–शिव यादव
–नेता एवं सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी
विगत केही वर्षयता नेपालको राजनीतिले एउटा नयाँ र अभूतपूर्व मोड लिएको छ । विशेषगरी भदौं २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ले परम्परागत राजनीतिक दल र तिनका नेतृत्वलाई ठुलो धक्का दियो । देशमा व्याप्त भ्रष्टाचार, कुशासन, नीतिगत विचलन र दण्डहीनताका विरुद्ध युवा पुस्ताले सडकदेखि सदनसम्म आफ्नो बलियो उपस्थिति जनाएको छ । यसै ऐतिहासिक आन्दोलनको अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक प्रखर युवा अनुहार हुनुहुन्छ शिव यादव । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट चुनाव जित्नु भएका उहाँले नेपाली कांग्रेसका प्रभावशाली तथा पुराना नेता रामचन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै गर्नुभएको छ । यो विजय केवल एक व्यक्तिको जित मात्र नभएर दशकौंदेखि जरा गाडेर बसेको परम्परागत राजनीतिको विकल्प खोजिरहेका आम नागरिकको जितको रूपमा हेरिएको छ । जेनजी आन्दोलन र नेपाल सरकारबीच भएको ऐतिहासिक १०–बुँदे सम्झौताका प्रमुख सूत्रधारमध्येका एक रहेका सांसद यादवसँग उहाँको आगामी ५ वर्षे कार्यकालको कार्ययोजना, नीति निर्माणमा उहाँको दृष्टिकोण, र आम नागरिकका अपेक्षाहरूमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादीत अंशः
राजनीतिमा यो ऐतिहासिक सफलता र सांसद बन्न पाउँदा अहिले कस्तो महसुस गरिराख्नु भएको छ ?
–सर्वप्रथम त आम नागरिकले ममाथि जुन विश्वास गर्नुभएको छ, त्यसका लागि म निकै आभारी छु । स्वाभाविक रूपमा एउटा ठूलो राजनीतिकर्मीलाई पराजित गरेर संसद्को यात्रा तय गर्दा व्यक्तिगत रूपमा खुसी लागिरहेको छ । तर, म प्रष्ट पार्न चाहन्छु कि यो खुसी अत्यन्तै क्षणिक र प्रारम्भिक मात्र हो । वास्तविक खुसी त हामीले सांसद बनिसकेपछि, यो भन्दा पहिलाका सांसदहरू भन्दा हामीले राम्रो र प्रभावकारी काम गरेर देखाउन सक्यौँ भने मात्र त्यहाँ महसूस हुन्छ । विगतमा चुनाव जित्दा अबिर जात्रा गर्ने र संसद् छिरेपछि जनतालाई भुल्ने प्रवृत्ति हावी भयो । हामी त्यो परम्परा तोड्न आएका हौं । अहिले हामी कामको थालनी गरिरहेका छौं, र हाम्रो कामको समग्र मूल्यांकन गर्ने जिम्मा नेपाली नागरिक र विशेषगरी मेरो निर्वाचन क्षेत्र सिरहा–२ का जनताको हातमा छ । जब ५ वर्षपछि म जनताको माझमा फर्किन्छु र उहाँहरूले ’हो, शिव यादवले हाम्रो आवाज बोल्यो र काम ग¥यो’ भन्नुहुनेछ भने मेरो जीवनको सबैभन्दा ठूलो र वास्तविक खुसी त्यही दिन हुनेछ ।
तपाईँले सिरहा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका दिग्गज नेता रामचन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्नुभयो । यो नतिजालाई तपाईँले कसरी विश्लेषण गर्नुभएको छ?
–यो मेरो व्यक्तिगत चामत्कारिक क्षमताले आएको नतिजा होइन । यो त नेपाली जनताको निराशा र नयाँ आशाको प्रतिविम्ब हो । सिरहा मात्र होइन, समग्र देशका जनता परम्परागत राजनीतिक दलहरूको सिन्डिकेट, भ्रष्टाचार र अक्षमताबाट वाक्कदिक्क भइसकेका थिए । रामचन्द्र यादवजी एउटा लामो राजनीतिक इतिहास बोकेको नेता हुनुहुन्छ, म उहाँको सम्मान गर्छु । तर समयको माग परिवर्तन थियो । जनताले पुस्तान्तरण खोजेका थिए । नयाँ सोच, नयाँ विचार र प्रविधिको युग बुझेको नेतृत्व जनताको चाहना थियो । मेरो विजय त्यही ‘पुस्तान्तरण र रूपान्तरण’ को पक्षमा खसेको अभिमत हो । जनताले अब आश्वासन होइन, एक्सन खोजेका छन् भन्ने स्पष्ट सन्देश यो चुनावले दिएको छ ।
तपाईँको विचारमा एउटा सांसद बन्नुको प्रमुख उद्देश्य के हो जस्तो लाग्छ ? सिद्धान्त र व्यवहारमा कस्तो भिन्नता पाउनुभएको छ ?
