जोडतोडले पुस्तान्तरणको कुरा उठायो । जो समयको माग थियो । राजनीतिक एजेन्डा भन्दा, राजनीतिक दर्शन भन्दा, राजनीतिक मोटो भन्दा तपाईंको एक प्रकारको प्रतिक्रियात्मक मतादेश प्राप्त भयो । त्यसले गर्दा हिजोको भन्दा यो फरक स्थितिमा आएको हो ।

तपाईंलाई के लाग्छ, प्रधानमन्त्रीको रुपमा बालेन शाहले अहिले जुन अवसर पाउनुभएको छ, त्यसलाई सदुपयोग गर्नुहुन्छ, कि पुरानै पार्टीको जस्तो अलमलको अवस्था छ ?
–यो दुर्भाग्यसाथ भन्नुपर्छ, उहाँले त्यो अवसरलाई ‘क्यास’ गर्न सक्नुपथ्र्यो तर ‘मर्निङ शोज द डे’ । उहाँले एक–दुईवटा मानकहरू जुन स्थापित गर्नुभयो । जनतामा जुन एउटा विश्वास जितेर उहाँ आउनुभयो, त्यतातिर उहाँ गइरहनु भएको छैन । म अहिले एउटै कुरा भन्छु, ‘उहाँलाई असफल हुने छुट छैन । उहाँको सफलतासँग यो मुलुकको भविष्यको सफलता–असफलता जोडिएको हो । उहाँ सफल हुनैपर्छ । तर उहाँ जसरी हिँड्नुपथ्र्यो, जसरी देशलाई एउटा दिशा दिनुपथ्र्यो, त्यो चाहिँ देखिएको छैन ।

अगामी २०८४ को चुनावबाट तपाईहरु फेरि पुरानै रुपमा आउनु हुन्छ त्यसको लागि तयारी के छ, के गर्दै हुनुहुन्छ, के त्यसको केही तयारी छ ?
–लोकतन्त्रमा सबभन्दा ठूलो स्रोत भनेको हाम्रो जनता नै हुन् । मलाई लाग्छ कि अहिलेको यो आत्मसमीक्षा जुन हामी ग¥या छौँ, पार्टीमा पनि समीक्षा भइरहेको छ, अब ती सब तमाम कुरामा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । नेतृत्वले पनि आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्ने हुन्छ । सांगठनिक रूपमा पनि हामीले परिवर्तन गर्नुपर्ने हुन्छ । केही वैचारिक सैद्धान्तिक कुरामा पनि परिवर्तन ल्याउनुपर्छ । अधिकार र पहिचानका जुन मुद्दाका साथै अब जनताले खोजेका सुशासनका कुरा, रोजगारीका कुरा, शिक्षा–स्वास्थ्य सहज हुने कुराहरू, यी कुराहरू पनि उठाउनुपर्छ । अब हाम्रो पार्टीले पनि अधिकार र पहिचानका साथसाथै यी कुराहरू लिएर चाहिँ जानुपर्ने हुन्छ । मलाई लाग्छ यी कुराहरू लिएर गयो भने ०८४ को चुनावमा दरिलो किसिमले आउन सक्छौं ।

भुराजनीतिको कुरा गर्दा सीमाको विषयमा प्रधानमन्त्री बालेनको जुन अभिव्यक्ति संसदमा आयो त्यसलाई तपाईले कसरी लिनुभएको छ ?
–पहिलो कुरा त प्रधानमन्त्रीको हैसियतले त्यो बोल्ने कुरा होइन । उहाँले यो गम्भीरतालाई मेरो विचारमा बुझ्नै सक्नुभएन । उहाँलाई कसले रिपोर्ट गरेको थियो, बोल्नुअघि उहाँले तयारी किन गर्नुभएन, उहाँको सचिवालये त्यसमा किन ध्यान दिएनन् थाह छैन तर मलाई लाग्छ बालेनले एकछिनका लागि आफू प्रधानमन्त्री छु भन्ने कुरा बिर्सिनु भएको थियो जस्तो लाग्यो । उहाँलाई आफू त्यही र्यापर वा महानगरपालिकाका मेयर हुँ जस्तो लागेको थियो सायद । प्रधानमन्त्री भनेको व्यक्ति होइन, त्यो हाम्रो संस्था हो । उहाँको प्रतिष्ठासँग मुलुकको प्रतिष्ठा, मुलुकको भविष्य, मुलुकको गरिमा जोडिएको हुन्छ । त्यसैले उहाँलाई त्यसरी हलुका रूपमा प्रस्तुत हुनु हुँदैन्थ्यो । सचिवालयले अलिकति म्यानेज गर्नुपथ्र्यो ।

प्रधानमन्त्रीले त्यस्तो विवादस्पद अभिव्यक्ति दिनु, प्रतिपक्षीले सच्याउन भन्दा पनि सच्याउन नमान्ने, सभामुखले पनि रेकर्डबाट त्यसलाई हटाउन नमान्ने । यी दृश्यहरु हेर्दा तपाईलाई अहिलेको संसद कस्तो लाग्छ ?
–कहिलेकाहीँ पदले व्यक्तिको व्यक्तित्वलाई झल्काउँछ, कहिलेकाहीँ व्यक्तित्वको कारणले त्यो पदको गरिमालाई । कहिलेकाहीँ त्यो पद, त्यो चेयर चाहिँ व्यक्तिको व्यक्तित्व भन्दा ठूलो भइदियो भने त्यहाँ थिचिन्छ । अहिले संसद्को क्रियाकलाप अनौठो खालको छ । त्यहाँ के भइरहेको छ केही पनि थाह भइरहेको छैन । कुनै पिकनिक स्पट, वा कुनै कलेजमा केटाकेटी पढ्नका लागि गएको जस्तो । त्यो संसद् ‘भदौरे सभा’ वा ‘भरदार सभा’ जस्तो लाग्न थालेको छ । राणाहरूका जुन भरदारी सभा छ, त्यो महिमामण्डल गाउनको लागि थियो । त्यो सांसद ‘म आफ्नो बलमा जितेर आएको छु, जनताले मलाई भोट दिएको छ’ भन्ने त्यो विश्वास छैन । जसले जे–जे भूमिका पाएको छ नि, उहाँ सबै बालेन जीको त्यो प्रभाव भनौँ, राप र तापमा त्यो थिचिएको छ ।

सभामुख पनि त्यहाँ आफूलाई बिर्सिनुहुन्छ । लोकतन्त्रमा शक्ति पृथकीकरण भन्छ । व्यवस्थापिका आफैँ कार्यपालिकाको जननी हो, आमा हो । तर उहाँलाई ‘म लिडर हुँ’ भन्ने एउटा जुन कन्फिडेन्स हुनुपथ्र्यो, त्यो देखिएको छैन । केही कुरा गडबड हुने गरी कार्यपालिकाले व्यवस्थापिकालाई ‘इन्क्रोच’ हुने गरी केही भयो भने तुरुन्तै ‘रुलिङ’ गर्नुपर्ने थियो, आफ्नै सरकारका विरुद्धमा । संसदमा व्यवस्थापिका वा संसद्को भूमिका जसरी हुनुपथ्र्यो, त्यो भइरहेको छैन । पछिल्लो चरणमा बरु दुई–चार जना सांसदको कारणले गर्दा त्यो गरिमा वा संसद्को गरिमालाई धानेको छ । नत्र त्यो त आम ‘बन्दर नाच’, ‘बन्दर बाँट’ भइरहेको थियो ।

तपाई पनि सांसद रहनुभएको संसदमा कुर्सी भाँच्ने काम भयो, माइक तोड्ने काम भयो, बजेटको ब्रिफकेस खोस्ने काम भएको थियो, अहिले पनि त्यस्तै भइरहेको छ । त्यो बेलाको र अहिलेको संसदमा भएको गतिविधिमा तपाईले के अन्तर पाउनुभएको छ ?
–अहिले राजनीति भइरहेको छैन । ‘अराजनीति’को बोलवाला छ । यो तपाईंलाई सुन्दा कर्णप्रिय नलाग्न सक्छ, मान्छेलाई मन नपर्न सक्छ । तर अहिले राजनीतिमाथि अराजनीतिको बोलवाला छ पहिलो कुरा । अर्को कुरा, संसद्का जुन महत्व छ, जुन गरिमा छ, जुन औचित्य छ, अहिलेका हाम्रा सांसदजीहरूले त्यसमाथि नै प्रश्नचिह्न खडा गरिदिएको स्थिति छ । जस्तै नीति तथा कार्यक्रममा, त्यो भनेको नेपाल सरकारको नीति तथा कार्यक्रम हो । त्यो राष्ट्रपतिजी नेपाल सरकारको एक प्रकारको बोलाहटमा अतिथिको रूपमा गएको हुन्छ । त्यो नीति तथा कार्यक्रमको ‘ओनरसिप’ नेपाल सरकारको प्रमुखको हैसियतले प्रधानमन्त्रीको हो ।