–संवैधानिक र सैद्धान्तिक रूपमा हेर्ने हो भने सांसद बन्नुको प्रमुख उद्देश्य देशमा नीति निर्माणलाई बलियो र उत्कृष्ट बनाउनु नै हो । संसद् भनेको कानुन बनाउने थलो हो । विगतका नीतिगत कमजोरी र ऐन–कानुनका छिद्रहरू जसको फाइदा उठाएर भ्रष्टाचारीहरूले उन्मुक्ति पाइरहेका छन्, तिनलाई हटाएर नयाँ प्रगतिको बाटो खोल्न सांसदको भूमिका हुन्छ । तर, नेपालमा यथार्थ र व्यवहारिक पाटो अलि फरक छ । यहाँको वास्तविकता के छ भने जनताले सांसदबाट नीति निर्माण सँगसँगै व्यवहारिक रूपमा सरकार निर्माण, आफ्नो गाउँ–ठाउँको विकास निर्माण, बाटोघाटो, पुलपुलेसा, अस्पतालको स्तरवृद्धिदेखि हरेक साना–ठूला कामको अपेक्षा गरिरहेका हुन्छन् ।
यो अस्वभाविक पनि होइन, किनकि स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसक्दा जनताको अन्तिम आशा संघीय सांसदमाथि नै हुन्छ । त्यसैले हामी दुवै पक्षमा केन्द्रित छौं । हामी संसद्मा राष्ट्रिय महत्वका कानुन निर्माणमा पनि उत्तिकै खरो उत्रिनेछौं र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको अनुगमन र पहलकदमीमा पनि उत्तिकै सक्रिय रहनेछौं ।
कानुन निर्माणको कुरा गर्नुभयो । विशेषगरी कुन–कुन क्षेत्रका ऐन–कानुनहरूमा सुधार गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?
मुख्यतया हामीले सुशासनसँग सम्बन्धित कानुनहरूमा व्यापक संशोधन गर्नुपर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझै अधिकारसम्पन्न र स्वतन्त्र बनाउने विधेयक, सार्वजनिक खरिद ऐनका ती दफाहरू जसले ठेकेदारहरूलाई वर्षौंसम्म काम अलपत्र पार्न छुट दिन्छन्, त्यसमा कडा संशोधन आवश्यक छ । त्यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारीकरण रोक्ने र युवा स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीतिहरू हाम्रो प्राथमिकतामा छन् । कानुनका छिद्रहरू टालेर मात्र हामीले ‘सिस्टम’ बसाल्न सक्छौं ।
अलिकति विगततर्फ फर्कौं । देशको राजनीतिमा तरंग ल्याएको २०८२ सालको ‘जेनजी आन्दोलन’ र सरकारसँग भएको १०–बुँदे सम्झौता खासमा के हो ?