प्रधानमन्त्रीले कस्तो मुलुक बनाउन चाहनुहुन्छ, कस्तो बजेट बनाउन चाहनु हुन्छ, त्यो बजेटले कस्तो हाम्रो आर्थिक संरचनाहरू खडा गर्न चाहन्छ भन्ने उहाँको दृष्टिकोण हो । अब त्यही कार्यक्रममा उहाँले त्यो ओनरसिप लिनुभएन । त्यसैले कहीँ न कहीँ के–के नमिलेको नमिलेको जस्तो देखिन्छ । त्यसलाई उहाँहरूले फेरि ‘परिवर्तन’को नाम दिनुहुन्छ । त्यो परिवर्तन होइन । उहाँहरूले त्यसलाई ‘क्रमभङ्गता’ पनि भन्नुभएको छ ।

३५ वर्षमा देशमा केही भएन, अबको सरकारले नै काम गर्नेछ भनि भाष्य निर्माण भइरहेको छ, तपाईलाई के लाग्छ यो अवधीमा केही भएकै छैन, सबै कार्य अब हुनेछ, तपाईलाई के लाग्छ ?
–यो त गलत भाष्य निर्माण भएको हो । त्यसलाई डिफेन्ड गर्ने जुन शक्तिहरू छन्, त्यसले ३५ वर्षसम्म मुलुकको नेतृत्व गरेको र त्यो कालखण्डमा रजगज गरेका छन् । त्यसैल उनीहरूसँग त्यो डिफेन्ड गर्ने ‘मोरल अथोरिटी’ नभएर त्यसको गलत फाइदा उठाएर उनीहरू (वर्तमान सरकार)ले अहिले धेरै गलत कुरालाई पनि इस्टाब्लिस्ड गरेर अहिले हालीमुहाली गरिरहेको स्थिति छ । तपाईंको त्यो ३५ वर्षमा नलडिदिएको भए आज उहाँहरूको जन्म नै हुने स्थिति थिएन व्यवस्थाका लागि । त्यसमा यो सबै ठीक भयो भन्ने पक्षमा म छैन फेरि ।

मैले अघि पनि भनेको थिए कि आन्दोलन तथा क्रान्तिहरू सफल गर्दै त्यसलाई जुन किसिमले व्यवस्थापन गर्नुपर्ने थियो, सरकार सञ्चालन गर्ने सवालमा धेरै ठूला कमजोरीहरू भए । सुशासन स्थापित गर्न सकेन, ठूला–ठूला भ्रष्टाचारहरू भए । जसरी व्यवस्था परिवर्तन पछि उसले त्यसको औचित्य साबित गर्न जसरी शिक्षाको पाठ्यक्रमदेखि लिएर जसरी एजुकेट गर्नुपथ्र्यो, त्यतातिर ध्यान नै दिएनन् । उहाँहरू यो डे–टु–डेको अफेयरमा बढी इन्जोय गर्न वा बढी केन्द्रित हुन थाल्नुभयो । नेपालको दुर्भाग्य त्यही भयो । तर उहाँहरूले ३५ वर्षमा केही भएन जुन भाष्य खडा गरिरहनु भएको छ, त्यो चाहिँ सरासर गलत हो । त्यो बेइमानी हो । उहाँहरू आफैँप्रति, आफ्नो अस्तित्वमाथि प्रश्न उठाइरहनुभएको छ । त्यो ३५ वर्षकै कारणले गर्दा उहाँहरू त्यसका प्रोडक्ट हुनुहुन्छ । त्यही ३५ वर्षकै संघर्ष र लगानीको कारण आज उहाँहरुले केही प्राप्त गर्नुभएको छ ।

उहाँहरुले सुशासनको कुरा उठाउनु भएको छ तर सरकारको प्रधानमन्त्री, मन्त्रीहरुको सम्पत्ति विवरण बाहिर आयो त्यसले उहाँहरुमाथि नै प्रश्न उठाएको छ ।