–हामी जेनजी आन्दोलन २०८२ बाट उदाएका हौं । देशमा जब राजनीतिक दलहरूको अकर्मण्यता चरम सीमामा पुग्यो, भ्रष्टाचार सामान्यीकरण हुन थाल्यो र कुशासन जताततै मौलायो, तब यो पुस्ता चुप लागेर बस्न सकेन । हामीले क्याम्पसका प्राङ्गण, चिया पसल र सामाजिक सञ्जालबाट सुशासनको बिगुल फुक्यौँ, जुन पछि सडक आन्दोलनमा परिणत भयो । यो आन्दोलन कुनै राजनीतिक स्वार्थले प्रेरित थिएन, यो शुद्ध रूपमा देश बचाउने र बनाउने युवाहरूको स्वस्फूर्त जागरण थियो । त्यस आन्दोलनले सरकारलाई घुँडा टेक्न बाध्य बनायो र अन्ततः जेनजी आन्दोलन र नेपाल सरकारबीच ऐतिहासिक १० बुँदे सम्झौता भयो । यो सम्झौता यति महत्वपूर्ण छ कि यसलाई सरकारले राजपत्रमा समेत प्रकाशित गरेको छ । राज्यले यसलाई ‘सुशासनको योद्धाहरूको आन्दोलन’ को रूपमा औपचारिक स्वीकार गरेको छ ।
त्यो १०–बुँदे सम्झौताका मुख्य आकर्षणहरू के–के हुन् ? जसले युवालाई यति धेरै आशावादी बनाएको छ ।
–यस सम्झौताले मूलतः भ्रष्टाचार नियन्त्रण र युवा मुद्दालाई उच्च प्राथमिकता दिएको छ । यसमा उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने शक्तिशाली आयोग गठन गर्ने, भ्रष्टाचारीलाई कुनै पनि राजनीतिक संरक्षण नदिने, शिक्षा प्रणालीमा आमूल परिवर्तन गरी प्राविधिक र सीपमूलक शिक्षालाई अनिवार्य गर्ने, र युवा उद्यमशीलतालाई विना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने जस्ता बुँदाहरू समावेश छन् । यो १०–बुँदे सम्झौता हाम्रो म्याग्नाकार्टा हो । यसको अक्षरशः कार्यान्वयन गराउनु नै मेरो र मेरो दल रास्वपाको प्रमुख दायित्व हो ।
तपाईँ संसद्मा हुनुहुन्छ । तपाईँको आगामी ५ वर्षको बाँकी कार्यकालको रोडम्याप के हो ? संसद्मा तपाईँको भूमिका कस्तो रहनेछ ?
हाम्रो आगामी ५ वर्षको निकै स्पष्ट र ठोस रोडम्याप छ । हामी संसद्मा केवल कुर्सीमा बस्न र भत्ता खान गएका होइनौं । पहिलो कुरा, हामी संसद्मा पुराना ऐन र विधेयकहरूका कमजोरी सुधार गर्नेछौं । दोस्रो, सदनमा प्रदेश र स्थानीय नागरिकका आवाजहरूलाई जोडदार रूपमा राख्नेछौं । मधेसका किसानले मल नपाएको कुरा होस् वा हिमालका नागरिकले स्वास्थ्य सेवा नपाएको कुरा होस्, ती मुद्दा संसद्मा उठाउने छु । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि सरकारले काम गर्दा युवा विरोधी गतिविधि ग¥यो, जनभावना विपरित निर्णय ग¥यो भने हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी सरकारलाई सचेत गराउनेछौं । सुशासन, विकास निर्माण र नयाँ सोचको प्रवद्र्धन हाम्रो मूल कडी हुनेछ । हामी नीतिगत स्पष्टता, पारदर्शी कार्यशैली र नतिजामुखी विकासको रोडम्यापमा अगाडि बढ्नेछौं ।
मधेस प्रदेश, विशेषगरी तपाईँको निर्वाचन क्षेत्र सिरहा–२ मा बेरोजगारी र अशिक्षाको ठूलो समस्या छ । यसलाई सम्बोधन गर्न तपाईँका योजनाहरू के छन् ?
–सिरहा क्षेत्र नम्बर २ लगायत समग्र मधेस प्रदेशमा अथाह सम्भावना हुँदाहुँदै पनि पछाडि पारिएको छ । कृषि हाम्रो मुख्य आधार हो, तर किसानले समयमा बीउ र मल पाउँदैनन् । सिँचाइको उचित व्यवस्था छैन । मेरो पहिलो प्राथमिकता मधेसको कृषि प्रणालीलाई आधुनिकीकरण गर्न नीतिगत पहल गर्ने हुनेछ । युवाहरू रोजगारी नपाएर खाडी मुलुक जान बाध्य छन् । हामीले स्थानीय स्तरमै साना तथा मझौला उद्योगको स्थापना र प्राविधिक शिक्षालयहरूको विस्तारमा जोड दिनेछौं । गरिब र दलित बस्तीहरूमा शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउनु मेरो व्यक्तिगत र राजनीतिक दायित्व हो । मधेसलाई अब सधैं भोट बैंकको रूपमा मात्र प्रयोग गर्न दिइने छैन ।
तपाईँलाई मतदान गर्ने र नगर्ने सबै नागरिकले अब तपाईँलाई आफ्नै प्रतिनिधिको रूपमा हेरिरहेका छन् । उनीहरूका अपेक्षाहरूको भारी बोक्दा कत्तिको दबाब महसुस हुन्छ ?