उहाँहरूले ३५ वर्षमा रोजगारी सिर्जना भएन, युवाहरूले देशमा बस्ने स्थिति भएन, खान–लाउन नै दुःख भयो भन्नुभयो । तर भर्खर–भर्खरका ३४–३५ का युवाहरूको पनि करोडौँको सम्पत्ति, तोलाका तोला सुनहरू देखिसकेपछि एकपटक नेपाली समाज झस्कियो । अर्को कुरा, उहाँहरूले सुशासनको कुरा गरेर जानुभयो तर संसद्मा के नियमावलीमा व्यवस्था राख्नुभयो कि यदि भ्रष्टाचारको केस लागे पनि त्यो सांसद चाहिँ निलम्बन नहुने भनेर एक प्रकारले त्यसलाई संरक्षण गरेको जस्तो अवस्था त्यहाँ देखियो ।

अर्कोतिर एकजना मन्त्रीमाथि सम्पत्तिकै सन्दर्भमा विवाद उठ्यो, उहाँले राजीनामा गर्नुभयो, समिति गठन भयो, समितिले प्रतिवेदन बुझायो, प्रतिवेदनमा के छ लेखिएको पढ्दै नपढीकन उहाँलाई तुरुन्तै फेरि गृह मन्त्रीमा फर्काइयो । अर्को एक जना मन्त्री जो मधेशका हुनुहुन्छ, उहाँलाई स्पष्टिकरण दिने मौका पनि दिएन अनावश्यक आरोप लगाएर मन्त्री पदबाट हटायो । यो सबै चिजले हेर्दा खेरि यो सुशासनको कुरा अरूलाई मात्रै गर्ने विषय बनाउन खोजिरहनुभएको हो कि जस्तो लागि रहेको छ । अर्थ मन्त्रीजीमाथि जुन प्रश्न उठेको छ त्यो गम्भीर कुरा हो । वास्तवमा त्यो ’क्राइम’ नै हो, त्रुटि होइन ।

संसद्मा यो भन्दा पहिले मन्त्रीहरूमाथि चार्ज लाग्दा उहाँले पदबाट राजीनामा गरेर अनुसन्धान गराएर फर्किनुभएको छ । विगतका अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठ्दा उहाँले राजिनामा दिनुभयो । पछि छानविनमा केही ननिस्केपछि उहाँ फेरि आउनुभयो उहाँले संसदमा पनि गल्ती स्विकार गर्नुभयो । तर अहिलेका अर्थमन्त्रीले गल्ती स्विकार्नुको सट्टा उल्टै भन्नुभयो, ’खबरदार तिमीहरूको पनि फाइल कहाँ–कहाँ छन् त्यो सब थाहा छ ।’ यसको मतलब उहाँ कहीँ न कहीँ नेगोसिएसन गर्दै हुनुहुन्छ । ‘तिमी मेरो बारेमा कुरा गरेछौ भने तेरो फाइल खोल्दिन्छु’ यो के भने आफैँमा अराजनीतिक र अनैतिक पनि हो । उहाँलाई यदि थाहा छ कोही बदमासी गरेछ भने त्यो फाइल किन लुकाएको ? किन नखोलेको ? यसको मतलब उहाँ भित्रभित्रै बार्गेनिङ गरिरहनु भएको छ ।

अन्त्यमा, अब देशको आगामी दिन कस्तो देख्नुहुन्छ ?
–यो सुखद छैन । एउटा त हामी जियो–पोलिटिक्सको चपेटामा परिसक्यौँ जस्तो लाग्छ । यो सरकार भन्दा पनि मुलुककै अस्तित्व नै खतरामा छ भन्ने प्रश्न उठ्दा पनि नेपालीहरू सामान्य ढङ्गले चर्चा गर्न थाल्यो । वैश्विक राजनीतिमा जुन प्रकारको चरम ध्रुवीकरण छ, यदि त्यसलाई सही ढङ्गले व्यवस्थापन गर्न सकेनौँ भने त्यो हाम्रो लागि ‘गलपासो’ बनेर आउँछ । आन्तरिक रूपमा अब जनताको बिचमा चरम ध्रुवीकरणको म अवस्था देख्छु । यो निराशाको जगमा जसरी सत्ता निर्माण भयो, यो निराशालाई सही ढङ्गले सम्बोधन हुने स्थिति भएन भने त्यसले अर्को विकराल रूप लिन्छ । हिजो जे चस्माले तपाईंलाई ‘नायक’ बनायो, त्यही चस्माले फेरि ‘भिलेन’ बनाउने बेला आउँछ । त्यसैले उहाँले हिजोको गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुस् भन्ने हाम्रो शुभकामना छ ।

तपाईको प्रतिक्रिया