पक्कै पनि, यो एउटा ठूलो जिम्मेवारी हो र जिम्मेवारीसँगै दबाब आउनु स्वाभाविक हो । तर यो सकारात्मक दबाब हो । मलाई मतदान गर्नेहरूले मेरो भिजनमा विश्वास गर्नुभएको छ भने, मतदान नगर्नेहरूलाई पनि मेरो कामबाट विश्वास दिलाउनु मेरो दायित्व हो । म चुनाव लड्दासम्म रास्वपाको उम्मेदवार थिएँ, तर अब चुनाव जितिसकेपछि म सिरहा–२ का सम्पूर्ण जनसमुदायको साझा प्रतिनिधि हुँ । म उहाँहरू सबैको अभिभावकत्व ग्रहण गर्दै कसैलाई पनि पक्षपात नगरी समान ढंगले काम गर्नेछु । यो दबाबले मलाई राति सुत्न दिँदैन र दिनभरि काम गर्न ऊर्जा दिन्छ ।
राजनीतिमा युवाहरूको आकर्षण बढ्दै गर्दा केही चुनौतीहरू पनि देखा परेका छन् । कतिपयले युवाहरूमा धैर्यता हुँदैन र उनीहरू छिटो निराश हुन्छन् भन्छन् नि ?
–यो भाष्य पुराना दलहरूले आफ्नो सत्ता जोगाउन बनाएका हुन् । युवाहरूसँग धैर्यता नभएको होइन, उनीहरूले ५० औं वर्षसम्म पुराना दलहरूलाई धैर्य गरेर भोट हालेकै हुन् नि ! जब ५० वर्षसम्म पनि देशको अवस्था बदलिएन, तब युवाहरूको धैर्यको बाँध फुटेको हो । यसलाई ‘निराशा’ होइन, ‘विद्रोह’ र ‘जागरण’ भन्नुपर्छ । युवाहरू प्रष्ट छन्, उनीहरू नतिजा खोज्छन् । हामीलाई थाहा छ कि रातारात जादुको छडी घुमाएझैं देश बन्दैन, तर सही बाटोमा हिँड्न सुरु त गर्नुपर्यो नि ! हामीसँग ऊर्जा छ, विश्वव्यापी प्रविधिको ज्ञान छ र देशप्रतिको निस्वार्थ प्रेम छ । यही कुराले हामीलाई परम्परागत नेतृत्वभन्दा अलग र सक्षम बनाउँछ ।
अन्तमा, यस अन्तर्वार्तामार्फत आफ्नो निर्वाचन क्षेत्र सिरहा–२ र अन्य सम्पूर्ण नेपाली जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?
–म सबभन्दा पहिला मेरो आफ्नो निर्वाचन क्षेत्र सिरहा–२ का सम्पूर्ण आदरणीय मतदाता, मधेश प्रदेशका जनता र समग्र नेपालका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँहरूले परम्परागत राजनीतिको साङ्लो चुँडालेर पुस्तान्तरण र नयाँ सोचको पक्षमा आफ्नो अमूल्य मत दिनुभयो । यो तपाईँहरूको साहसिक निर्णय हो । म आज यस लोकप्रिय सञ्चारमाध्यममार्फत जोड दिएर भन्न चाहन्छु, तपाइँहरूको जुन पवित्र चाहना छ । देशमा सुशासन होस्, भ्रष्टाचार नियन्त्रण होस्, युवाहरूले स्वदेशमै भविष्य देखुन् र विकास अघि बढोस्, ती सपनाहरू पूरा गर्न म र मेरो टिम आफ्नो ज्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँहरूले मलाई जुन आशा र भरोसाका साथ संसद्म पठाउनुभएको छ, म त्यसलाई कहिल्यै निराश बनाउने छैन । म एक सांसदको रूपमा होइन, एक सच्चा सेवकको रूपमा तपाईँहरूको सुख–दुःखमा सधैं साथ रहनेछु । देश बन्छ, हामी नै बनाउने हो र यसको सुरुवात भइसक्यो ।

तपाईको प्रतिक्रिया